
नरैनापुरको मटेहियामा रामलीला लाग्थ्यो। साथी रमेशसहित हामी केही जना साँझै पुगेर छेउमा बोरा ओछ्याउँथ्यौँ र राति अबेरसम्म बस्थ्यौँ। भीड यति हुन्थ्यो कि ढिलो पुगे पछाडि उभिएरै हेर्नुपर्थ्यो। मञ्चमा गाउँकै मान्छे राम, लक्ष्मण र भरत बनेर निस्कन्थे। कोही खेतमा काम गर्ने, कोही पसल चलाउने। तर त्यो रात तिनको मुखबाट निस्कने अवधी बेग्लै सुनिन्थ्यो। ढोलक बज्थ्यो, चौपाई गाइन्थ्यो, र कथा रातभरि चल्थ्यो। भोलिपल्ट बिहान त्यही भाषा विद्यालयको कक्षामा बोल्दा हामी हप्की खान्थ्यौँ। राति मञ्चमा गौरव बनेको भाषा दिउँसो कक्षामा लाज बन्थ्यो। त्यो फरक मैले धेरै पछि मात्र बुझेँ। र रामलीला त एउटा रात मात्र थियो। अवधी समुदायमा जीवनको कुनै पनि ठूलो क्षण गीतबिना बित्दैन। बच्चा जन्मिँदा गीत छ, कपाल काट्दा गीत छ, बिहेको हरेक चरणमा गीत छ, र छोरी माइती छाड्दा पनि गीत छ।
को हुन् नेपालका अवधीभाषी ?
वि.स. २०७८ को जनगणनाअनुसार नेपालमा ८ लाख ६४ हजार २७६ जनाले अवधीलाई मातृभाषा भनेका छन्। यो कुल जनसंख्याको २.९६ प्रतिशत हो र यसले अवधीलाई नेपालको सातौँ ठूलो भाषा बनाउँछ।
यो समुदाय पश्चिम तराईको एउटा निश्चित पट्टीमा बसेको छ। कपिलवस्तुमा जिल्लाकै ६६.९२ प्रतिशत जनताले अवधी बोल्छन्, जुन नेपालको कुनै पनि जिल्लामा एउटै मातृभाषाको सबैभन्दा घना उपस्थितिमध्ये एक हो। बाँकेमा ३७.१६ प्रतिशत, रूपन्देहीमा १०.१४ प्रतिशत, बर्दियामा ९.८४ प्रतिशत र दाङमा २.०८ प्रतिशत।
त्रिभुवन विश्वविद्यालयको भाषिक सर्वेक्षणले यस समुदायभित्र १८ वटा जात तथा जातीय समूह पहिचान गरेको छ। यादव सबैभन्दा ठूलो समूह हो, त्यसपछि मुस्लिम, कुर्मी र मौर्य। सुनार, लोहार, नाउ, धोबी र सार्कीजस्ता पेसागत जात पनि यसै समुदायभित्र पर्छन्। मुख्य पेसा कृषि हो।
धार्मिक बनोटमा सर्वेक्षणमा सहभागी ८८.३३ प्रतिशत हिन्दू र ११.६७ प्रतिशत मुस्लिम थिए। यो अनुपात अवधी संस्कृति बुझ्ने कुञ्जी हो, किनभने यहाँ भाषा धर्मको सिमानाभन्दा माथि छ।
भाषाको जरा कहाँ छ ?
अवधी पूर्वी हिन्दी समूहको इन्डो आर्य भाषा हो, जुन अर्धमागधी प्राकृतबाट विकसित भएको मानिन्छ। यसलाई कोसली पनि भनिन्छ, प्राचीन कोसल राज्यको नामबाट, जसको उत्तरी भाग आजको नेपाली तराई थियो। बैसवाड़ी र पूर्बी अरू दुई पुराना नाम हुन्।
आज अवधी देवनागरीमा लेखिन्छ। इतिहासमा यो कैथी लिपिमा पनि लेखिएको थियो, र यसको पूरै सूफी साहित्य परम्परा फारसी नस्तालिक लिपिमा अभिलिखित छ।
अवधीको आफ्नै व्याकरणिक बनोट छ। नामशब्दले विकारी रूप लिन्छ र त्यसमा सबैभन्दा देखिने बहुवचनको प्रत्यय न हो: लरिका बाट लरिकन, बिटिया बाट बिटियन, मेहरारू बाट मेहरारुन। स्नेह वा घनिष्ठता जनाउने विस्तारित रूप पनि बन्छन्: नदी बाट नदिया, घोड़ा बाट घोड़वा।
यी रूप कुनै पाठ्यपुस्तकमा छैनन्, तर कपिलवस्तु वा बाँकेमा हुर्केको जोसुकैले तत्काल चिन्छ। लोकगीतको लय पनि यसै बनोटमा उभिएको छ, र त्यसैले अवधी गीतलाई नेपाली वा हिन्दीमा उल्था गर्दा अर्थ बच्छ तर सङ्गीत मर्छ।
जीवनका संस्कार
अवधी समाजमा संस्कारको शृंखला जन्मबाट सुरु हुन्छ र त्यसको हरेक गाँठो गीतले कसिएको छ।
छठी– बच्चा जन्मेको छैटौँ दिन मनाइने यो संस्कार सुत्केरी र नवजातको सार्वजनिक परिचयको क्षण हो। यसै रात महिलाहरू भेला भएर सोहर गाउँछन्।
नहछू– विवाह वा व्रतबन्धअघि नङ काट्ने यो रीति अवध क्षेत्रको आफ्नै विशिष्टता हो, जसमा नाउ र नाउनीको भूमिका केन्द्रीय हुन्छ। यो रीति यति गहिरो छ कि तुलसीदासलाई श्रेय दिइने रामलला नहछू नामक कृति नै यसैमा आधारित छ। सोहर छन्दमा लेखिएको यो रचनाको एउटा पङ्क्ति भन्छ: आजु अवधपुर आनन्द नहछू राम कहो अर्थात्, आज अवधपुरमा आनन्द छ, रामको नहछू भइरहेको छ।
बियाह– विवाहका हरेक चरणका आ-आफ्नै गीत छन्। मटकोर, हल्दी, द्वार पूजा र भाँवर, सबैका लागि अलग बोल छन्। कविता कोशको अवधी लोकगीत सङ्ग्रहमा मात्रै विवाह गीतका एघार वटा शीर्षक सूचीकृत छन्।
गौना– दुलही अन्तिम पटक माइती छाडेर पतिको घर जाँदा गाइने विदाइ गीत यस भण्डारकै सबैभन्दा भावुक विधा मानिन्छ।
गीतै गीतको समाज
नेपालका अवधी लोकगीतमाथि भएको सबैभन्दा नयाँ अध्ययनमध्ये एक प्रेमप्रसाद तिवारीको “अवधी भाषाका लोकगीतको अध्ययन” हो, जुन सन् २०२५ मा कग्निसन जर्नलमा प्रकाशित भयो। रूपन्देही र कपिलवस्तुका मायादेवी, कोटहीमाई, लुम्बिनी सांस्कृतिक नगरपालिका र तौलिहवा क्षेत्रबाट सङ्कलित गीतका आधारमा उनले अवधी लोकगीतलाई पाँच वर्गमा राखेका छन्:
पर्व गीत, चाडबाडमा गाइने। कर्म गीत, काम गर्दै गाइने। संस्कार गीत, जीवनका संस्कारमा गाइने। ऋतु गीत, मौसमअनुसार गाइने। जाति गीत, विशेष जात वा समूहसँग जोडिएका।
अध्ययनको निष्कर्ष ध्यान दिनलायक छ। यी गीतले महिलाको पीडा, आर्थिक कठिनाइ र मानसिक तनावलाई विषय बनाएका छन्, र तिनमा सामाजिक सुधारको चाहना पनि झल्किन्छ। अर्थात् लोकगीत मनोरञ्जन मात्र होइन, यो समुदायको सबैभन्दा पुरानो सामाजिक टिप्पणी हो।
काम गीतमा जाँतो पिँध्दा गाइने जतसार, रोपाइँमा गाइने रोपनी र गोडमेलमा गाइने निरवाही पर्छन्। ऋतु गीतमा साउनको कजरी, होलीको फगुवा र बाह्रै महिनाको वियोग वर्णन गर्ने बारहमासा पर्छन्। मञ्चीय विधामा बिरहा र नौटंकी छन्। अवधी सोहरको एउटा प्रचलित बोल यस्तो छ:
चलो चली सखिया सहेलिया त हिलि मिलि सब चली हो। सखी जमुना का निर्मल नीर कलस भरि लाई हो॥
अर्थात्, हिँड सखी सहेलीहरू, सबै मिलेर जाऔँ। जमुनाको निर्मल पानी कलशमा भरेर ल्याऔँ।
र सबैभन्दा मार्मिक विधा बिदेसिया हो, परदेश गएको पतिका लागि पत्नीको विलाप। यो विधा उन्नाइसौँ शताब्दीमा बङ्गाल र आसाम जाने मजदुरका लागि बनेको थियो। आज त्यही गीत ती महिलाले गाउँछन् जसका श्रीमान् कतार, मलेसिया वा साउदीमा छन्। २०७८ को जनगणनाले २१ लाख ९० हजार ५९२ नेपाली विदेशमा रहेको गनेको छ, जसमध्ये ८२.२ प्रतिशत पुरुष छन्।
दुई सय वर्ष पुरानो एउटा लोकगीतले आजको श्रम बजारलाई यति ठीक वर्णन गर्नुले यो संस्कृति संग्रहालयको वस्तु होइन भन्ने देखाउँछ। बाजाहरूमा ढोलक, हार्मोनियम, मन्जिरा र एकतारा प्रमुख छन्।
यो संस्कृति बोक्ने काँध
अवधी लोकसाहित्यको एउटा विशेषता प्रस्ट छ। यसको ठूलो हिस्सा महिलाको स्वरमा, महिलाको स्मृतिमा र महिलाकै अवसरमा बाँचेको छ। सोहर सुत्केरीको वरिपरि गाइन्छ। बियाह गीत र विदाइ गीत महिलाकै समूहले सम्हाल्छ। जतसार जाँतोमा गाइन्छ, र जाँतो महिलाको काम थियो। कजरीको वियोग पनि महिलाकै दृष्टिकोणबाट भनिएको छ।
तिवारीको अध्ययनले यही कुरा पुष्टि गर्छ। उनका अनुसार यी गीतका मुख्य विषय महिलाको पीडा, आर्थिक कठिनाइ र मानसिक तनाव हुन्, र तिनमा सामाजिक सुधारको चाहना पनि व्यक्त भएको छ।
यसमा एउटा विरोधाभास छ। जुन समुदायको सांस्कृतिक भण्डार महिलाले बोकेका छन्, त्यही समुदायमा महिलाको साक्षरता पुरुषको भन्दा कम छ। भाषिक सर्वेक्षणले अवधी वक्ताहरूमध्ये पुरुषको ४७ र महिलाको ४० प्रतिशत मात्र साक्षर रहेको देखाएको थियो।
अर्थात् यो सम्पदा त्यस्ता व्यक्तिहरूको जिम्मामा छ जसलाई लेख्ने अवसर सबैभन्दा कम दिइएको छ। अभिलेखीकरण नभएसम्म यो जोखिम कायमै रहन्छ।
मञ्चको परम्परा
अवधी संस्कृतिमा नाट्य परम्परा गीतजत्तिकै पुरानो छ।
रामलीला– यसको केन्द्रमा छ। तुलसीदासले रामचरितमानसलाई अवधीमा लेखेपछि जन्मिएको यो परम्परामा कथा लगातार रातहरूमा मञ्चन हुन्छ। कलाकार पेसेवर हुँदैनन्, गाउँकै मानिस हुन्छन्, र भूमिका प्रायः परिवारभित्रै पुस्तान्तरण हुन्छ।
नौटंकी– लोकनाट्यको अर्को रूप हो, जसमा गीत, संवाद र हास्य मिसिन्छ र विषय प्रायः लोकगाथा वा सामाजिक घटना हुन्छ।
बिरहा– एकल गायन परम्परा हो, जुन मुख्यतः यादव समुदायसँग जोडिएको छ र मेला तथा जात्रामा प्रस्तुत हुन्छ।
यी तीनै विधाको साझा विशेषता के हो भने यिनका लागि मञ्च, टिकट वा प्रशिक्षण चाहिँदैन। आँगन र दर्शक भए पुग्छ। यही सरलता तिनको बल हो, र यही तिनको जोखिम पनि, किनभने आँगन उठ्नासाथ विधा उठ्छ।

पर्वको पात्रो
अवधी समुदायको वर्ष वैष्णव आधारमा उभिएको छ, तर यसको आफ्नै रङ छ।
फागुनमा होली– क्षेत्रकै सबैभन्दा संगीतमय् पर्व, जुन मनाइनेभन्दा बढी गाइन्छ। फगुवा र होरीका बोल, ढमारको ताल, र सत्तामा जो छ त्यसैमाथि छुट पाएको व्यङ्ग्य यसका विशेषता हुन्।
चैतमा रामनवमी र रामलीला- रामचरितमानसबाट लगातार रातहरूमा मञ्चन हुन्छ, र भूमिका प्रायः परिवारभित्रै हस्तान्तरण हुन्छ।
साउनमा कजरी- आँपका रूखमा पिङ हालिन्छ र महिलाहरू वर्षाका गीत गाउँछन्।
भदौ र असोजमा जितिया तथा तीज- जितिया सन्तानको कल्याणका लागि आमाहरूले बस्ने निराहार व्रत हो।
असोजमा दसैँ, र कात्तिकमा दीपावली तथा छठ- छठ चार दिनको नदीतटीय सूर्यपूजा हो र पात्रोकै सबैभन्दा कठिन व्रत मानिन्छ।
माघ फागुनमा शिवरात्रि – बाँकेमा यसको केन्द्र नेपालगन्जको बागेश्वरी मन्दिर हो, जुन जिल्लाकै सबैभन्दा पुरानो मन्दिर हो र जसको चित्र नेपाली एक रुपैयाँको सिक्कामा छापिएको छ।
भान्साको स्वाद
अवधी खानालाई लखनउको दरबारी दस्तरखानसँग मिसाउनु हुँदैन। नेपालको अवधी भान्सा गाउँको भान्सा हो: तोरीको तेल, मसला र माटोको चुल्होको धुवाँ, जुन ग्यासको आगोले दिन सक्दैन।
प्रमुख परिकारमा भरुवा (भरिएको तरकारी), निमोना (हरियो केराउको तरकारी, जाडोको बालीको उत्कर्षमा बनाइने), रिकवाँच, बफौरी (उमालेको बेसनको डम्प्लिङ, यस क्षेत्रको दुर्लभ नतारिएको खाजा), बुकनी, लिट्टी चोखा, भर्ता, मकुरी रोटी र फरा पर्छन्।
यो भान्सा कडा रूपमा मौसमी छ। गर्मीभरि आँपका परिकार, वर्षामा पकौडा र सुकाएको तरकारी (जतिबेला ताजा तरकारी दुर्लभ हुन्छ र खेत डुबेका हुन्छन्), जाडोमा बाक्लो तरकारी र हलुवा, अनि वसन्तमा ताजा सागपात।
दुई आस्था, एउटै भाषा
अवधी संस्कृतिको सबैभन्दा उल्लेखनीय पक्ष यही हो, र नेपालमा यसबारे सबैभन्दा कम बोलिन्छ।
सन् १३७९ मा चिश्ती सूफी मौलाना दाउदले चान्दायन लेखे, लोरिक र चन्दाको लोकगाथामा आधारित। अवधीमा लेखिएको तर फारसी लिपिमा अभिलिखित यो कृतिले प्रेमाख्यान विधा जन्मायो, जहाँ लौकिक प्रेमले अलौकिक प्रेमको संकेत गर्छ।
सन् १५७४ मा गोस्वामी तुलसीदासले रामचरितमानस सुरु गरे, सात काण्ड र करिब १२ हजार ८०० पङ्क्ति, चौपाई तथा दोहा छन्दमा। संस्कृतको साटो अवधी रोजेर उनले रामकथा निरक्षरको मुखमा राखिदिए र रामलीला परम्परा जन्माए।
जायसी र तुलसीदासबीच जम्मा चौँतीस वर्षको फरक छ। एउटै भाषा, दुई आस्था, दुई उत्कृष्ट कृति।
यो साहित्यिक संयोग होइन, सामाजिक यथार्थ हो। कपिलवस्तुमा मुस्लिम समुदाय जिल्लाकै सबैभन्दा ठूलो एकल समूह हो, १७.४ प्रतिशत। नेपालगन्जको धार्मिक बनोटमा हिन्दू ७० र मुस्लिम २७.८ प्रतिशत छन्, र सहरको बीचमा बागेश्वरी मन्दिर तथा हिँडेरै पुग्ने दूरीमा जामा मस्जिद, गुरुद्वारा र बौद्ध गुम्बा छन्।
यी सबै समुदाय एउटै अवधीमा मोलमोलाइ गर्छन्। यहाँ अवधी न हिन्दूको भाषा हो, न मुस्लिमको। यो दुवैको साझा बोली हो।
खेत र गीतको साइनो
अवधी संस्कृतिलाई बुझ्न त्यसको खेती बुझ्नुपर्छ, किनभने यो समुदायको पात्रो जति धार्मिक छ, त्यति नै कृषिजन्य छ। यस क्षेत्रको मुख्य बाली धान, गहुँ, मकै, उखु र दलहन हुन्। असारमा रोपाइँ हुन्छ र त्यसै बेला रोपनी गीत गाइन्छ। साउनमा वर्षा चर्किन्छ, खेतमा काम कम हुन्छ, र त्यही खाली समयमा कजरी र सावनका गीत फुल्छन्। कात्तिकमा बाली भित्रिन्छ र छठ आउँछ। जाडोमा गहुँ र दलहनको सिजन चल्छ, अनि फागुनमा होली, जुन वर्षकै सबैभन्दा ठूलो सामूहिक उत्सव हो।
अर्थात् गीत खेतको तालिकामा उभिएका छन्। जब खेतीको तरिका फेरिन्छ, गीतको अवसर पनि फेरिन्छ। जाँतो हटेपछि जतसारको ठाउँ हराएझैँ, मेसिनले रोपाइँ गर्दै जाँदा रोपनी गीतको ठाउँ पनि खुम्चिन सक्छ।
यही कारण अवधी संस्कृतिको संरक्षणलाई कृषि, सिँचाइ र ग्रामीण रोजगारीबाट अलग गरेर हेर्न मिल्दैन।
एउटा बिहेले कति घरलाई काम दिन्छ
अवधी समाजको परम्परा नियाल्दा एउटा कुरा प्रस्ट देखिन्छ। यहाँका संस्कार कुनै एक जातले मात्र पूरा गर्न सक्दैन। नहछूमा नाउ र नाउनीबिना काम चल्दैन। कलश कुम्हारले बनाउँछ। लुगा धोबीले धुन्छ। खेतीका औजार र बरातको सामान लोहारले तयार पार्छ। ढोल र त्यसको छाला चर्मकारको हातबाट आउँछ। गहना सुनारले गढ्छ। मन्त्र र मुहूर्त पण्डितले हेर्छ।
अर्थात् एउटा बिहे, एउटा छठी वा एउटा नहछूले आज पनि गाउँका दर्जनौँ परिवारलाई काम दिन्छ र वर्षभरि आम्दानीको निश्चित अवसर जुटाइदिन्छ। त्रिभुवन विश्वविद्यालयको भाषिक सर्वेक्षणले अवधी समुदायभित्र १८ वटा जात तथा जातीय समूह पहिचान गरेको छ, जसमा सुनार, लोहार, नाउ, धोबी र सार्कीजस्ता पेसागत जात पर्छन्।
यसले हरेक परिवारलाई गाउँको अर्थतन्त्रभित्र ठाउँ दिएको छ। परम्पराले तिनलाई काम मात्र दिएको छैन, हरेकलाई अपरिहार्य बनाएको छ। जुन मानिसबिना संस्कार नै पूरा हुँदैन, त्यो मानिस समाजमा सानो हुन सक्दैन।
के हराउँदै छ
यो संस्कृति लोप हुने अवस्थामा छैन । पुस्तान्तरण कायमै छ। भाषिक सर्वेक्षणअनुसार ९७ प्रतिशत पुरुष र १०० प्रतिशत महिलाले आफ्ना सन्ततिका लागि पहिलो रोजाइ अवधी नै बताएका छन्। तर विधाहरूको अवस्था बराबर छैन। संस्कार गीत र पर्व गीत अझै जीवित छन्, किनभने तिनका अवसर जीवित छन्। जोखिममा भएका कर्म गीत हुन्। जाँतो हट्यो, मिल आयो, र जतसारको अवसर नै हरायो। रोपाइँमा मेसिन बढ्दै जाँदा रोपनीको पनि त्यही नियति सम्भव छ।
अर्को समस्या अभिलेखको हो। यी गीत मुख्यतः महिलाको स्मृतिमा छन्, कागजमा होइन। तिवारीको अध्ययनजस्ता प्रयास भइरहेका छन्, तर पाँच जिल्लामा फैलिएको यत्रो भण्डारका लागि ती अपुग छन्। जुन दिन गाउने पुस्ता जान्छ र लेख्ने पुस्ता आउँदैन, त्यो दिन विधा हराउँछ।
यो उपेक्षा नयाँ होइन। सन् १९५६ को नेपाल राष्ट्रिय शिक्षा योजना आयोगको प्रतिवेदनले प्रस्टै लेखेको थियो, “मानक नेपालीबाहेकका स्थानीय भाषा र बोलीहरू बालकको जीवनमा सकेसम्म चाँडो पाठशाला र खेल मैदानबाट हटाइनुपर्छ” (पृ. ९६)। त्यसपछि त्यो सिफारिस नीति बन्यो। पञ्चायतको नारा थियो, “एक भाषा, एक भेष, एक धर्म, एक देश।” सन् १९६२ को संविधानले नेपालीलाई राष्ट्रभाषा बनायो र त्यही वर्षको शिक्षा ऐनले सबै कक्षामा नेपाली माध्यम अनिवार्य गर्यो। सन् १९६५ मा साइनबोर्ड नेपालीमै लेख्न आदेश भयो र रेडियो नेपालले नेवार तथा हिन्दी समाचार बन्द गर्यो। सन् १९९९ मा सर्वोच्च अदालतले नेपाल भाषा र मैथिलीलाई नेपालीका साथसाथै स्थानीय कामकाजमा प्रयोग गर्न नपाइने ठहर गर्यो। अर्थात् चार दशकभन्दा बढी समय राज्यले मातृभाषालाई विद्यालय, रेडियो र कार्यालयबाट क्रमशः हटायो। आज त्यो नीति कागजमा उल्टिएको छ, तर हटाइएको कुरा आफैँ फर्किँदैन। मातृभाषा खोसएिपछि अरू केही गर्नु पर्दैन त्यो समुदाय आफैं कमजोर हुन्छ । अवधी भाषी कमजोर हुनुको प्रमुख कारण नै यही हो ।
अन्त्यमा
अवधी संस्कृतिको सबैभन्दा ठूलो शक्ति यसको निरन्तरता हो। यो पर्वमा मात्र निस्कने संस्कृति होइन। यो जन्मको छैटौँ रातमा छ, नङ काट्ने बिहानमा छ, जाँतोको घुमाइमा छ, रोपाइँको हिलोमा छ, र छोरी बिदा हुने साँझमा छ।
त्यसैले यसको संरक्षण संग्रहालयको काम होइन। यो त्यो अवसर जोगाउने काम हो जसमा गीत गाइन्छ। अवसर रह्यो भने गीत रहन्छ।
गाउने मानिस अझै छन्। सुन्ने पुस्ता चाहिएको छ।

