
नेपालगन्ज । करिब दुई दशकदेखि एउटै माटोमा पसिना बगाउँदै कृषि कर्ममा लागेका एक किसान अहिले आफ्नै फार्म बिक्रीमा राख्न बाध्य भएका छन्। कृषि व्यवसाय विस्तार गर्ने सपना बोकेर वर्षौं लगानी र श्रम गरेका उनले बाँकी ऋण तिर्न फार्म तथा सम्पत्ति बिक्री गर्नुपर्ने अवस्था आएको सुर्खेत लेकबेसी-१० का कृषक डिलाराम आचार्यले बताए ।
‘करिब दुई दशकदेखि एउटै माटोमा पसिना बगाउँदै आएको मान्छेले एक दिन त्यही माटो बिक्रीमा राख्नुपर्दा मनमा के बित्छ होला ?’ उनी प्रश्न गर्छन्।
उनका लागि फार्म बिक्री गर्नु सामान्य व्यावसायिक निर्णय होइन। यसमा दुई दशकको श्रम, जवानी, सपना र बुबाआमाको जीवनभरको कमाइ जोडिएको छ। त्यसैले उनी आफैंलाई प्रश्न गरिरहेका छन्—‘मैले साँच्चिकै कृषि छोड्न खोजेको हुँ कि परिस्थितिले मलाई कृषिबाट बाहिर धकेलिरहेको छ ?’
उनका अनुसार मैनडाँडा कृषि उत्पादनका लागि सम्भावना भएको क्षेत्र हो। प्राकृतिक तथा सुधारिएको घाँस विस्तार गर्न सकिने जमिन, पानी र राम्रो हावापानी भएकाले व्यवस्थित गर्न सके ४० देखि ५० वटासम्म पशु पाल्न सकिने उनको विश्वास छ। मौरी तथा रैथाने कालिजको सम्भावनासँगै फलफूल, तरकारी, कुखुरा, माछा र जडीबुटीसहितको एकीकृत कृषि गर्न सकिने उनी बताउँछन्।
उनको सपना गाईभैंसी पालेर दूध बिक्री गर्नेमा मात्र सीमित थिएन। जमिन सम्याउने, झाडी हटाउने, पशु मल खेतमा प्रयोग गर्ने, नेपियर तथा सुधारिएको घाँस लगाउने, फलफूल–तरकारी उत्पादन गर्ने र फार्मसम्म ट्र्याक्टर पुग्ने बाटो बनाउने योजना थियो।
घाँसको केही हिस्सा ताजा प्रयोग गर्ने र बाँकीबाट साइलेज बनाउने, आफ्नै दाना उत्पादन गर्ने तथा घाँस काट्ने मेसिन प्रयोग गरेर कामदारमाथिको निर्भरता घटाउने उनको योजना थियो।
उनले यही ठाउँबाट दैनिक ४ देखि ५ सय लिटर दूध उत्पादन गर्ने र मासिक १५ देखि २० लाख रुपैयाँसम्म कारोबार गर्ने लक्ष्यसमेत बनाएका थिए।
तर योजना र सम्भावना हुँदाहुँदै कृषि व्यवसाय सञ्चालनमा व्यावहारिक कठिनाइ थपिँदै गएको उनको भनाइ छ।
‘सम्भावना हुनु र त्यसलाई उत्पादनमा बदल्न सक्नु एउटै कुरा रहेनछ,’ उनी भन्छन्।
उनका अनुसार कृषि व्यवसायका लागि जमिन मात्र पर्याप्त हुँदैन। घाँस काट्न मेसिन, मेसिन चलाउन भरपर्दो बिजुली, उत्पादन बजारसम्म पुर्याउन सडक, सिँचाइका लागि पानीको संरचना र कामदारको अभाव पूर्ति गर्न प्रविधि आवश्यक हुन्छ।
विकट क्षेत्रमा उत्पादन गर्दा सडक र ढुवानीको समस्या थपिने गरेको उनले बताए। दूध समयमै बजार पुर्याउनुपर्ने भए पनि कमजोर सडकका कारण समय र ढुवानी खर्च बढ्ने गरेको उनको अनुभव छ। कमजोर विद्युत् भोल्टेजका कारण चाफ कटरजस्ता मेसिन प्रभावकारी रूपमा सञ्चालन गर्न नसकिएको पनि उनले बताए।
वर्षाको पानी संकलन गरी सिँचाइ, घाँस उत्पादन र पशुपालनमा प्रयोग गर्ने संरचना निर्माणका लागि सहयोगको अपेक्षा गरे पनि आवश्यक सहयोग जुट्न नसकेको उनको गुनासो छ। उत्पादनमा आधारित प्रोत्साहनको अपेक्षासमेत पूरा नभएको उनी बताउँछन्।
‘कृषि गर्न नसकेको होइन, कृषि गर्न आवश्यक वातावरण बनाउन नसकिएको हो,’ उनी भन्छन्।

उनका अनुसार सरकारका तीनै तहका निकाय भए पनि कृषकका वास्तविक समस्या बुझेर दीर्घकालीन समाधान खोज्ने वातावरण पर्याप्त देखिएको छैन।
‘कृषकलाई भाषण होइन, समयमै मेसिन, बाटो, पानी, बिजुली र व्यवहारिक साथ चाहिन्छ,’ उनी भन्छन्।
कामदारको अभाव, दानाको बढ्दो खर्च, ढुवानी, विद्युत्, सडक तथा ऋणको ब्याजले फार्मलाई आर्थिक रूपमा दबाबमा पारेको उनको भनाइ छ। अहिले पनि लाखौं रुपैयाँ ऋण बाँकी रहेको र पशु बिक्रीबाट प्राप्त रकमले समेत सबै ऋण तिर्न नपुग्ने अवस्था रहेको उनले बताए।
‘फार्म बेचेर म धनी भएर निस्कन लागेको होइन। फार्म बेच्दा पनि ऋण बोकेरै निस्कनुपर्ने अवस्था छ,’ उनी भन्छन्।
फार्म बिक्रीपछि ऋण तिर्न भारतका सहर वा गाउँमा मजदुरी गर्नुपर्ने अवस्था आए त्यो आफ्नो रोजाइ नभई बाध्यता हुने उनले बताएका छन्।
फार्म बिक्रीमा राखेको जानकारी पाएपछि धेरैले ‘नछोड्नुस्’ भन्ने गरेको उनी बताउँछन्। तर उनको प्रश्न छ—‘कृषकले छोड्न नपरोस् भनेर उसले छोड्नुअघि कसले उसको हात समात्यो ?’
उनका लागि मैनडाँडा अझै पनि सम्भावनायुक्त ठाउँ हो। ‘मेरो लागि यही मैनडाँडा स्वर्ग हो,’ उनी भन्छन्।
आफूले ठाउँ र कृषि पेसालाई माया मारेर फार्म बिक्री गर्न नखोजेको उनको भनाइ छ। बरु यही ठाउँमा बसेर कृषि व्यवसायलाई निरन्तरता दिने चाहना हुँदाहुँदै आर्थिक तथा व्यावहारिक परिस्थितिले बिक्रीको निर्णयसम्म पुर्याएको उनी बताउँछन्।
‘माटो दोषी छैन। सम्भावना दोषी छैन। कृषकको इच्छाशक्ति पनि दोषी छैन। समस्या त्यो सम्भावनालाई उत्पादनमा बदल्ने वातावरणमा छ,’ उनी भन्छन्।
उनका अनुसार आवश्यक पूर्वाधार, प्रविधि र व्यवहारिक सहयोग उपलब्ध हुने वातावरण बने आफू अझै कृषि कर्ममै फर्किन तयार छन्।
‘म कृषि छोड्न चाहन्नँ। म त कृषि गरेरै बाँच्न चाहन्छु,’ उनी भन्छन्, ‘तर परिस्थितिले अर्को बाटो रोज्न बाध्य पार्यो भने त्यो मेरो मात्र हार होइन, एउटा सम्भावनायुक्त कृषक गुमेको कथा हुनेछ।’
फार्म बिक्रीमा राखिएको भए पनि कृषि गर्ने आफ्नो इच्छा भने अझै जीवित रहेको उनले बताएका छन्।

