भेरीमा एमआरआई मेसिन सञ्चालन


नेपालगन्ज २५ माघ । नेपालगन्जस्थित भेरी अस्पतालमा एमआरआई (म्याग्नेटिक रेजोनेन्स इमेजिङ) मेसिन सञ्चालनमा आएको छ।

बिहीबार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले एक कार्यक्रमबिच एमआरआई मेसिन सञ्चालन सेवाको उद्घाटन गरे ।

नेपालगन्ज उपमहानगर प्रमुख प्रशान्त विष्टले लामो प्रतीक्षापछि भेरी अस्पतालमा एमआरआई सेवा सञ्चालनमा आएपछि बिरामीले राहत पाउने बताए । उनले एमआरआई सेवा सञ्चालनसँगै यसलाई कसरी दिगोपना दिन सकिन्छ सोको बारेमा सोच्नुपर्ने बताए । नगरप्रमुख विष्टले सेवा सञ्चालनका लागि हालको विकास समिति तथा अस्पताल प्रशासन र पूर्व विकास समिति र अस्पताल प्रशासनलाई धन्यवाद समेत प्रदान गरे। उनले एमआरआई सेवा सञ्चालनलाई आवश्यक पर्ने भौतिक तथा आर्थिक सहयोग समेत उपमहानगरले प्रदान गर्ने प्रतिबद्धता जनाए।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.पवनजङ्ग रायमाझीले लुम्बिनी प्रदेशकै सरकारी अस्पतालमध्ये भेरी अस्पतालमा पहिलो पटक विशिष्ट क्षमताको म्याग्नेटम भिटा सिष्टमको थ्री टी एमआरआई मेसिन सेवा सञ्चालनमा आएको बताए । उनले यो मेसिनले बिरामीका विभिन्न रोगहरू पहिचान गरी रोग निदानको माध्यम हुने बताए । एमआरआई सेवा लिने बिरामीलाई अस्पतालले न्यूनतम शुल्क तोक्नै पर्ने बाध्यता भएको भन्दै उनले सबै नागरिकलाई सरकारले लागू गरेको स्वास्थ्य बिमा गर्न पनि सल्लाह दिए। बिमा कार्यक्रममा आवद्धत भएपछि हरेक नागरिकले यो सेवा पनि निःशुल्क पाउने उनको धारणा थियो ।

सामान्य आधादेखि एक घण्टाको समय लाग्ने भन्दै उनले मानिसलाई यसको प्रयोगबाट साइड इफेक्ट तथा कुनै किसिमको नकारात्मक प्रभाव हुने सम्भावना एकदमै कम हुने उनको भनाइ थियो ।

अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम क्षेत्रका जनताको रिफरल सेन्टरका रूपमा रहेको भेरी अस्पतालमा एमआरआई सेवा सञ्चालनसँगै नागरिकले चर्को शुल्क तिरेर निजी अस्पतालमा धाउनुपर्ने बाध्यता हटेको बताए । उनले एमआरआई गर्नुपर्ने बिरामीले अब भेरीबाटै न्यूनतम शुल्कमा सेवा लिन सक्ने बताए ।

सरकारले लागू गरेको स्वास्थ्य बिमामा सम्पूर्ण नागरिकहरू आबद्ध भए यो सेवा पनि निःशुल्क हुने बताउँदै उनले जिल्लाका सबै स्थानीय तहका प्रमुखहरूसँग यस विषयमा छलफल गर्ने योजना बनाएको पनि जानकारी दिए। एमआरआई सेवासँगै अस्पतालमा अन्य विशिष्टकृत सेवाहरू पनि निरन्तर सञ्चालन गरिने बताए ।

यस्तै, अस्पतालमा बिहीबार एमआरआई मेसिन उद्घाटन गरिएसँगै सेवा पनि सुरु भएको छ । अस्पतालले उद्घाटनकै दिनमा पहिलो एमआरआई सेवा लिने सेवाग्राहीलाई निःशुल्क सेवा प्रदान गरेको छ ।

 

प्रकाशित मितिः     २५ माघ २०८०, बिहीबार १७:४६  |