काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज ८ गतेदेखि नयाँ डिजाइन र थप सुरक्षा विशेषतासहित रु. १ हजार दरको बैंकनोट (सिरिज २०२५) प्रचलनमा ल्याएको छ।
राष्ट्र बैंकका अनुसार नयाँ नोटको साविककै आकार कायम राखिएको छ। नोटको मुख्य रङ वैजनी घेराभित्र फिक्का हरियो रहेको छ।
नयाँ नोटको अग्रभागमा सगरमाथा हिमालको चित्र राखिएको छ भने लालीगुराँसको पानीछापसहित ‘१०००’ अंक राखिएको छ। दृष्टिविहीन व्यक्तिले नोट पहिचान गर्न सक्ने गरी रोमन अक्षर ‘M’ तथा १०/१० वटा तेर्सा रेखा राखिएका छन्।
नोटमा ३.५ मिलिमिटर चौडाइको डाइनामिक सुरक्षा धागो राखिएको छ। उक्त धागोमा ‘NRB’ र ‘1000’ अंकित छन्। धागो सोझै हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ। त्यस्तै, अण्डाकार आकृतिभित्रको चित्र सोझै हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने सुरक्षा विशेषता पनि राखिएको छ।
नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ भने तल्लो भागमा ‘वि.सं. २०८२’ अंकित गरिएको छ।

नोटको पछाडिको भागमा चितवन राष्ट्रिय निकुञ्जस्थित सरकारी हात्तीसारमा जन्मिएका दुर्लभ जुम्ल्याहा हात्ती ‘राम र लक्ष्मण’ को चित्र समावेश गरिएको छ। त्यस्तै, नेपालका सात प्रदेशलाई संकेत गर्ने सातवटा लालीगुराँसका चित्र तथा हनुमानढोकास्थित लोहँचोकको ऐतिहासिक काठको थामको आकृति पनि राखिएको छ।
नोटमा अंग्रेजी भाषामा ‘RUPEES ONE THOUSAND’ र ‘NEPAL RASTRA BANK’ लेखिएको छ।
राष्ट्र बैंकका अनुसार साविकको सिरिज २०१९ को रु. १ हजारको नोटमा संकेत नम्बर त/५० ०००००१ देखि त/९१ ४४०००० सम्म जारी गरिएको थियो। नयाँ सिरिज २०२५ अन्तर्गत भने त/९२ ०००००१ देखि त/९२ ९९९९९९ सम्मका नोट जारी गरिनेछ।


