फेरियाे नरैनापुरको मुहार: गाउँमा बिजुली र पक्की सडक पुगेपछि स्थानीय दङ्ग


बाँके । समयदेखि बाँके जिल्लाकै दुर्गम क्षेत्रका रूपमा चिनिँदै आएको राप्तीपारिको नरैनापुर गाउँपालिका यतिबेला विकासको नयाँ युगमा प्रवेश गरेको छ। विगतमा चुनावी नारामा मात्र सीमित रहने गरेका पूर्वाधारहरू महामारीको असहज परिस्थितिबीच स्थानीयकै आँखाअगाडि यथार्थमा बदलिएका छन्।

विगतका वर्षहरूमा वर्षा सुरु हुनासाथ नरैनापुरबासीको जिल्ला सदरमुकाम नेपालगञ्जसँगको आवतजावत ठप्प हुने गर्दथ्यो। तर, हुलाकी सडकको स्तरोन्नतिसँगै अब त्यो समस्या सदाका लागि अन्त्य भएको छ।

विश्वभर फैलिएको कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि देशव्यापी बन्दाबन्दी (लकाडाउन) जारी हुँदा देशभरका अधिकांश विकास आयोजनाहरू ठप्प बनेका थिए। तर, नरैनापुरमा भने वर्षौँदेखि अलपत्र अवस्थामा रहेको हुलाकी सडक र विद्युतीकरणको कार्यले यही बन्दाबन्दीकै अवधिमा पूर्णता पाएको छ।नरैनापुरको काँचुली फेरिएको विषयमा खुसी व्यक्त गर्दै गाउँपालिका अध्यक्ष इस्तियाह अहमद शाह भन्नुहुन्छ, “विगतमा विद्युत्का पोलमात्र गाडिएको थियो तर तार तानिएको थिएन। सडक त थियो तर नाम मात्रको– वर्षामा हिँड्नै नसकिने गरी हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्थ्यो। अस्पताल भवन थियो तर चिकित्सक थिएनन्।

टेलिफोनको टावर भएर पनि नेटवर्क समात्दैनथ्यो र नेपाली बजारमै भारतीय रुपैयाँ बढी चल्थ्यो।”अध्यक्ष शाहका अनुसार अहिले नरैनापुरको चित्र र चरित्र दुवै फेरिएको छ। “अहिले यहाँ पक्की सडक, चौबीसै घण्टा विद्युत्, अस्पतालमा डाक्टर, आर्थिक कारोबारका लागि बैंक तथा आधुनिक सञ्चारका लागि टेलिफोन र इन्टरनेट सेवा पुगेको छ,” उहाँले भन्नुभयो। सडक र विद्युत्को पहुँच पुगेसँगै अब स्वास्थ्य, शिक्षा, बैंकिङ सेवा प्रवाह प्रभावकारी बन्ने र यसले स्थानीयको जीवनस्तर उकास्न ठूलो मद्दत पुग्ने विश्वास गाउँपालिकाले लिएको छ।

प्रकाशित मितिः     ६ असार २०८३, शनिबार १०:२७  |