
बेटिङ एप र डिजिटल ठगी प्रविधिको समस्याभन्दा पहिले मनको समस्या हो।राज्यले ढोका थुन्न सक्छ, आन्तरिक चेतना र विवेकको ढोका भने व्यक्ति आफैँले थुन्नुपर्छ।
पासा बदलियो, खेल उही रह्यो
महाभारतको द्यूतसभामा पासा हात्तीदाँतका थिए, आज ती मोबाइलको पर्दामा घुम्छन्।युधिष्ठिरले राज्य र भाइहरू दाउमा राखेका थिए, आजका युवा बुबाको पेन्सन, आमाको गहना र विदेशमा पसिना बगाएर दाइले पठाएको रेमिट्यान्स दाउमा राखिरहेका छन्। पासा बदलिएको छ, तर जुवाको मानवीय मनोविज्ञान हजारौँ वर्ष पुरानै छ– लोभले अन्धो र भ्रममा रुमलिएको। हजारौँ वर्षअघि ऋग्वेदको अक्षसूक्तमा पश्चात्तापी जुवाडेले गरेको आर्तनाद आजको बेटिङ एपका लागि लेखिएको चेतावनीजस्तो लाग्छ, जहाँ भनिएको छ– ‘पासा नखेल, खेती वा परिश्रम गर, त्यसैमा रमाऊ’।
षड्रिपुको संगठित व्यापारिक प्रणाली
हिन्दु दर्शनले मानिसको पतनको कारण बाहिर होइन, भित्रै खोज्छ। काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य अर्थात् ‘षड्रिपु’ नै यसका जरा हुन्। आजका बेटिङ एप र डिजिटल ठगीका सञ्जाल यिनै छ शत्रुको सूक्ष्म अध्ययन गरेर बनाइएका संगठित वित्तीय मेसिन हुन्। ‘सय लगाऊ, हजार जित’ भन्ने विज्ञापनले सिधै लोभमा प्रहार गर्छ। पहिलो जितपछि मस्तिष्कमा उठ्ने ‘डोपामिन’को लहरले फेरि खेल्ने अतृप्त कामना जगाउँछ। हार्दा गुमेको रकम फिर्ता ल्याउने क्रोध जाग्छ, जसलाई मनोविज्ञानमा ‘चेजिङ लस’ भनिन्छ। श्रीमद्भगवद्गीताले भनेझैं, विषयको निरन्तर चिन्तनले मानिसमा आसक्ति जगाउँछ र आसक्तिले बुद्धिनाश गराई अन्ततः सर्वनाश निम्त्याउँछ। मोबाइल स्क्रिनमा तारन्तार आइरहने ‘तपाईंलाई बोनस पर्खिरहेको छ’ भन्ने नोटिफिकेसन नै आजको संहारक ‘विषय-ध्यान’ हो ।
बेरोजगारीको खाडल र अल्पकालीन अवधिमा धनी हुने सपना
षड्रिपु शून्यमा जाग्दैनन्; तिनलाई मलजल गर्ने आर्थिक वा सामाजिक पृष्ठभूमि हुन्छ। नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८० अनुसार मुलुकको बेरोजगारी दर १२.६ प्रतिशत छ। डिग्री बोकेर पनि काम नपाएको र आर्थिक सुस्तीले थिचिएको युवाका लागि बेटिङ एप मनोरञ्जन होइन, ‘वैकल्पिक आम्दानी’को झुटो ढोका बनेर आउँछ,सामाजिक सञ्जालका विभिन्न भिडियोमा प्रस्तुत ‘२२ वर्षमै करोडपति’का कथाले परिश्रमलाई मूर्खता र छोटो बाटोलाई चतुर्याइँ ठान्ने घातक मनोविज्ञान निर्माण गरिरहेका छन्। गीताले ‘कर्ममा मात्र तिम्रो अधिकार छ, फलमा होइन’ भनी दिएको ओखतीको ठीक उल्टो सिकाउँछ बेटिङले। यहाँ कर्म शून्य छ, तर फल असीमित देखाइन्छ। यसैले यो आर्थिक मात्र होइन, गम्भीर दार्शनिक पतन पनि हो।
प्रयोगकर्ता र सञ्चालक दुवै संकटमा
खेल्ने युवा सुरुमा मनोरञ्जनका लागि खेल्छ, पछि हारेको फिर्ता पाउन, र अन्त्यमा गम्भीर मानसिक परनिर्भरता वा लतका कारण विश्व स्वास्थ्य सङ्गठनका अनुसार जुवाले मानसिक रोग र आत्महत्याको जोखिम बढाउँछ, र गरिबी, पारिवारिक हिंसा तथा सम्बन्ध विच्छेदसम्म निम्त्याउँछ।
पर्दा पछाडिको संसार पनि उत्तिकै गैरकानुनी र जोखिमपूर्ण छ।कोड लेख्ने डेभलपर, भुक्तानी मिलाउने एजेन्ट, खाता भाडामा दिने विद्यार्थी र कमिसनमा लिङ्क बाँड्ने प्रमोटर आफूलाई ‘केवल काम गरेको’ ठान्छन् । असोज ६ गते मंगलबार राति बाँकेको कोहलपुरस्थित एक होटलमा छापा मार्दा प्रहरीले अनलाइन सट्टेबाजीमा संलग्न ४० भारतीयसहित ४८ जनालाई पक्राउ गर्यो र घटनास्थलबाट २८ ल्यापटप र दर्जनौँ मोबाइल फोन बरामद भएका छन्।
प्रतिबन्धको लामो समयसम्म व्यापारिक प्रतिष्ठानहरूबाट यति ठूलो सञ्जाल चलिरहनुले दुई कठोर सत्य देखाउँछ: यो अवैध कारोबार वा गतिविधि वेबसाइट ब्लक गरेर मात्र रोकिँदैन, र ल्यापटपका पर्दामा रातभर बसेका ती युवा आफैँ पनि कसैको निहित वित्तीय स्वार्थका औजार हुन्। आज तिनको भविष्य कानुनी नियन्त्रण (हिरासत) मा पुगेको छ । ईशावास्योपनिषद्को पहिलो मन्त्रले यिनैलाई सम्बोधन गरेजस्तो लाग्छ:
ईशा वास्यमिदं सर्वं यत्किञ्च जगत्यां जगत्।
तेन त्यक्तेन भुञ्जीथा मा गृधः कस्यस्विद्धनम्॥ (ईशावास्योपनिषद्, मन्त्र १)
त्यागपूर्वक भोग गर, कसैको धनको लोभ नगर बेटिङको अर्थशास्त्र ठीक उल्टो आधारमा उभिएकोछ:विश्व स्वास्थ्य सङ्गठनका अनुसार जुवा उद्योगको करिब ६० प्रतिशत आम्दानी खेल्नेहरूको हारबाट आउँछ।
‘अवश्यमेव भोक्तव्यं कृतं कर्म शुभाशुभम्’ भन्ने कर्म सिद्धान्त प्रतिशोधको धम्की होइन, मनोवैज्ञानिक यथार्थ हो। अरूको घर उजाडेर आर्थिक लाभ त होला, तर मानसिक शान्ति र सामाजिक साख समाप्त हुन्छ। गीताले काम, क्रोध र लोभलाई नरकका तीन ढोका भनेको छ। खेल्ने र खेलाउने दुवै एउटै ढोकाबाट पस्छन्; एउटा पीडितका रूपमा, अर्को अपराधीका रूपमा।
वालेटको इन्धन, हुन्डीको निकास

यस अवैध सञ्जाललाई चलायमान बनाउने माध्यम हो डिजिटल वालेट र मोबाइल बैंकिङ। जुन सेवाले दैनिक साना खुद्रा भुक्तानीदेखि सार्वजनिक सेवासम्म भुक्तानी सहज बनाए, तिनैलाई सञ्जालले अवैध रकम ओसारपसार गर्ने माध्यमका रूपमा दुरुपयोग गरिरहेको छ। एउटै घटनामा प्रहरीले एक व्यक्तिले अरूका नाममा रहेका मोबाइल नम्बरबाट ११ कनेक्ट आईपीएस र १५ इसेवा वालेटसँग जोडिएका ५६ बैंक खाता चलाएर करिब दुई अर्ब एक करोड रुपैयाँको कारोबार गरेको फेला पार्यो।
‘अरूका नाममा’ भन्ने शब्दमै समस्याको जरा छ। विद्यार्थी र बेरोजगार युवा थोरै कमिसनको लोभमा आफ्नो खाता र सिमकार्ड भाडामा दिन्छन्; कानुनी कारबाहीको मुख्य भागीदार उनै बन्छन्। एजेन्ट सञ्जाल र वालेट खाता खोल्दा ग्राहक पहिचान (केवाईसी) को प्रमाणीकरणमा रहेको फितलोपनले यो छिद्र लामो समय खुला राख्यो। नेपाल राष्ट्र बैंकले अब राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखसँग भिडाएर मात्र वालेट खाता खोल्न निर्देशन दिएको छ; ढिलो भए पनि यो सही दिशाको कदम हो।
वालेटमा जम्मा भएको रकम देशभित्र बस्दैन। सर्लाहीको मलंगवाको एउटा रिचार्ज पसलबाटै करिब दुई वर्षमा ५७ करोड रुपैयाँ गैरबैंकिङ च्यानलबाट बाहिरिएको प्रहरीले खुलाएको थियो। हुन्डी र क्रिप्टोका अँध्यारा गल्लीबाट यो पैसा सिमानापारिका सर्भर सञ्चालकसम्म पुग्छ। खाडीको घाममा कमाएको रेमिट्यान्स औपचारिक अर्थतन्त्रमा भित्रिनुअघि नै मोडिन्छ, र विदेशी मुद्रा सञ्चितिमा थपिनुपर्ने डलर हुन्डीको जालमा अड्किन्छ। यही गम्भीरता बुझेर सरकारले सट्टेबाजी, हुन्डी र भर्चुअल मुद्रालाई सम्पत्ति शुद्धीकरणको कसुरमा समेटिसकेको छ बेटिङ अब सानो जुवाको मामिला होइन; यो राष्ट्रिय अर्थतन्त्रमाथिको रक्तस्राव हो।
बिक्रीमा विश्वसनीयता, घरमा धृतराष्ट्र
युवाहरू चर्चित कलाकार वा इन्फ्लुएन्सरका विज्ञापनलाई व्यवसाय होइन, हितैषी सल्लाह ठान्छन्। बेटिङ कम्पनीहरूले यही अन्धविश्वासको व्यापार गरिरहेका छन्। महाभारतका धृतराष्ट्र दृष्टिविहीन त थिए, तर उनको वास्तविक अन्धोपन पुत्रमोह थियो। विदुरले पटक-पटक चेताउँदा पनि उनले सुनेनन्। विदुर नीतिले स्पष्ट भन्छ– मनोरञ्जनका लागि समेत बुद्धिमान्ले कहिल्यै जुवा खेल्नु हुँदैन। आजका धेरै अभिभावक आधुनिक धृतराष्ट्र बनिरहेका छन्। सन्तानले अचानक महँगा ग्याजेट किन्दा उनीहरू स्रोत सोध्दैनन्। रातभर मोबाइलमा भुल्दा ‘पढ्दै होला’ भनेर भ्रममै रमाउँछन्। ऋण थाहा पाए पनि समाजको डरले गुपचुप तिरिदिन्छन्। यो मौनता माया होइन, मोह हो। जुवाको लतबाट ग्रस्त एक व्यक्तिले औसतमा परिवारका अन्य ६ जनाको जीवन बर्बाद बनाइरहेको हुन्छ।
तथ्याङ्कको ऐना र राज्यको प्रतिकार
नेपाल प्रहरीको साइबर ब्यूरोमा आर्थिक वर्ष २०८२/८३ मा २०,५२६ उजुरी परे, जुन २०७८/७९ मा ४,६८६ मात्र थिए। तर ती उजुरीमध्ये १६१ मुद्दा मात्र दर्ता भए र १५५ जना पक्राउ परे छिमेकी भारतमा सन् २०२५ मा मात्र २४ लाखभन्दा बढी साइबर ठगीका उजुरी परे । विश्वव्यापी रूपमा १.२ प्रतिशत वयस्कमा जुवा विकार छ, र यो उद्योगको विस्तार नेपालजस्ता देशमा स्मार्टफोनमार्फत सबैभन्दा छिटो भइरहेको छ।
यही पृष्ठभूमिमा मन्त्रिपरिषद्को २०८२ चैत १३ को बैठकले अवैध अनलाइन बेटिङ बन्द गर्ने निर्णय गर्यो, र दूरसञ्चार प्राधिकरणलाई २४ घण्टाभित्र एप र वेबसाइट बन्द गर्न निर्देशन दिइयो। साउनसम्म प्राधिकरणले दुई लाखभन्दा बढी वेबसाइट तथा एप बन्द गरिसकेको छ। कानुन पनि स्पष्ट छ: मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ ले सट्टेबाजी गर्न वा गराउन निषेध गरेको छ, र विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ ले जुवा प्रवर्द्धन गर्ने विज्ञापन निषेध गरेको छ । कानुनका नजरमा खेल्ने, खेलाउने, एप बनाउने र प्रचार गर्ने सबै एउटै शृङ्खलामा उभिएका छन्।
छायाँ बजार र कमजोर दायरा
तर कागजको निर्णय र पर्दाको यथार्थबीच ठूलो खाडल छ। एउटा डोमेन बन्द हुँदा त्यही प्लेटफर्म अक्षर फेरिएको नयाँ ‘मिरर’ डोमेनमा घण्टाभित्रै ब्युँतिन्छ, र भीपीएन खोलेर प्रयोगकर्ता सहजै प्रतिबन्ध नाघ्छन्। यसरी एउटा छायाँ बजार फस्टाइरहेको छ, जहाँ राज्यको निगरानी पुग्दैन तर युवाको पैसा पुग्छ।
सरकारले रक्सी रोक्न सक्छ, तर नशा रोक्न सक्दैन; बेटिङ एप पनि यस्तै हो।एउटा एप बन्द हुन्छ, अर्को जन्मिन्छ, किनकि यसको वास्तविक बजार मोबाइलमा होइनमनमा छ प्रविधिलाई परम्परागत प्रशासनिक निर्देशन वा कानुनी प्रतिबन्धले मात्र नियन्त्रण गर्न सकिँदैन । कानुनी अनुसन्धानको दायरा पनि कमजोर छ २०,५२६ उजुरीमध्ये १६१ मुद्दा मात्र दर्ता हुनुको कारण इच्छाशक्तिको कमी मात्र होइन, संरचनागत कमजोरी हो: दक्ष प्राविधिक जनशक्तिको अभाव, इन्क्रिप्टेड उपकरण खोल्ने र क्रिप्टो कारोबार पछ्याउने उन्नत फरेन्सिक औजारको कमी। सबैभन्दा ठूलो बाधा सिमानापार छ। बेटिङका सर्भर र मुख्य सञ्चालक प्रायः विदेशमा हुन्छन्, तर पारस्परिक कानुनी सहायता ऐन, २०७० अनुसार विदेशसँग कानुनी सहायता द्विपक्षीय सन्धि वा पारस्परिकताको प्रतिबद्धतामा मात्र सम्भव हुन्छ। यस्तो सहकार्य नहुँदा प्रहरी होटलका एजेन्टसम्म पुग्छ, सर्भरसम्म पुग्दैन। सतही कारबाही मात्र हुन्छ, मूल नाइकेसम्म पुग्न सकिँदैन ।
अपराध मात्र होइन, रोग पनि
हामीले बेटिङलाई अपराधको चस्माबाट मात्र हेर्दै आयौँ।तर विश्व स्वास्थ्य सङ्गठनको अन्तर्राष्ट्रिय रोग वर्गीकरण (आईसीडी–११) ले जुवा विकारलाई मानसिक स्वास्थ्य समस्याका रूपमा सूचीकृत गरेको छ। ‘लुडोमेनिया’ भनिने यो अवस्था लागूपदार्थको लतजस्तै मस्तिष्कको पुरस्कार प्रणालीलाई कब्जा गर्छ।
विडम्बना, नेपालमा लागूपदार्थ र मदिराका लागि थुप्रै पुनर्स्थापना केन्द्र छन्, तर जुवाको लतका लागि छुट्टै उपचार सेवा, हेल्पलाइन वा प्रशिक्षित परामर्शदाता विरलै भेटिन्छन्। सहयोग खोज्ने युवाले कानुनी निकाय वा आर्थिक भार बेहोर्ने परिवार मात्र भेट्छ, र खाडलमा सामाजिक प्रतिष्ठा गुम्ने डरले थप मानसिक संकटमा धकेलिन्छ। सरकारी अस्पतालका मनोचिकित्सा विभागमा जुवा लत उपचार सेवा, निःशुल्क गोप्य हेल्पलाइन र परिवारका लागि परामर्श अब विलासिता होइन, अनिवार्यता हो।
पर्दाभन्दा ठूलो विवेक
स्मार्टफोन आफैँमा न देवता हो, न दानव त्यही स्क्रिनबाट एउटा युवा अनलाइन कोर्स गरेर संसारसँग प्रतिस्पर्धा गर्छ, अर्को चाहिँ बेटिङ एपमा भविष्य दाउमा राख्छ। गीताले भनेझैं, मानिस आफैँ आफ्नो मित्र हो र आफैँ आफ्नो शत्रु पनि। आजको सन्दर्भमा आत्मसंयम र स्क्रिनसँगको सन्तुलित सम्बन्ध नै यसको अचुक औषधि हो। व्यक्ति मात्र होइन, अब राज्यले पनि साइबर ब्यूरोको फरेन्सिक क्षमता बढाउनुपर्छ र डिजिटल वित्तीय साक्षरतालाई पाठ्यक्रममै समेट्नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, परिवारले ‘धृतराष्ट्र सिन्ड्रोम’ त्यागेर विदुर जस्तै कठोर तर हितैषी बन्न सक्नुपर्छ। ऋग्वेदको त्यो पश्चात्तापी जुवाडेले अन्त्यमा पासा फ्याँकेर खेततर्फ फर्कने निर्णय गरे झैं, हाम्रा युवालाई पनि श्रम र उत्पादनको मैदान आवश्यक छ। छिटो धनी बन्ने भ्रमको बाली ढिलो आउला, तर त्यो कसैको आँसुले सिञ्चित हुँदैन। वास्तविक सन्तोष र सुख त्यहीँ छ।
दीक्षित चार्टर्ड एकाउन्टेन्ट हुन्।

