
नेपालगन्जः स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा.उमाकान्त तिवारीलाई “एनएमए सज्जन श्याम ट्रस्ट अवार्ड” प्रदान गरिएको छ। ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार, बिरामीको सेवामा योगदान र अध्ययन अनुसन्धानमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै डा. तिवारीलाई ५० हजार नगदसहित नेपाल मेडिकल एशोसिएसन (एनएमए)ले उक्त अवार्ड प्रदान गरेको हो ।
चितवनको भरतपुरमा एनएमएले आयोनना गरेको अल नेपाल मेडिकल कन्फ्रेन्स (एनेमेकन २०२६) मा डा.तिवारीलाई अवार्ड प्रदान गरिएको एनएमएका निवर्तमान अध्यक्ष डा.अनिल बिक्रम कार्कीले बताए । कार्यक्रममा स्वास्थ्य क्षेत्रका विभिन्न व्यक्तित्व, चिकित्सक तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवाको पहुँचमा ल्याउन डा.तिवारीले नीतिगत सुधारको एजेण्डालाई अघि सार्दै आएका छन् । संस्थागत तथा बाहिरी राजनीतिक दवाव र भौगोलिक विकटताका बाबजुत पनि डा. तिवारीले आफ्नो शैक्षिक योग्यता र अनुभवलाई दुर्गममा केन्द्रीत गर्दै आएका छन् ।

तथापि, चरम राजनीतिक दवाव, भौगोलिक विकटताका बीच पनि उनले कर्णालीबासीको सेवामा आफुलाई होम्मिदै आएका छन् । कर्णालीका हिमाली गाउँहरू अझै पनि जीवन र मृत्युबीचको कठोर यथार्थसँग जुधिरहेका छन् । डा.तिवारीले त्यहीं कठोर जीन्दगी भोगिरहेका बिरामीको उपचारमा आफुलाई समर्पित गर्दै आएका छन् ।
मातृ तथा शिशु मृत्युदर घटाउने प्रयासदेखि रिफरल प्रणाली सुदृढीकरण, प्रयोगशाला सेवा विस्तार, ल्याब स्थापना र दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा पुर्याउने पहलमा उनले आफुलाई अगाडि बढाएका छन् ।

