नेपालगन्ज, असार १३ — बाँकेको खजुरामा रहेको अरुणोदय बोर्डिङ हाई स्कुलले माध्यमिक तहमा अध्ययनरत विद्यार्थीका २५० जना अभिभावकलाई ‘असल अभिभावक शिक्षा’ सम्बन्धी तालीम प्रदान गरेको छ।
विद्यालयका सञ्चालक तथा अध्यक्ष सतिश निरौलाको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन अध्यक्ष निरौलाले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको विद्यालयले जनाएको छ।
तालीममा बागेश्वरी बहुमुखी क्याम्पस, कोहलपुरका उपप्राध्यापक राजकुमार चन्द, सामाजिक व्यक्तित्व पूर्णचन्द्र उपाध्याय तथा विद्यालयका सञ्चालक/प्रिन्सिपल ऋषिकेश जीसीले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा अभिभावकको भूमिका, बालबालिकाको समग्र विकास, सकारात्मक अनुशासन र विद्यालय–अभिभावक सहकार्यका विषयमा प्रशिक्षण दिइएको थियो।

वि.सं. २०५३ सालदेखि खजुरा क्षेत्रमा शैक्षिक सेवा प्रदान गर्दै आएको अरुणोदय बोर्डिङ हाई स्कुल विगत तीन दशकदेखि गुणस्तरीय शिक्षाका लागि परिचित रहेको विद्यालयले जनाएको छ।
विद्यालयमा हाल होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र शिक्षा विषयमा कक्षा ११ र १२ सम्म अध्ययन–अध्यापन सञ्चालन भइरहेको छ।


