अधुरो काेहलपुर रंगशालाको नाम परिवर्तनले विवाद


कोहलपुर । बाँकेको कोहलपुरमा प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला दुई दशकदेखि निर्माणाधीन अवस्थामै छ । बजेट अभाव र जग्गा अतिक्रमणका कारण लामो समयदेखि अलपत्र रंगशालाको निर्माण सम्पन्न गर्नुपर्ने माग भइरहेका बेला यसको नाम परिवर्तनको विषयले भने नयाँ विवाद निम्त्याएको छ ।

वि.सं. २०६१ सालदेखि निर्माण प्रक्रिया अघि बढाइएको भनिएको रंगशालाले दुई दशक बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन । पछिल्लो समय कोहलपुर नगरपालिकाले रंगशाला क्षेत्रको जग्गा अतिक्रमण हटाए पनि निर्माणका लागि आवश्यक बजेटको समस्या कायमै छ ।

रंगशाला निर्माण र खेलकुद गतिविधिमा लामो समयदेखि सक्रिय नेपाल पत्रकार महासंघ बाँकेका पूर्वउपाध्यक्ष संगिन शर्माले सरकारको प्राथमिकता नाम परिवर्तनभन्दा रंगशाला निर्माण सम्पन्न गर्नेतर्फ हुनुपर्ने बताए ।

‘जेनजी शहीद सुलभ श्रेष्ठको नाममा रंगशालाको नाम परिवर्तन गर्ने निर्णय भएको भन्ने सुनेका छौं । शहीदप्रति सम्मान छ, यसमा कुनै विमति छैन,’ शर्माले भने, ‘तर वर्षौंदेखि कोहलपुरको आत्मा र पहिचानसँग जोडिएको रंगशालाको नाम परिवर्तनको कुरा आउँदा स्थानीयको चित्त दुखेको छ ।’

नाम परिवर्तनप्रति एलबी क्षेत्रीको ध्यानाकर्षण

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एलबी क्षेत्रीले पनि रंगशालाको नाम परिवर्तनबारे ध्यानाकर्षण गराएका छन् ।

जेनजी शहीदहरूप्रति सम्मान व्यक्त गर्दै उनले सरकारले खेल पूर्वाधार विकासका लागि अघि सारेका योजनाको स्वागत गरेका छन् । तर संघीय पूर्वाधार विकासमन्त्रीको फेसबुक पोस्टपछि कोहलपुर क्रिकेट रंगशालाको नाम परिवर्तन गरिएको हो कि भन्ने आशंका उत्पन्न भएको उनले बताएका छन् ।

‘यस रंगशालाको नाम कोहलपुरको पहिचान, अपनत्व र लामो संघर्षसँग जोडिएको छ,’ क्षेत्रीले भनेका छन्, ‘नाम परिवर्तनअघि स्थानीय सरकारको निर्णय, सहमति वा सिफारिस तथा स्थानीय जनभावना बुझ्न सर्वपक्षीय छलफल गरिएको हो कि होइन, स्पष्ट हुन आवश्यक छ।’

क्षेत्रीका अनुसार विगतमा पनि विभिन्न व्यक्तित्वका नाममा रंगशालाको नाम परिवर्तन गर्ने प्रस्ताव आएका थिए । तर कोहलपुरवासीले राजनीतिक विचारभन्दा माथि उठेर त्यसप्रति असहमति जनाउँदै आएको उनको भनाइ छ ।

ममता थापाको व्यंग्यात्मक टिप्पणी

महिला राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान ममता थापाले पनि सामाजिक सञ्जालमार्फत नाम परिवर्तनको विषयमा आफ्नो धारणा सार्वजनिक गरेकी छन् ।

उनले ‘इतिहास कहिल्यै मेटिँदैन’ भन्दै कोहलपुर क्रिकेट रंगशालालाई स्थानीयको गौरव र इतिहाससँग जोडिएको विषयका रूपमा उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘स्मार्ट हुनु एउटा कुरा हो, ओभर स्मार्ट हुनु फेरि अर्कै कुरा हो । हाम्रो गौरव, हाम्रो इतिहास—कोहलपुर क्रिकेट रंगशाला।’

शहीद सुलभ पनि क्रिकेटसँग जोडिएका थिए

गत भदौ २३ गते काठमाडौंमा भएको प्रदर्शनका क्रममा नेपालगन्ज–१ का सुलभ श्रेष्ठको मृत्यु भएको थियो । श्रेष्ठ क्रिकेटसँग पनि जोडिएका थिए ।

उनको निधनपछि नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल खेलकुद पत्रकार मञ्चले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् परिसरमा संयुक्त रूपमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका थिए ।

श्रेष्ठ क्रिकेटसँग जोडिएका व्यक्ति भएकै कारण उनको स्मृतिमा कोहलपुर क्रिकेट रंगशालाको नाम परिवर्तन गर्ने योजना अघि सारिएको हुनसक्ने स्थानीयस्तरमा चर्चा छ । तर नाम परिवर्तनको निर्णय कुन प्रक्रिया र आधारमा गरिएको हो भन्ने विषयमा भने औपचारिक रूपमा स्पष्टता आएको छैन ।

‘पहिले रंगशाला बनोस्’

कोहलपुरका स्थानीय तथा क्रिकेटसँग सम्बन्धित व्यक्तिहरूले शहीद श्रेष्ठप्रति सम्मान रहेको बताउँदै उनको स्मृतिमा अन्य संरचना वा कार्यक्रममार्फत सम्मान गर्न सकिने विकल्प अघि सारेका छन् ।

उनीहरूको मुख्य माग भने वर्षौंदेखि अलपत्र रंगशाला निर्माण सम्पन्न गर्नुपर्ने छ । स्थानीयका अनुसार रंगशालाको नामसँग कोहलपुरको पहिचान, इतिहास, संघर्ष र अपनत्व जोडिएको छ ।

त्यसैले नाम परिवर्तनको विषयमा स्थानीय सरकार, खेलकुदसँग सम्बन्धित निकाय र सरोकारवालाबीच व्यापक छलफल गरी निष्कर्षमा पुग्नुपर्ने उनीहरूको माग छ ।

स्थानीयको भनाइमा—नामको विवादभन्दा पहिले कोहलपुरले वर्षौंदेखि पर्खिरहेको क्रिकेट रंगशाला पूरा हुनुपर्छ ।

प्रकाशित मितिः     १० आश्विन २०८३, शनिबार १०:३५  |