नेपालगन्ज । ३० वर्ष अघि जापानको जाइका नामक संस्थाले उपहार स्वरुप कृषि अनुसन्धान केन्द्र खजुरा बाँकेलाई छाडेर गएको अंगुर अनुसन्धान केन्द्र अहिले अलपत्र जस्तो छ । कुनैबेला यहाँ लटरम्म फल्ने अंगुर खान र हेर्न टाडाटाडाबाट आउनेको केन्द्रमा घुँइचो लाग्ने गरेको थियो ।
तर अहिले अवस्था फेरिएको छ । न यहाँ पहिले जस्तो लटरम्म अंगुर फल्छन् नत हेर्नै कोही आउँछन् । देशमै अंगुर उत्पादनलाई प्रर्बद्धन गर्न सक्ने सार्माथ्य रहेको अंगुर अनुसन्धान केन्द्र उराठ लाग्दो अवस्थाबाट गुज्रिएको छ ।बर्षेनी करोडौ मुल्यको वाइन र अंगुर बिदेशमा निर्यात भइरहेका बेला स्वदेशमै अंगुर उत्पादनलाई प्रर्बद्धन गर्नुपर्ने निकाय आफै मासिदो अवस्थामा पुगेको छ ।
स्वदेशमै अंगुर खेती गरेर यसको आयात निरुत्साहित गर्नुपर्छ भन्ने सोंच केन्द्रीय सरकारमा बसेका कुनै नीति निर्मातामा नभएको परिणाम देशकै ठूलो मध्यको अंगुर अनुसन्धान केन्दको यो हालत सिर्जना भएको हो ।
कृषि अनुसन्धान निर्देशनालय खजुराका निर्देशक डाक्टर समीद अहमदले स्वंय अंगुर अनुसन्धान केन्द्रको अवस्था देखेर खिन्न छन् । उनले यसको अवस्थाका बारेमा केन्द्रीय नीति निर्मातालाई पटक पटक ध्यानार्कषण गराइसकेका छन् । डाक्टर अहमद भन्छन्,–‘कि यसलाई मज्जाले चलाउँ होइन भने बन्द गरिदिउँ । तर यसरी दयनिय अवस्थामा नछाडौं भनेर मैले पटक पटक भनेको छु।’
केन्द्रले कुनै स्पष्ट योजना र बजेट नदिएका कारण अंगुर अनुसन्धान केन्द्रले पुर्नजिवन पाउन सकेको छैन् । यहाँ रहेका कर्मचारीले सामान्य रेखदेख गरेर दिन बिताइरहेका छन् । हेरचाहको अभाव र धेरै पुराना भएका कारण अंगुरका बोटका डाँठ मात्रै देखिन्छन् भने बोटहरु घाँसले ढपक्कै ढाकेका छन् । ‘वाइन बनाउनका लागि यहाँ अंगुरखेतीको प्रशस्त सम्भावना हो । अहिले बिदेशबाट करोडौंको वाइन भित्रिन्छ । त्यसलाई निरुत्साहित गर्न यही वाइन उत्पादन गर्ने गरी अंगुर खेतीलाई प्रर्बद्धन गर्न सकिन्छ । फराकिलो सोंच,स्पष्ट इच्छाशक्ति र भिजन बनाउने हो भने यो अंगुर अनुुन्धान केन्द्रले पुर्नजिवन पाउँछ । त्यता तर्फ ध्यान दिनुपर्छ ।’–
०४२ सालमा जइकाले क्याहो र पर्लेट प्रजातिको व्यावसायिक खेती सुरु गरेको थियो । ०४९ मा अनुसन्धान केन्द्रलाई हस्तानान्तरण गरेको थियो । तर बजेट अभावमा अंगुर खेती प्रवर्द्धन गर्न नसक्दा बिरुवा मरेर खेती हराउँदै गएको छ ।