नेपालगन्ज भन्सारमा पेट्रोलियमको राजस्व २६.८६ प्रतिशत घट्यो


नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८३/८४ को श्रावण महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा केही प्रमुख वस्तुको आयातबाट संकलन हुने राजस्व घटेको छ। नेपालगन्ज भन्सार कार्यालयले आफ्नो वेबसाइटमा आर्थिक वर्षअनुसार वस्तुगत राजस्व विवरण सार्वजनिक गर्दै आएको छ।

तथ्यांकअनुसार पेट्रोलियम पदार्थबाट संकलित राजस्व २६.८६ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको श्रावणसम्म पेट्रोलियमबाट २६ करोड ५७ लाख ४६ हजार रुपैयाँ राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १९ करोड ४३ लाख ६१ हजार रुपैयाँ मात्रै संकलन भएको छ। यसबाट ७ करोड १३ लाख ८४ हजार रुपैयाँले राजस्व कमी आएको देखिन्छ।

त्यस्तै, स्टिल वायर रोडबाट संकलित राजस्व ४ करोड ९५ लाख २६ हजार रुपैयाँबाट घटेर २ करोड १४ लाख ८७ हजार रुपैयाँमा झरेको छ। यसमा ५६.६२ प्रतिशत कमी आएको छ।

भटमासको पिनाबाट हुने राजस्वमा भने ९७.१६ प्रतिशतको ठूलो गिरावट देखिएको छ। गत वर्षको श्रावणमा १ करोड ६१ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षमा ४ लाख ५९ हजार रुपैयाँ मात्रै संकलन भएको तथ्यांकमा उल्लेख छ।

त्यस्तै, टायलबाट हुने राजस्व १ करोड ९१ लाख ५५ हजार रुपैयाँबाट घटेर ५७ लाख ९२ हजार रुपैयाँमा झरेको छ। यसमा ६९.७६ प्रतिशत कमी आएको छ।

केही वस्तुबाट राजस्व भने बढ्यो

नेपालगन्ज भन्सारको तथ्यांकमा केही वस्तुबाट हुने राजस्वमा भने उल्लेख्य वृद्धि भएको देखिन्छ।

सुपारीबाट गत वर्ष श्रावणसम्म कुनै राजस्व संकलन नभएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा २२ करोड ८१ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

त्यस्तै, एलपी ग्यासबाट संकलित राजस्व ८ करोड २९ लाख २ हजार रुपैयाँबाट बढेर १५ करोड ५१ लाख ७ हजार रुपैयाँ पुगेको छ। यसमा ८७.१० प्रतिशत वृद्धि भएको छ।

डिजेलबाट संकलित राजस्व ३२ करोड ३२ लाख २७ हजार रुपैयाँबाट बढेर ३६ करोड ७२ लाख ८६ हजार रुपैयाँ पुगेको छ। यसमा १३.६३ प्रतिशत वृद्धि भएको छ।

त्यसैगरी, तयारी कपडा, तोरी/रायो/सर्स्यू तेल, प्लास्टिकका टेबल तथा फ्लोर कभरिङ, साबुनबाहेकका अन्य सफा गर्ने सामग्रीलगायत वस्तुबाट संकलित राजस्व पनि बढेको तथ्यांकले देखाएको छ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार यस नाकाबाट हुने कुल राजस्वमा पेट्रोलियम पदार्थको योगदान महत्वपूर्ण रहेको छ। कार्यालयको परिचयमा पेट्रोलियम पदार्थबाट मात्रै कुल राजस्वको करिब ४४ प्रतिशत संकलन हुने उल्लेख छ।

प्रकाशित मितिः     ७ आश्विन २०८३, बुधबार १७:४२  |