नेपालगन्ज । तीन अर्ब २० करोड रुपैयाँ घोटाला भएको आरोपमा चर्चामा रहेको नेपालगन्जस्थित कर्णाली विकास बैंकका निक्षेपकर्ताहरू आफ्नो बचत रकम फिर्ता माग्दै सडक आन्दोलनमा उत्रिन बाध्य भएका छन्। लामो समयदेखि बैंकमा राखेको रकम फिर्ता नपाउँदा पीडित बनेका निक्षेपकर्ताहरूको आँशु र आक्रोश सोमबार नेपालगन्जको सडकमा पोखिएको हो।
नेपालगन्जस्थित बैंकको केन्द्रीय कार्यालय अगाडि भेला भएका सयौं निक्षेपकर्ताहरूले आफ्नो जीवनभरको कमाइ सुरक्षित रूपमा फिर्ता गराउन माग गर्दै नाराबाजी गरेका छन्। आन्दोलनमा सहभागी अधिकांश निक्षेपकर्ताहरूले बैंकमा राखेको रकम नपाउँदा घरखर्च, बालबालिकाको शिक्षा, स्वास्थ्य उपचार र व्यवसाय सञ्चालनमा गम्भीर समस्या परेको बताएका छन्।
‘जीवनभरको कमाइ फसेको छ’
आन्दोलनमा सहभागी एक निक्षेपकर्ताले आफूले छोराछोरीको भविष्यका लागि बैंकमा जम्मा गरेको रकम अहिले फिर्ता नपाउँदा परिवार नै संकटमा परेको गुनासो गरे। अर्का एक व्यवसायीले व्यापार विस्तारका लागि राखेको पूँजी फसेपछि व्यवसाय सञ्चालन गर्न कठिन भएको बताए।
निक्षेपकर्ताहरूले भने, ‘हामीले बैंकमा विश्वास गरेर पैसा राख्यौं। अहिले आफ्नै पैसा माग्न सडकमा आउनुपरेको छ। राष्ट्र बैंक र सम्बन्धित निकायले चाँडो समाधान निकाल्नुपर्छ।’

राष्ट्र बैंकमाथि दबाब
कर्णाली विकास बैंकलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी व्यवस्थापनका लागि विशेष समूह खटाएको छ। तर, समस्याग्रस्त घोषणा भएको लामो समय बितिसक्दा पनि निक्षेपकर्ताहरूले आफ्नो रकम फिर्ता पाउन नसकेको भन्दै राष्ट्र बैंकमाथि दबाब बढ्दै गएको छ।
निक्षेपकर्ताहरूले राष्ट्र बैंक, सरकार र सम्बन्धित नियामक निकायलाई निक्षेपकर्ताको रकम सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर तत्काल समाधान निकाल्न माग गरेका छन्। उनीहरूले दोषीमाथि कडा कारबाही गरी बैंकमा फसेको रकम यथाशीघ्र फिर्ता गराउनुपर्ने बताएका छन्।
नेपालकै बैंकिङ इतिहासको ठूलो घोटालामध्ये एक
कर्णाली विकास बैंकमा भएको वित्तीय अनियमितता र घोटालालाई निक्षेपकर्ताहरूले नेपालकै बैंकिङ इतिहासको ठूलो घोटालामध्ये एक भएको दाबी गरेका छन्। उनीहरूका अनुसार तीन अर्ब २० करोड रुपैयाँभन्दा बढी रकमको अनियमितताले हजारौं परिवारको भविष्य संकटमा परेको छ।
आन्दोलनकारीहरूले चेतावनी दिएका छन् कि यदि छिट्टै समाधान नआए आन्दोलनलाई अझ सशक्त बनाइनेछ। उनीहरूले शान्तिपूर्ण आन्दोलन जारी राख्दै आफ्नो रकम सुरक्षित रूपमा फिर्ता नपाएसम्म संघर्ष नरोकिने बताएका छन्।

