नेपालगन्ज । कोहलपुर नगरपालिका वडा नं. १ मा रहेका ९१ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई पहिलोपटक जग्गाधनी प्रमाण–पूर्जा (लालपूर्जा) वितरण गरिएको छ।
नेपाल सरकारका भूमि, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलाराम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रममार्फत ऐतिहासिक कार्यको शुभारम्भ गरिएको हो।
वर्षौंदेखि जोतभोग गर्दै आएका तर कानुनी रूपमा जग्गाको मालिक बन्न नपाएका नागरिकहरुले आज लालपूर्जा प्राप्त गरेपछि कोहलपुरमा आशा र उत्साहको नयाँ अध्याय सुरु भएको छ।
कार्यक्रममा मन्त्री अधिकारीले कोहलपुर नगरपालिका लुम्बिनी प्रदेशमै पहिलो तथा देशभरका ७५३ पालिकामध्ये चौथो पालिका भएर भूमिहीनलाई लालपूर्जा वितरण गर्न सफल भएकोमा बधाई व्यक्त गर्दै यो कदम अन्य पालिकाका लागि पनि प्रेरणादायी हुने विश्वास व्यक्त गरे।

यस ऐतिहासिक कार्यमा सहयोग गर्ने सम्पूर्ण पक्षप्रति कोहलपुर नगरपालिकाले आभार व्यक्त गरेको छ। नेपाल सरकार, राजनीतिक दल, भूमि आयोग, स्थानीय जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी, सर्वसाधारण लगायत सबैको समन्वयले यो उपलब्धि सम्भव भएको बताएका छ्न ।
विशेष रूपमा भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनाल, वडा अध्यक्ष हरु नगर प्रमुखको सचिवालय टोलीलाई नगरपालिकाले विशेष धन्यवाद ज्ञापन गरेको छ।
बाकी अन्यलाई पनि अब क्रमश लालपुर्जा वितरण गरिने छ ।