बर्दियाबाट टायल उत्पादन दोब्बर बनाउँदै लामिनार, दैनिक २४ हजार वर्गमिटर पुर्‍याउने तयारी


गुलरिया । बर्दियामा सञ्चालित लामिनार टायल उद्योगले आफ्नो उत्पादन क्षमता दोब्बर बनाउने तयारी गरेको छ। हाल दैनिक १२ हजार वर्गमिटर टायल उत्पादन गर्दै आएको लुम्बिनी सेरामिक्स लिमिटेडले क्षमता विस्तार गरी दैनिक २४ हजार वर्गमिटर पुर्‍याउने योजना अघि सारेको हो।

गुलरिया नगरपालिका–८ मा १२.५ बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा हालसम्म ४ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। क्षमता विस्तारका लागि आवश्यक जग्गा खरिद गरिसकिएको र चीन तथा युरोपबाट थप मेसिनरी ल्याउने तयारी भइरहेको उद्योगले जनाएको छ।

उद्योगका अनुसार लामिनार टायलको माग हालको उत्पादन क्षमताभन्दा बढी छ। उद्योग २४ घण्टा पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ भने स्वदेशी बजारसँगै भारतीय बजारमा समेत टायल पुग्न थालेको छ।

हाल उद्योगले ३ सयभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ। देशभर १५० भन्दा बढी डिलरमार्फत उत्पादन बिक्री भइरहेको छ।

राजस्थानको माटो विस्थापित गर्दै डडेलधुराको खानी

लामिनारले उत्पादन विस्तारसँगै टायलका लागि आवश्यक कच्चा पदार्थमा समेत स्वदेशी निर्भरता बढाउने तयारी गरेको छ।

हाल भारतको राजस्थानबाट कच्चा पदार्थ आयात गर्दै आएको उद्योगले डडेलधुरामा फेल्डस्पार खानी सञ्चालनको तयारी गरिरहेको छ। खानीको अध्ययन पूरा भइसकेको र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रक्रियामा रहेको उद्योगले जनाएको छ।

स्वदेशमै कच्चा पदार्थ उपलब्ध हुन थालेमा उत्पादन लागत घट्नुका साथै कच्चा पदार्थ आयातमा बाहिरिने विदेशी मुद्रा बचत हुने अपेक्षा गरिएको छ।

बर्दियामा ४ अर्बभन्दा बढी लगानीमा स्थापित उद्योगले क्षमता दोब्बर बनाउने र कच्चा पदार्थसमेत स्वदेशमै खोज्ने तयारीले पश्चिम नेपालमा उद्योग विस्तारको सम्भावनालाई समेत देखाएको छ।

प्रकाशित मितिः     २० आश्विन २०८३, मंगलवार ०६:५२  |