नेपालगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाँकेकाे विकासमा महत्त्वपूर्ण याेगदान दिन सक्ने मुख्य तीन परियाेजनाका सम्बन्धमा ध्यानाकर्षण गराईएको छ ।
एमाले महासचिव शंकर पाेखरेल मार्फत प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको एमाले केन्द्रीय सदस्य एवं बाँके निर्वाचन क्षेत्र नं. दुईका ईन्चार्ज पशुपति दयाल मिश्रले बताउनुभयो ।
उहाँका अनुुसार,भेरी अस्पताल,राँझा विमानस्थल,एकीकृत भंसार जाँचचाैकीका बिषय उठान गरिएको छ।
यस्ताे छ माग
सम्माननिय प्रधानमन्त्री ज्यू,
नेपालगन्ज, भौगोलिक तथा आर्थिक दृष्टिले, नेपालको पश्चिम क्षेत्र, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारको रूपमा स्थापित हुँदै गएको छ । भारतको सीमावर्ती शहरहरूसँग निकटताले गर्दा यो क्षेत्र उद्योग, व्यापार, पर्यटन, कृषि, स्वास्थ्य तथा सेवा क्षेत्रमा अपार सम्भावना बोकेको क्षेत्र हो यिनै सम्भावनाहरूलाई साकार पार्न भेरी अस्पताललाई गुरु योजना अनुसार विस्तार गर्नुका साथै नेपालगन्ज एकीकृत भन्सार जाँच चौकीलाई सुक्खा बन्दरगाहको रूपमा विस्तार गरि पूर्ण रूपमा सञ्चालनमा ल्याउने र नेपालगन्ज विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति गर्ने कार्यहरू निर्णायक बन्न सक्नेछन् ।
१३३ औं वर्षमा प्रवेश गरेको भेरी अस्पतालमा हालै शुरू गरिएको स्नातकोत्तर तहको शिक्षा तथा मृगौला प्रत्यारोपण सेवा शुभारम्भले अस्पताल मात्र नभई समग्र पश्चिम नेपालको स्वास्थ्य सेवामा सरकारको गम्भीर चासोरहकाे स्पष्ट संकेत गरेकोछ । यसप्रति हामी अत्यन्त आशावादी छौं । यसैसन्दर्भमा, अस्पतालमा रहकाे विभिन्न आइसियुलाई पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि थप जनशक्तिको आवश्यकतालाई ध्यानमा राखी ५० जना स्टाफ नर्स र १० जना मेडिकल अधिकृतको व्यवस्थाका लागि सम्बन्धित मन्त्रालयबाट आवश्यक निर्देशन प्रदान गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं ।

त्यस्तैगरी, हाल १३ वर्ष पुरानो र बिग्रिएको अवस्थामा रहेको १६ बर्ष पुरानाे सिटिस्क्यान मेशिनलाई नयाँ प्रतिस्थापन गर्नका लागि समेत मन्त्रालयलाई आवश्यक निर्देशन दिनहनु अनुरोध गर्दछौं । अस्पतालको गुरुयोजना अनुसार दोस्रो चरणको भवन निर्माण कार्यका लागि आवश्यक बजेटीय व्यवस्था, पहल तथा सम्बन्धित निकायहरूसँग समन्वय गरी अगाडि बढाइदिनुहनु विशेष अनुरोध गर्दछौं ।
सुख्खा बन्दरसानगाहको सन्दर्भमा, एकीकृत भंसार जाँच चाैकी नेपाललाई हस्तान्तरण भइसकेको तथा नेपालगञ्ज रोड रेलवे स्टेशनलाई ब्रोड गेज लाइनमा परिणत गर्ने प्रक्रिया एक ऐतिहासिक अवसर हो । भारतका प्रमुख बन्दरगाहहरू जस्तै मुन्द्रा, काण्डला आदिसँग सीधा रेल सम्पर्क स्थापित हुँदा ढुवानी लागत उल्लेखनीय रुपमा घट्नेछ, र नेपालगन्ज मार्फत पश्चिमी भाग, तथा अन्य क्षेत्रीय बजारहरूसँग हाम्रो व्यापारिक पहुँच फराकिलो बन्नेछ। त्यसैले एकीकृत भंसार जाँचचाैकीसँग जोड्नका लागि आवश्यक ३–५ किलोमिटर रेलवे ट्र्याक बिछ्याउने कार्यमा भारत सरकार र अन्य सरोकारवाला निकायहरूसँग उच्च तहमा समन्वय गर्दै कार्यलाई तीव्रता दिनु अत्यावश्यक छ ।
यसले बाँके नौबस्तास्थित संघीय सरकारको योजनामा निर्माणाधीन औद्योगिक क्षेत्रलाई समेत टेवा पुर्याउनुका साथै सफल बनाउन सहयोग पुग्नेछ ।
विमानस्थल स्तरोन्नतिको सन्दर्भमा, नयाँ टर्मिनल भवनको निर्माण कार्य र धावनमार्ग विस्तार सुरुआत हुनु सकारात्मक संकेत हो । तर, यी कार्यहरू निर्धारित म्यादभित्र गुणस्तरीय रूपमा सम्पन्न हुनु अत्यावश्यक छ।
नेपालगन्ज विमानस्थलबाट दिल्ली, नोयडा (नवनिर्मित नोयडा अन्तर्राष्ट्रिय विमानस्थल), देहरादून, चण्डीगढ
जस्ता प्रमुख भारतीय शहरहरूमा सीधा उडानहरूको सञ्चालनले नेपालगन्ज मात्र नभई सम्पूर्ण पश्चिम नेपालमा पर्यटन, स्वास्थ्य सेवा, उच्चशिक्षा, तथा व्यापारकाे अभूतपूर्व विकास हुनेछ ।
यस अतिरिक्त, नेपालगन्ज क्षेत्र कृषि, उद्योग, र सेवा क्षेत्रमा लगानी प्रवद्र्धन गर्न उपयुक्त क्षेत्र हो। यी पूर्वाधार
परियोजनाहरू सम्पन्न भएपछि निजी क्षेत्रको लगानी आकर्षण बढ्नेछ र रोजगारी सिर्जना हुँदै पश्चिम नेपालको समग्र जीवनस्तरमा सुधार आउनेछ । साथै, मुलुकको निर्भरता काठमाडौं केन्द्रित आर्थिक संरचनाबाट घटाउँदै क्षेत्रीय सन्तुलन कायम राख्न पनि मद्दत पुग्नेछ ।
उपरोक्त सन्दर्भमा हामी सम्माननीयज्यू समक्ष निम्न अनुरोधहरू राख्दछौंः
१. भेरी अस्पतामा आवश्यक जनशक्ती, उपकरर्ण र अन्य आवश्यक पुर्वाधार व्यवस्थापन गर्न विनम्र अनुरोध गर्दछौ ।
२. सुक्खा बन्दरगाहका लागि रेलवे ट्र्याक बिस्तारमा तीव्रताः भारत सरकारसँग उच्चस्तरीय समन्वय मार्फत ३–५ किलाे मिटर अतिरिक्त रेलवेट्र्याक शीघ्र निर्माण गर्न आवश्यक पहल गर्न अनुरोध गर्दछौं।
३. अन्तर्राष्ट्रिय उडानहरूको सुरुवातमा सहजीकरणः नेपाल नागरिक उड्डयन प्राधिकरण र अन्य सम्बन्धित निकायहरूसँग समन्वय गरी छिटो भन्दा छिटो दिल्ली, नोयडा, देहरादून, चण्डीगढ सीधा अन्तर्राष्ट्रिय उडान अनुमति तथा सेवाहरूको सञ्चालन प्रारम्भ गर्न आवश्यक पहल गर्न अनुरोध गर्दछौं ।
४. समन्वय तथा अनुगमन संयन्त्र स्थापनाः यी परियोजनाहरूको प्रगति नियमित अनुगमन तथा आवश्यक समस्या समाधान गर्नकालागि प्रधानमन्त्री कार्यालयकै प्रत्यक्ष निगरानीमा एउटा उच्चस्तरीय संयन्त्र गठन गर्न अनुरोध गर्दछौं ।
५. क्षेत्रीय समावेशी विकासको रणनीतिः सुख्खा बन्दरगाह र विमानस्थल सँग जोडिने आसपासका क्षेत्रहरूमा सडक, बिजुली, सञ्चार, शिक्षा, स्वास्थ्य जस्ता पूर्वाधारको समेत समानान्तर विकास गर्न अनुरोध गर्दछौं।
हामी विश्वस्त छौँ कि सम्माननीयज्यूको नेतृत्व र व्यक्तिगत चासोले यी ऐतिहासिक परियोजनाहरू सफलतापूर्वक सम्पन्न हुनेछन् र पश्चिम नेपाललाई समृद्ध नेपाल, सुखी नेपालीको मुख्य इन्जिन बनाउने दिशामा ठोस अग्रसरता हुनेछ ।