समृद्धिकाे यात्रामा बेग्लै पहिचान बनाइरहेको एउटा वडा (भिडियो सहित)


गुर्भाकाेट । सुर्खेत जिल्लाअन्तर्गत पर्ने गुर्भाकोट नगरपालिका वडा नम्बर ४ ऐतिहासिक, कृषि तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण क्षेत्र हो। ऐतिहासिक गुर्भाकोट दरबार क्षेत्र यही वडामा पर्ने र सोही नामबाट नगरपालिकाको नामकरण गरिनुले पनि यस वडाको महत्व प्रष्ट पार्छ।

पोखराका फाँटदेखि झालेपर र कोटमाझखर्कसम्म फैलिएको प्राकृतिक सौन्दर्य आफैंमा अनुपम छ। हरियाली जंगल, पहाडी भूबनोट, मनोरम दृश्य र शान्त वातावरणका कारण भविष्यमा यी क्षेत्रहरू आन्तरिक पर्यटनका आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना देखिन्छ।

साविक सहारे गाविसका वडा नम्बर ४, ५ र ६ समेटेर हालको वडा नम्बर ४ गठन गरिएको हो। यो गुर्भाकोट नगरपालिकाका बढी जनसंख्या भएका वडामध्ये एक हो। सहारे, पोखरा, आपखोली, कोटमाझखर्क लगायतका बस्तीहरू रहेको यस वडामा पहाडी भिरालो जमिन, वनजंगल, खोल्साखोल्सी तथा हरियाली वातावरणले विशेष आकर्षण थपेको छ। यहाँबाट भेरी उपत्यकासहित आसपासका रमणीय पहाडी दृश्यहरू अवलोकन गर्न सकिन्छ।

विगत केही वर्षयता सडक, खानेपानी, विद्युत तथा अन्य पूर्वाधार विकासका क्षेत्रमा उल्लेखनीय प्रगति भएको वडा अध्यक्ष रामबहादुर डाँगी बताउनुहुन्छ।

कृषि र पशुपालन यस वडाको मुख्य आर्थिक आधार हो। अधिकांश परिवार मकै, धान, गहुँ, कोदो, तरकारी तथा फलफूल खेतीमा संलग्न छन्। पछिल्ला वर्षहरूमा व्यावसायिक बाख्रापालन, गाईभैंसीपालन तथा तरकारी खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ। यसले स्थानीय बासिन्दाको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याएको छ।

कृषि क्षेत्रको विकासका लागि वडाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको वडा अध्यक्ष डाँगी बताउनुहुन्छ। कृषि पेशासँगै जनप्रतिनिधिको भूमिकामा सक्रिय वडा सदस्य ज्ञानबहादुर डाँगीले पनि वडामा कृषि, पूर्वाधार तथा सामाजिक क्षेत्रमा भएका उपलब्धिबारे जानकारी दिनुहुन्छ।

शिक्षाको क्षेत्रमा पनि वडा नम्बर ४ क्रमशः अगाडि बढिरहेको छ। यहाँ आधारभूत तथा माध्यमिक तहका विद्यालय सञ्चालनमा छन्। उच्च शिक्षाका लागि विद्यार्थीहरू मेहलकुना, शुभाघाट, वीरेन्द्रनगर तथा नेपालगञ्जसम्म जाने गरेका छन्। शिक्षाप्रतिको बढ्दो चेतनाले विद्यालयहरूको शैक्षिक गुणस्तरमा समेत सुधार आएको स्थानीय बताउँछन्।

स्वास्थ्य सेवातर्फ सहारे पोखरामा सञ्चालित खोप केन्द्र तथा गाउँघर क्लिनिकले स्थानीय नागरिकलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।

सामाजिक तथा सांस्कृतिक दृष्टिले पनि वडा नम्बर ४ उदाहरणीय मानिन्छ। मगर, क्षेत्री, दलित तथा अन्य समुदायबीचको सामाजिक सद्भाव यहाँको विशेषता हो। दशैं, तिहार, तीज, माघे सङ्क्रान्ति लगायतका चाडपर्व सामूहिक रूपमा मनाइन्छन्। लरे,कुटकुटे, झ्याउरे, सोरठी लगायतका लोकसंस्कृति र परम्पराहरू अझै जीवित छन्। गंगामाला देउती बज्यै मन्दिर ईतिहासिक सम्पदा हाे ।

ग्रामीण सडक विस्तार, खानेपानी, विद्युत, सञ्चार तथा सिँचाइका क्षेत्रमा निरन्तर सुधार भइरहेको छ। साथै, वडा कार्यालयले प्रशासनिक सेवा प्रवाह र न्यायिक समितिमार्फत स्थानीय विवाद समाधानका कार्यलाई समेत प्रभावकारी बनाउँदै आएको बताउनुहुन्छ वडा सचिव वसन्त ओली।

इतिहास, प्राकृतिक सौन्दर्य, कृषि उत्पादन र सामाजिक सद्भावको अनुपम संगम बनेको गुर्भाकोट–४ आज विकासको नयाँ यात्रामा अघि बढिरहेको छ। कृषि, पर्यटन र पूर्वाधार विकासका क्षेत्रमा देखिएका सम्भावनाले यस वडालाई गुर्भाकोट नगरपालिकाकै एक महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गरिरहेका छन्। स्थानीय सरकार, जनप्रतिनिधि र नागरिकको साझा प्रयासले आगामी दिनमा गुर्भाकोट–४ कृषि तथा पर्यटनको नमुना गन्तव्यका रूपमा परिचित हुने अपेक्षा गरिएको छ।

प्रकाशित मितिः     ८ असार २०८३, सोमबार ११:२०  |