
नेपालगन्ज। धेरैको बुझाइ छ कि नेपालगन्जको रानी तलाउ तरकारी बजारमा भारतीय तरकारीको मात्रै वर्चस्व छ। तर वास्तविकता भने फरक छ। वर्षायाम सुरु भएसँगै जेठदेखि मंसिरसम्म रानी तलाउमा बिक्री हुने अधिकांश तरकारी नेपालकै पहाडी जिल्लाबाट आउने गरेको व्यवसायीहरू बताउँछन्।
व्यवसायीका अनुसार यस अवधिमा बजारमा खपत हुने करिब ८० प्रतिशत तरकारी सल्यान, रुकुम, रोल्पा र दाङलगायत जिल्लामा उत्पादन भएको हुन्छ। बाँकी मात्र भारतीय तथा अन्य क्षेत्रबाट आउने तरकारीले बजारको माग धान्ने गर्छ।
हरेक बिहान सल्यान, रुकुम, रोल्पा र दाङबाट दर्जनभन्दा बढी मालवाहक गाडी ताजा तरकारी बोकेर रानी तलाउ आइपुग्छन्। टमाटर, बन्दा, काउली, भान्टा, सिमी, खुर्सानी, लौका, करेला, बोडी, काँक्रो लगायतका मौसमी तरकारी बजारमा दैनिक बिक्रीका लागि ल्याइन्छ।
तरकारी व्यवसायीहरूका अनुसार पछिल्लो समय नेपाल–भारत सीमा नाकामा अवैध रूपमा भित्रिने तरकारीमा कडाइ गरिएपछि स्वदेशी उत्पादनको माग बढेको छ। गत वर्षको तुलनामा यस वर्ष पहाडी जिल्लाबाट आउने तरकारीको परिमाण पनि उल्लेख्य रूपमा वृद्धि भएको उनीहरूको भनाइ छ।

सीमामा निगरानी कडा हुँदा अवैध आयातमा कमी आएको र त्यसको प्रत्यक्ष लाभ नेपाली किसानले पाएको व्यवसायीहरूको अनुभव छ। स्वदेशमै उत्पादन भएका ताजा तरकारीले बजार पाउन थालेपछि किसानले उत्पादनको उचित मूल्य प्राप्त गर्न थालेका छन्।
नेपालगन्ज, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उपभोक्ताका लागि प्रमुख तरकारी थोक बजारका रूपमा परिचित रानी तलाउमा दैनिक ठूलो परिमाणमा तरकारी कारोबार हुने गरेको छ। यहाँबाट विभिन्न खुद्रा बजार र जिल्लाहरूमा समेत तरकारी आपूर्ति हुने भएकाले यो बजार क्षेत्रीय कृषि अर्थतन्त्रको महत्वपूर्ण केन्द्र बनेको छ।
कृषि क्षेत्रमा काम गर्ने सरोकारवालाहरूले स्वदेशी उत्पादनको बजार सुनिश्चित गर्न सीमा क्षेत्रमा हुने अवैध आयात नियन्त्रणलाई निरन्तर प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार यसले नेपाली किसानलाई उत्पादन बढाउन थप हौसला मिल्नुका साथै देशको कृषि अर्थतन्त्रलाई पनि मजबुत बनाउन सहयोग पुग्नेछ।

