बचत फिर्ता माग्दै सडकमा निक्षेपकर्ता….


 

नेपालगन्ज । कर्णाली विकास बैंकको साढे दुई अर्ब रुपियाँ बराबरको घोटाला प्रकरणमा प्रभावित बचतकर्ताहरूले सोमबार फेरि आन्दोलन गरेका छन् । लामो समयदेखि आफ्नो बचत रकम फिर्ता नपाएपछि बचतकर्ताहरू विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

सोमबार दिउँसो १ बजे र्‍यालीसहित कर्णाली विकास बैंक पुगेका बचतकर्ताहरूले आफ्ना माग राख्न खोजे पनि सुनुवाइ नभएको भन्दै नेपाल राष्ट्र बैंकको नेपालगन्ज कार्यालयमा पुगेर विरोध प्रदर्शन गरेका थिए । उनीहरूले बचत रकम फिर्ताको सुनिश्चितता गर्न तथा दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

प्रदर्शनमा सहभागी बर्दियाको बढैयातालकी ललिता थापाले आफ्नो परिवार र आफन्तहरूको मात्रै करिब २२–२३ लाख रुपियाँ डेढ वर्षदेखि बैंकमा अड्किएको बतउनुभयो ।उहाँले भन्नुभयो,“सहकारीमा पैसा राख्दा पनि समस्या, बैंकमा राख्दा पनि समस्या हुने अवस्था आयो । जनताले अब कसलाई विश्वास गर्ने ? मुद्दती खातामा राख्दा राम्रो ब्याज पाइन्छ भनेर राखिएको रकम अहिले निकाल्नै नपाउने अवस्था छ ।”उहाँकाअनुसार बचतकर्ताहरू आफ्नो मेहनतको कमाइ फिर्ता पाउन नसक्दा आर्थिक तथा मानसिक रूपमा समस्यामा परेका छन् ।

राज्यका निकायहरूले समस्या समाधानमा प्रभावकारी भूमिका निर्वाह नगरेको उहाँको आरोप छ ।यस्तै, प्रभावित बचतकर्ता नवराज रिजालले विगत दुई वर्षदेखि बचतकर्ताको रकम फसेको अवस्था संगै दोषीमाथि पनि प्रभावकारी कारबाही हुन नसकेको बताउनुभयो । उहाँकाअनुसार प्रकरणमा १ सय ८ जनाविरुद्ध मुद्दा दर्ता भएको भए पनि दुई जनाबाहेक अन्यलाई पक्राउ नगरिएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

“समय–समयमा पाँच–पाँच हजार रुपियाँका दरले रकम वितरण गर्ने प्रयास भए पनि त्यसले साना बचतकर्तालाई मात्रै सामान्य राहत दिएको छ,” रिजालले भन्नुभयो, “ठूला बचतकर्ताहरू, विभिन्न संघसंस्था र व्यवसायिक प्रयोजनका लागि बैंकमा रकम राख्नेहरू भने अझै गम्भीर समस्यामा छन् ।”उहाँले बैंकमा रकम फसेका कारण धेरै संघसंस्थाहरू आर्थिक संकटमा परेको र नियमित गतिविधि सञ्चालन गर्न कठिन भएको बताउनुभयो । समस्या समाधान हुने निश्चित समयसीमा अझै नतोकिएकाले आन्दोलन जारी रहने उहाँको भनाइ छ ।

बर्दियास्थित उपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बमबहादुर सुवेदीले पनि संस्थाको रकम कर्णाली विकास बैंकमा फसेका कारण सहकारीको कामकाज नै प्रभावित भएको बताउनुभयो ।“संस्थाको पैसा फसेपछि सेवा प्रवाह गर्न कठिन भएको छ । हाम्रोमा बचत गर्ने अधिकांश साना आयस्रोत भएका नागरिक हुन् । उनीहरूको रकम फिर्ता नहुँदा दैनिक जीवनयापनमै समस्या परेको छ,” उहाँले भन्नुभयो ।

प्रदर्शनका क्रममा बचतकर्ताहरूले राज्य र नियामक निकाय समस्या समाधानप्रति गम्भीर नभएको आरोप लगाएका थिए । उनीहरूले बचत रकम फिर्ता हुने स्पष्ट आधार नबन्दासम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् । यसैबीच, नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयका उपनिर्देशक मनोजकुमार केसीले उक्त विषयमा नेपालगन्ज कार्यालय वा यहाँ कार्यरत कर्मचारीले प्रत्यक्ष रूपमा केही गर्न नसक्ने प्रतिक्रिया दिनुभएको थियो ।कर्णाली विकास बैंकमा भएको वित्तीय अनियमितताका कारण हजारौं बचतकर्ता प्रभावित भएका छन् ।

लामो समयदेखि रकम फिर्ता नहुँदा प्रभावितहरू न्याय र आफ्नो बचत फिर्ताको माग गर्दै निरन्तर आन्दोलनमा छन् । नेपाल राष्ट्र बैंकले २०८१ पुषमा कर्णाली डेभलपमेन्ट बैंकलाई संकटग्रस्त घोषणा गरेको थियो ।

प्रकाशित मितिः     १९ जेष्ठ २०८३, मंगलवार ०८:५८  |