नेपालगन्जको अत्याधुनिक ‘भेरी मिट सप एण्ड कोल्ड स्टोर’ पुनः सञ्चालन हुँदै


नेपालगन्ज । करिब रु ५ करोडभन्दा बढी लगानीमा स्थापना गरिएको पश्चिम नेपालको सबैभन्दा ठूलो तथा अत्याधुनिक ‘भेरी मिट सप एण्ड कोल्ड स्टोर’ अढाई वर्षपछि पुनः सञ्चालनको तयारीमा पुगेको छ। डल्फिन ग्रुपले २०७९ सालमा नेपालगन्जमा स्थापना गरेको यो उद्योग भारतीय सीमाबाट हुने अवैध बोइलर कुखुराको तस्करीका कारण सञ्चालनमा टिक्न नसकी बन्द भएको थियो। तर पछिल्लो समय सीमावर्ती नाकामा अवैध आयात नियन्त्रणका प्रयास प्रभावकारी बन्दै गएपछि उद्योगी र कृषकमा नयाँ आशा जागेको छ।

डल्फिन ग्रुपका कार्यकारी निर्देशक तीर्थ थापाका अनुसार उद्योग पुनः सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। सरकारले सीमाक्षेत्रमा हुने अवैध व्यापार नियन्त्रणतर्फ देखाएको सक्रियताले स्वदेशी उद्योग र कृषकलाई सकारात्मक सन्देश दिएको भन्दै उनले उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरिएको बताए।

“नयाँ आशा पलाएको छ। त्यसैले उत्साहित हुँदै हामीले बन्द भएको उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेका छौँ। हामी चाँडै नै उपभोक्ताको भान्सासम्म गुणस्तरीय, सुरक्षित र स्वच्छ मासु पुर्‍याउनेछौँ,” थापाले भने।

उनका अनुसार अवैध बोइलर कुखुराको आयात पूर्ण रूपमा रोकिएको त छैन, तर विगतको तुलनामा उल्लेखनीय रूपमा घटेको छ। यसले स्वदेशी उत्पादनलाई बजारमा प्रतिस्पर्धा गर्न सहज वातावरण बन्ने अपेक्षा गरिएको छ।

अवैध तस्करीका कारण बन्द भएको थियो उद्योग

भेरी मिट सप एण्ड कोल्ड स्टोर सञ्चालनमा रहँदा आधुनिक प्रशोधन प्रणाली, कोल्ड चेन तथा स्वच्छ उत्पादन प्रक्रियाका कारण छोटो समयमै उपभोक्ताको विश्वास जित्न सफल भएको थियो। तर सीमाबाट सस्तो मूल्यमा अवैध रूपमा भित्रिने बोइलर कुखुराले बजारमा प्रभुत्व जमाएपछि स्वदेशी उत्पादन प्रतिस्पर्धामा टिक्न नसक्दा उद्योगले ठूलो आर्थिक क्षति बेहोर्‍यो र अन्ततः सञ्चालन बन्द गर्नुपरेको थियो।

उद्योग बन्द भएसँगै प्रत्यक्ष रूपमा कार्यरत करिब १०० जना श्रमिकले रोजगारी गुमाएका थिए। साथै हजारौँ बोइलर कुखुरा पालक किसानले आफ्नो उत्पादनको नियमित बजार गुमाउनुपरेको थियो। यसका साथै स्थानीय पोल्ट्री व्यवसाय, दाना उद्योग, ढुवानी तथा अन्य सहायक व्यवसायसमेत प्रभावित भएका थिए।

अन्तर्राष्ट्रिय मापदण्डअनुसारको प्रशोधन केन्द्र

डल्फिन ग्रुपका अनुसार भेरी मिट सप एण्ड कोल्ड स्टोर पश्चिम नेपालको सबैभन्दा आधुनिक मासु प्रशोधन उद्योगमध्ये एक हो। उद्योगमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारका अत्याधुनिक उपकरण जडान गरिएको छ।

“हाम्रो उद्देश्य केवल मासु बिक्री गर्नु होइन, उपभोक्तालाई सुरक्षित, स्वस्थ र गुणस्तरीय खाद्य पदार्थ उपलब्ध गराउनु हो। आधुनिक प्रविधिको प्रयोगमार्फत उत्कृष्ट सेवा दिने हाम्रो प्रतिबद्धता छ,” थापाले बताए।

उपभोक्ताको रोजाइमा परेको थियो उत्पादन

उद्योग सञ्चालनमा रहँदा यहाँ प्रशोधन गरिएको मासु नेपालगन्जसहित बाँके, बर्दिया, दाङ, सुर्खेतलगायतका जिल्लामा लोकप्रिय बनेको थियो। स्वच्छ प्याकेजिङ, गुणस्तर र स्वादका कारण धेरै उपभोक्ताले यसलाई पहिलो रोजाइ बनाएका थिए।

उद्योग बन्द भएपछि पनि उपभोक्ताले यसको पुनः सञ्चालनको माग गर्दै आएका थिए। कम्पनीका अनुसार पुनः सञ्चालनको तयारीको खबर सार्वजनिक भएसँगै ग्राहकबाट सकारात्मक प्रतिक्रिया आउन थालेको छ।

“हाम्रो उत्पादनका बारेमा धेरैले निरन्तर चासो राख्नुभएको छ। अब फेरि हामी उहाँहरूको भान्सासम्म गुणस्तरीय मासु पुर्‍याउनेछौँ,” थापाले भने।

किसान र स्थानीय अर्थतन्त्रलाई राहत

उद्योग पुनः सञ्चालनमा आएपछि बाँके, बर्दिया, दाङ, सुर्खेतलगायत जिल्लाका हजारौँ बोइलर कुखुरा पालक किसानले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ। स्थानीय किसानबाट उत्पादन खरिद हुने भएकाले बजार सुनिश्चित हुनुका साथै उचित मूल्य प्राप्त हुने विश्वास गरिएको छ।

यससँगै दाना उद्योग, ढुवानी, प्याकेजिङ, कोल्ड चेन व्यवस्थापन, खुद्रा व्यापार लगायतका सहायक व्यवसायसमेत पुनः चलायमान हुने अपेक्षा गरिएको छ।

स्वदेशी उद्योग संरक्षणको सन्देश

व्यवसायीहरूका अनुसार स्वदेशी उद्योगको दीर्घकालीन सफलता प्रभावकारी बजार अनुगमन तथा सीमाबाट हुने अवैध आयात नियन्त्रणसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ। यदि अवैध व्यापारलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकियो भने स्वदेशी उद्योगले प्रतिस्पर्धात्मक क्षमता बढाउने मात्र होइन, रोजगारी सिर्जना, कृषि उत्पादन विस्तार र राष्ट्रिय अर्थतन्त्रलाई समेत टेवा पुग्ने विश्वास गरिएको छ।

भेरी मिट सप एण्ड कोल्ड स्टोरको पुनः सञ्चालनलाई केवल एउटा उद्योग पुनः खुल्नुका रूपमा मात्र नभई स्वदेशी उत्पादन, स्थानीय किसान, रोजगारी र खाद्य सुरक्षालाई पुनर्जीवित गर्ने सकारात्मक कदमका रूपमा हेरिएको छ। उद्योग पूर्ण रूपमा सञ्चालनमा आएपछि पश्चिम नेपालमा गुणस्तरीय मासु उत्पादन र आपूर्तिको नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ।

प्रकाशित मितिः     १० श्रावण २०८३, आईतवार १९:१२  |