
नेपालगन्ज । भौतिक पूर्वाधार र सञ्चारको क्षेत्रमा काँचुली फेर्दै गएको बाँकेको राप्तीपारि अवस्थित नरैनापुर गाउँपालिकाले अब धार्मिक पर्यटनलाई आफ्नो समृद्धिको नयाँ आधार बनाउने भएको छ। गाउँपालिकाभित्र रहेका ऐतिहासिक तथा प्रसिद्ध धार्मिक स्थलहरूलाई एकीकृत रूपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित गाउँपालिकाले विशेष योजना अघि सारेको हो।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुरको लेक (अग्लो डाँडो) मा अवस्थित गोवर्धनधाम, बाबा बर्फानी, सन्तानेश्वर र शैयद नूर खलिफालाई प्रमुख धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने घोषणा गर्नुभएको छ।
सहज पहुँचका लागि पूर्वाधार निर्माण प्राथमिकतामा
हाल यी धार्मिक स्थलहरू पुग्न भौगोलिक रूपमा निकै कठिन मानिन्छ। नरैनापुर–४ खोदवाबाट जङ्गलको कच्ची बाटो, खोलानाला र डाँडाकाँडा पार गर्दै गोवर्धनधामको आश्रम पुगिन्छ, जहाँ बाबाले झन्डै ३ सयभन्दा बढी गाईहरूको संरक्षण (गौपालन) समेत गर्नुभएको छ।
यस भौगोलिक कठिनाइलाई सम्बोधन गर्दै अध्यक्ष शाहले भन्नुभयो, “धार्मिक स्थलहरूको विकासका लागि सबैभन्दा पहिले सहज सडक सञ्जाल आवश्यक छ। त्यसैले लेक (माथिल्लो डाँडो) सम्म जाने सडक निर्माणको कार्यलाई सक्दो छिटो सम्पन्न गर्न गाउँपालिकाले पूर्ण प्रतिबद्धताका साथ काम अघि बढाएको छ।” सडक निर्माण सम्पन्न भएसँगै दर्शनार्थी र बुढाबुढीहरूलाई पनि ती पवित्र स्थलहरूको दर्शन गर्न सहज हुने विश्वास गरिएको छ।
निजी क्षेत्र र सरोकारवालाको ऐक्यबद्धता
नरैनापुरको यस धार्मिक पर्यटन प्रवर्धन अभियानमा नेपालगञ्जका प्रतिष्ठित उद्योगी तथा सामाजिक व्यक्तित्वहरूले पनि साथ दिने भएका छन्। नेपालगन्ज मेडिकल कलेजका सञ्चालक एवं वैकुण्ठधाम सञ्चालक समितिका अध्यक्ष डा. सुरेश कनोडियाले आन्तरिक मात्र नभई सीमापारिबाट आउने भारतीय धार्मिक पर्यटकहरूका लागि समेत नरैनापुर एउटा उत्कृष्ट गन्तव्य बन्न सक्ने बताउनुभयो। उहाँले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा स्थापित गर्न आफूहरू र निजी क्षेत्रको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सीमापारिका पर्यटकको आकर्षण बन्दै गोवर्धनधाम
कठिन बाटो भए पनि नरैनापुरमा रहेका यी देवस्थलहरूको महिमा नेपाल र भारत दुवै देशमा फैलिएको छ। गाउँपालिकाले हालै आयोजना गरेको पर्यटन प्रवर्धन कार्यक्रममार्फत गोवर्धनधाममा मात्रै बाँके जिल्ला र भारतका विभिन्न स्थानबाट गरी ५०० भन्दा बढी दर्शनार्थीहरूले अवलोकन गरिसकेको गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले जानकारी दिनुभयो।
सुगम जिल्लाको दुर्गम क्षेत्रका रूपमा चिनिएको नरैनापुरमा पक्की सडक, चौबीसै घण्टा विद्युत्, इन्टरनेट र स्वास्थ्य सेवा पुगिसकेको अवस्थामा अब धार्मिक पर्यटनको यो नयाँ प्रयासले यस क्षेत्रको आर्थिक र सामाजिक विकासमा ऐतिहासिक फड्को मार्ने निश्चित देखिन्छ।


