तस्करी बढ्यो, चामल आयात घट्यो


बाँके २६ पुष । भारत सरकारको कर र अवैधरुपमा चामल भित्रिन थालेपछि बैधानिकरुपमा नेपालगन्ज नाका हुँदै चामलको आयात धेरै घटेको छ । आर्थिक वर्ष २०८०/८१ को साउनदेखि मंसिरसम्मको तथ्यांकलाई मात्रै केलाउने हो भने बिगत भन्दा चामल आयात भएको देखिन्छ ।

नेपालगन्ज भंसार कार्यालयका अनुसार, चालु आर्थिक वर्षको मंसिरसम्म यो नाका हुँदै रु एक अर्व ८२ करोड ५२ लाख २९ हजार मूल्यको ३२ हजार ३८ मेट्रिक टन चामल आयात भएको छ । जबकी यही अवधिमा आर्थिक वर्ष २०७९÷८० मा रु २ अर्व ३ करोड ९९ लाख ४० हजार मूल्यको ३३ हजार ४ सय ३४ मेट्रिक टन चामल आयात भएको छ । बिगतको तुलनामा चालु आवमा १३ सय ९६ मेट्रिक टन चामल कम आयात भएको छ ।

नेपाल–भारत खुला सिमानाको कारण पछिल्लो समय चामलको तस्करीले गर्दा स्वदेशी राइस मिल उद्योगहरू नराम्ररी प्रभावित भएका छन् । तस्करीबाटै भारतीय चामल नेपालगन्जका घर र व्यवसायिक प्रतिष्ठानसम्म पुग्ने गरेको पाइएको छ । प्रहरीले नै पटक–पटक छापामारेर चामल त्यस्ता मिलबाट अवैध चामल बरामद गरिसकेकाले पनि यहाँ बैधानिक बाटोसंगसंगै अवैध बाटोबाट ठूलो परिमाणमा चामल आयात हुन्छ । जसको सिधा असर यहाँका चामल मिल र भंसार राजश्वमा परेको छ ।

पछिल्लो समय साइकल, ठेला र मोटरसाइकलमा भारतबाट अवैध किसिमले २५ किलोको स्टार,सनमुन, पालकी जस्ता चामल आयात भइरहेको छ । चामल उद्योग र पसलले अवैध रुपमा चामल ल्याएर बोरा परिवर्तन गरी आफ्नो उद्योगको नामको बोरामा भरेर बिक्री गर्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायाण डाँगीले मंसिर महिनामा त्यस्ता मिलमा छापामारेर कारवाही गरिएको जानकारी दिए ।

चामलको आयात घट्नुमा भारतले नेपाल निर्यातमा लगाएको कर पनि कारण भएको व्यवसायीहरु बताउँछन् । भारत सरकारले निर्यातमा कर लगाएपछि नेपालमा धान, चामल र कनिकाको आयात घटेको हो । कर बृद्धि त छदैछ तस्करी मुख्य समस्या रहेको पाइएको छ । भंसार राजश्व चुहावट नियन्त्रणमा जुटेका निकायकै मिलोमतो र आँखा समेत छलेर नेपालगन्जका बिभिन्न नाकाबाट चामल तस्करी हुँदै आएको छ । त्यसरी नेपालगन्जमा ल्याइएको चामल कर्णाली लगायतका जिल्लामा पठाइने गरिएको छ ।

 

प्रकाशित मितिः     २६ पुष २०८०, बिहीबार १२:०८  |