‘अग्रजले स्थापित गरेकाे संघलाई अझ सुदृढ र सार्थक बनाउन भूमिका खेल्छाैं’


आगामी भाद्र ६ गते शनिबार हुन गइरहेको नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा म र मेरो नेतृत्वको टीम सार्वजनिक भइसकेको यहाँहरूलाई अवगत नै छ।

सहमतिको माध्यमबाट नेतृत्व चयन गर्ने उद्देश्यले हामीले निरन्तर प्रयास गर्‍यौँ। तर, अनेकौँ प्रयासका बाबजुद सहमति सम्भव हुन नसकेपछि अब लोकतान्त्रिक प्रक्रियामार्फत निर्वाचनमा जाने विकल्प बाहेक हामीसामु कुनै विकल्प छैन।

उद्योगी–व्यवसायी साथीहरूले मलाई पहिलो कार्यकाल सदस्यको रूपमा निर्वाचित गर्नुभयो। कोरोना महामारीको कठिन समयमा महासचिवको जिम्मेवारी सम्हाल्ने अवसर दिनुभयो। त्यसपछि उद्योगतर्फको उपाध्यक्षका रूपमा निर्वाचित भएर जिम्मेवारी निर्वाह गर्ने अवसर पनि प्रदान गर्नुभयो। ती सबै जिम्मेवारीमा मैले गरेको काम, भूमिका र प्रतिबद्धताको मूल्याङ्कन यहाँहरूले पक्कै गर्नुभएको छ।

नेपालगञ्ज उद्योग वाणिज्य संघ निजी क्षेत्रको साझा र गरिमामय संस्था हो। यसको नेतृत्व कस्तो व्यक्तिको हातमा दिने भन्ने निर्णय अब यहाँहरूकै हातमा छ। मलाई विश्वास छ—यहाँहरूको मूल्याङ्कन विवेकपूर्ण र संस्थाको हितलाई केन्द्रमा राखेर हुनेछ।

नेपालगञ्ज उद्योग वाणिज्य संघले हासिल गरेको गरिमालाई अझ उचाइमा पुर्‍याउने, उद्योगी–व्यवसायीका साझा समस्या र आवाजलाई प्रभावकारी रूपमा उठाउने तथा संघलाई कुनै व्यक्ति वा समूहको होइन, सम्पूर्ण निजी क्षेत्रको साझा संस्थाका रूपमा स्थापित गर्ने मेरो पहिलो प्राथमिकता हुनेछ।

हाम्रा अग्रजहरूले आफ्नो मेहनत, योगदान र दूरदृष्टिबाट जुन उद्देश्यका साथ नेपालगञ्ज उद्योग वाणिज्य संघको परिकल्पना गर्नुभएको थियो, त्यसलाई अझ सुदृढ र सार्थक बनाउनु हाम्रो जिम्मेवारी हो। त्यही उद्देश्य पूरा गर्ने प्रतिबद्धताका साथ म अघि बढिरहेको छु।

अब आजबाट हामी उद्योगी–व्यवसायीहरूको घरदैलोमा आउँदैछौँ।

यहाँहरूको अमूल्य सल्लाह, सुझाव, मार्गदर्शन र विश्वास हाम्रो अभियानको सबैभन्दा ठूलो शक्ति हुनेछ।

त्यसैले,

म र मेरो नेतृत्वको टीमलाई विश्वास गर्नुहोस्,

संस्थाको हितमा सही निर्णय गर्नुहोस्,

र नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि आफ्नो अमूल्य मत र साथ प्रदान गर्नुहोस्।

यहाँहरूको विश्वासलाई कहिल्यै कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण उद्योगी–व्यवसायी ज्युहरूप्रति हार्दिक सम्मान तथा आभार व्यक्त गर्दछु।

चिरञ्जीवी ओली

अध्यक्ष पदका उम्मेदवार

नेपालगञ्ज उद्योग वाणिज्य

नेपालगंज उद्योग वाणिज्य संघ

प्रकाशित मितिः     २६ श्रावण २०८३, मंगलवार ०७:४३  |