कालोसूचीमा रहेका व्यक्ति नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षका उम्मेदवार !


नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार ध्रुवप्रसाद दाहालविरुद्ध दुईवटा उजुरी परेका छन्। उजुरीमा दाहालको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको तथा उनले प्रतिनिधित्व गरेको व्यवसायिक फर्मको भ्याट दर्ता खारेज भएको विषय उठाइएको छ।

निर्वाचन समितिमा परेको उजुरीअनुसार दाहालको नाम कर्जा सूचना केन्द्रको वेबसाइटमा २०८० मंसिर ७ गतेदेखि कालोसूचीमा रहेको उल्लेख गरिएको छ। कर्जा सूचना केन्द्रको वेबसाइटमा रहेको विवरणमा ५४२४९ नम्बरमा ‘सौगात इलेक्ट्रो हब’ र त्यससँग सम्बन्धित व्यक्तिका रूपमा ध्रुवप्रसाद दाहाल सहितको नाम उल्लेख रहेको छ।

उजुरीकर्ताले उद्योग वाणिज्य संघजस्तो व्यवसायीहरूको प्रतिनिधिमूलक संस्थाको नेतृत्वमा कालोसूचीमा रहेको व्यक्ति उम्मेदवार बन्नु संस्थाको प्रतिष्ठासँग जोडिएको विषय भएको जिकिर गरेका छन्। कालोसूचीमा रहेको व्यक्तिलाई बैंकिङ तथा वित्तीय कारोबारमा समस्या आउन सक्ने भन्दै भविष्यमा संघको दैनिक आर्थिक तथा प्रशासनिक काममा समेत समस्या सिर्जना हुनसक्ने दाबी उजुरीमा गरिएको छ।

यही आधारमा दाहालको अध्यक्ष पदको उम्मेदवारी रद्द गर्न निर्वाचन समितिसमक्ष माग गरिएको छ।

तर निर्वाचन समितिले उजुरीमा उठाइएको कालोसूचीसम्बन्धी विषयमा आवश्यक छानबिन नगरी उम्मेदवारको नामावली सार्वजनिक गरेको उजुरीकर्ताको भनाइ छ। मुख्य निर्वाचन अधिकृत अधिवक्ता तीर्थ ज्ञवालीले उजुरी परेको भए पनि प्रमाण समावेश नभएकाले उम्मेदवारको नामावली सार्वजनिक गरिएको बताउनुभएको छ।

यता कर्जा सूचना केन्द्रको वेबसाइटमै नाम रहेको विवरण प्रस्तुत गरिएको भए पनि त्यसबारे निर्वाचन समितिले थप छानबिन गरेकाे छैन

भ्याट दर्ता खारेज भएको विषयमा पनि उजुरी

दाहालविरुद्ध संघमै उनले प्रतिनिधित्व गरेको व्यवसायिक फर्मले २०७४ साउनदेखि भ्याट विवरण पेश नगरेको र आन्तरिक राजस्व विभागले २०८२ जेठ ९ गते भ्याट दर्ता खारेज गरेको भन्दै अर्को उजुरीसमेत परेको छ।

तर निर्वाचन समितिले फर्मको नवीकरणसम्बन्धी काम संघबाट भइसकेको भन्दै दाहालको उम्मेदवारी कायम राखेको जनाइएको छ।

अध्यक्ष पदका उम्मेदवार दाहालले भने आफूविरुद्ध परेका उजुरीमा प्रमाण नभएको दाबी गर्नुभएको छ। निर्वाचन समितिले आफ्नो उम्मेदवारी कायम गर्दै नाम सार्वजनिक गरिसकेको भन्दै उहाँले कालोसूचीसम्बन्धी विषयमा भन्नुभयो, “फर्म ठीक छ भनेर निर्वाचन समितिले भनिसकेपछि व्यक्तिगत कुरा के–कसो छ, त्यसका बारेमा भनिराख्नु परेन।”

प्रकाशित मितिः     २३ श्रावण २०८३, शनिबार २०:०७  |