वनका कर्मचारीकाे मिलाेमताेमा खयरकाे तस्करी,कत्था उद्योगी समातिए


 

नेपालगन्ज । थाेरैकाे ईजाजतपत्र बनाएर धेरै खयर ढुवानी गरेकाे भेटिएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जस्थित बागेश्वरी कत्था उद्योगका संचालक विवेक मैनालीलाई पक्राउ गरेकाे छ ।

जिप्रका बाँकेका डिएसपी दिपक पातलीका अनुसार, बुधवार रातको समयमा बर्दियाकाे राजापुरबाट भे १ ख ४३९३ नं. को ट्रकमा जंगलबाट चोरी गरेको अवैध काठ (खयर) नेपालगन्ज भित्रिएकाे थियाे ।

उक्त काठ बागेश्वरी कत्था उद्योग प्रालिमा लैजादै छ भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले निगरानी गर्दै नियन्त्रणमा लिएको डिएसपी पातलीले जानकारी दिनुभयो ।

खयर लाेड गरेकाे ट्रक कत्था उद्योगको प्रवेश द्वार पुगेपश्चात सिल सहितको उक्त ट्रक रोकी सब डिभिजन वन कार्यालय नेपालगंज बाँकेका विज्ञ प्रतिनिधी झिकाई थप अनुसन्धान गरिएको थियाे ।

स्थानीय जन प्रतिनिधी समेतको रोहवरमा चेकजाँच गर्दा डिभिजन वन कार्यालय बर्दियाको पत्र बमोजिम स्थानान्तरण ईजाजत पत्रमा २०० थान खयरको काठको कागजात बनाई ४८२ थान (थप २८२ थान कागजात नभएको) खयरको काठ फेला परेकाे प्रहरीले जानकारी दिएको छ ।

काठ ढुवानीमा संलग्न ट्रक, चालक र बागेश्वरी कत्था उद्योग प्रालिका संचालक समेतलाई नियन्त्रणमा लिई उक्त टाँचा लगाई छुट पुर्जी दिने कर्मचारी समेतलाई अनुसन्धानको दायरामा ल्याई कानुन बमोजिम कारवाहीको लागि सव डिभिजन बन कार्यालय नेपालगंज बाँकेमा पठाइएको छ ।

प्रकाशित मितिः     १५ फाल्गुन २०८२, शुक्रबार ०६:५३  |