राजनीतिक खिचातानीमा दशकदेखि अल्झिएको सपना


नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका–२ र ३ मा निर्माण गर्ने घोषणा गरिएको नौवस्ता औद्योगिक क्षेत्र एक दशक पुग्दासमेत पूर्णरूपमा अघि बढ्न सकेको छैन। औद्योगिक क्षेत्र निर्माणका लागि सुरुमा प्रस्ताव गरिएको करिब दुई हजार बिघा जमिन क्रमशः खुम्चिँदै अहिले करिब २५२ बिघामा सीमित भएको छ। त्यही जमिनको व्यवस्थापन र संरक्षणमा समेत विवाद तथा अवरोध देखिँदा आयोजना अन्योलमा परेको छ।

नौवस्ता औद्योगिक क्षेत्र निर्माणमा ढिलाइ हुनुमा राजनीतिक दलहरूको ‘दोहोरो राजनीति’ र भोटकेन्द्रित व्यवहार मुख्य कारण बनेको आरोप उद्योगी–व्यवसायीले लगाएका छन्। औद्योगिक क्षेत्र निर्माणको निर्णय भएको वर्षौं बितिसक्दा पनि आयोजना अघि बढाउन आवश्यक राजनीतिक तथा प्रशासनिक पहल प्रभावकारी हुन नसकेको उनीहरूको गुनासो छ।

तत्कालीन उद्योग तथा वाणिज्यमन्त्री सोमप्रसाद पाण्डेको पहलमा नौवस्ता औद्योगिक क्षेत्र निर्माणको योजना अघि बढाइएको थियो। त्यसबेला बाँकेको औद्योगिक विकासको आधार बन्ने अपेक्षा गरिएको यो आयोजना अहिले भने लामो समयदेखि अल्झिएको छ।

तत्कालीन नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका एक उद्योगीका अनुसार आयोजनालाई अघि बढाउन पछिल्लो एक दशकमा मात्रै झण्डै ५० पटक बैठक बसे पनि अपेक्षित परिणाम आउन सकेको छैन।

उनले भने, “दुई हजार बिघाबाट सुरु भएको कुरा आज २५२ बिघामा खुम्चिएको छ। त्यसमा पनि अहिले जग्गा कब्जा गर्ने काम भइरहेको छ। योजना अगाडि बढाउने विषयमा कसैको चासो देखिँदैन। हामीले माल पाएर चाल पाउन सकेनौं।”

उनका अनुसार तत्कालीन समयमा नौवस्ता औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न भन्दै करिब ३०० उद्योगीले आवेदन दिएका थिए। तर औद्योगिक क्षेत्र निर्माणमा भएको ढिलाइसँगै उनीहरूको उद्योग स्थापना गर्ने योजना पनि अन्योलमा परेको छ।

भोटको राजनीतिले उद्योगको सपना रोकियो

नौवस्ता औद्योगिक क्षेत्र निर्माणमा राजनीतिक दलहरूले उद्योग र रोजगारीको दीर्घकालीन आवश्यकता भन्दा तत्कालीन राजनीतिक लाभलाई प्राथमिकता दिएको आरोप छ।

औद्योगिक क्षेत्र निर्माणका लागि जग्गा छुट्याउने विषयदेखि स्थानीयस्तरमा देखिएका विवादसम्म राजनीतिक प्रभाव जोडिँदै आएको उद्योगीहरूको भनाइ छ। चुनावका बेला औद्योगिक क्षेत्र निर्माणलाई मुद्दा बनाउने, तर चुनावपछि त्यसलाई प्राथमिकतामा नराख्ने प्रवृत्तिले आयोजना थप पछाडि धकेलिएको उनीहरूको आरोप छ।

औद्योगिक क्षेत्रको शिलान्यास भएको समेत वर्षौं बितिसकेको छ। तर आवश्यक पूर्वाधार निर्माण, जग्गा व्यवस्थापन र उद्योग स्थापना गर्ने वातावरण निर्माण हुन नसक्दा शिलान्यासमै सीमित हुने खतरा बढेको छ।

उद्योग आउँथे, रोजगारी सिर्जना हुन्थ्यो

नौवस्ता औद्योगिक क्षेत्र सञ्चालनमा आएको भए बाँकेमा नयाँ उद्योग स्थापना, स्थानीय उत्पादनको बजारीकरण र ठूलो संख्यामा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको थियो।

विशेषगरी नेपालगन्ज–कोहलपुर औद्योगिक करिडोरसँग जोडेर नौवस्तालाई व्यवस्थित औद्योगिक केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना थियो। भारतसँगको सीमावर्ती व्यापार, नेपालगन्जको बजार, पूर्व–पश्चिम राजमार्गसँगको पहुँच र क्षेत्रीय आर्थिक गतिविधिका कारण पनि नौवस्तालाई पश्चिम नेपालको महत्वपूर्ण औद्योगिक केन्द्रका रूपमा विकास गर्न सकिने व्यवसायीहरूको विश्वास थियो।

तर दशक बित्दा पनि आयोजना अघि नबढ्दा लगानीकर्ताको उत्साह घट्दै गएको छ। उद्योग स्थापना गर्न इच्छुक व्यवसायी अन्यत्र लगानी गर्न बाध्य हुन सक्ने अवस्था बनेको छ।

‘नेताभन्दा बिचौलिया बलिया भए’

आयोजना निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि व्यक्त गर्दै ती उद्योगीले नेपालमा विकास आयोजनाहरू राजनीतिक स्वार्थ र बिचौलियाको प्रभावमा पर्ने गरेको टिप्पणी गरे।

उनले भने, “नेता भन्दा बिचौलिया बलिया भएको देशमा यस्तै विडम्बना हुन्छ। राष्ट्रिय गौरवको महत्वपूर्ण योजना सफल हुन सकेन भने बाँके जिल्लाका लागि दुर्भाग्य हुनेछ।”

उनका अनुसार नौवस्ता औद्योगिक क्षेत्र कुनै व्यक्ति वा समूहको मात्र योजना नभई बाँकेको समग्र आर्थिक विकाससँग जोडिएको आयोजना हो। त्यसैले यसको निर्माणमा हुने ढिलाइले उद्योगी–व्यवसायी मात्र होइन, रोजगारी खोजिरहेका युवा र समग्र जिल्लाको अर्थतन्त्रलाई असर गर्नेछ।

‘आफ्नै प्रयासको योजना अलपत्र पर्दा दुःख लागेको छ’

नौवस्ता औद्योगिक क्षेत्र निर्माणको प्रारम्भिक चरणमा आफूले पनि नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षका रूपमा निरन्तर पहल गरेको स्मरण गर्दै उनले अहिले पनि आयोजना अलपत्र अवस्थामा रहँदा दुःख लागेको बताए।

“त्यतिबेला नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षको नाताले मेरो पनि अथक प्रयास थियो। उद्योगीहरूले उद्योग खोल्न पाउँ भनेर आवेदन दिएका थिए। आजसम्म पनि आयोजना अघि बढ्न नसक्दा दुःख लागेको छ,” उनले भने।

नौवस्ता औद्योगिक क्षेत्रको जग्गा संरक्षणदेखि पूर्वाधार निर्माणसम्मका विषय तत्काल टुंग्याएर आयोजना अघि बढाउनुपर्ने उद्योगी–व्यवसायीको माग छ। दशक बितिसक्दा पनि योजना कार्यान्वयन हुन नसक्नुले बाँकेको औद्योगिक विकासको गति र सरकारी प्रतिबद्धतामाथि नै प्रश्न उठाएको छ।

अब पनि आयोजना अघि नबढाउने हो भने नौवस्ता औद्योगिक क्षेत्र बाँकेको औद्योगिक सम्भावनाको प्रतीकभन्दा राजनीतिक प्रतिबद्धता र सरकारी ढिलासुस्तीको अर्को उदाहरण बन्ने जोखिममा छ।

प्रकाशित मितिः     १८ आश्विन २०८३, आईतवार ०८:२३  |