
पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्रका रूपमा परिचित नेपालगञ्जको फुलटेक्रामा राणाकालीन इतिहास बोकेका दुई भव्य भवन अझै अस्तित्वमा छन्—‘राजभवन’ र ‘मेघालय’। तत्कालीन बाँके–बर्दिया गोश्वाराका बडाहाकिम कर्णेल राजशमशेर जबरा र कर्णेल मेघराजशमेर जबरासँग जोडिएका यी भवन करिब नौ दशक पुराना हुन्।
नेपालगञ्ज बजारमा रहेका थुप्रै राणाकालीन भवनमध्ये अहिले केही मात्र बाँकी छन्। तीमध्ये फुलटेक्राका राजभवन र मेघालय प्रमुख ऐतिहासिक संरचना हुन्।
‘नयाँ मुलुक’देखि नेपालगञ्जसम्म
राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको समयमा सन् १८५७ को लखनउ विद्रोह दबाउन नेपालले ब्रिटिस पक्षलाई करिब १४ हजार सैनिक सहयोग गरेको इतिहास छ। उक्त सहयोगबापत ब्रिटिसबाट बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई प्राप्त भएका थिए। यी चार जिल्लालाई ‘नयाँ मुलुक’ भनेर चिनिन्छ।
सन् १८६० नोभेम्बर १ मा ब्रिटिस सरकार र नेपाल सरकारबीच काठमाडौंमा भएको सन्धिपछि ती क्षेत्र नेपालमा फर्काइएका थिए। त्यसपछि नयाँ मुलुकको पहिलो बडाहाकिमका रूपमा कर्णेल सिद्धिमानसिंह राजभण्डारीलाई खटाइएको थियो। उनी सन् १८६० देखि १८७५ सम्म करिब १५ वर्ष त्यहाँ कार्यरत रहे।
त्यतिबेला नेपालगञ्ज पश्चिम नेपालको महत्वपूर्ण आर्थिक केन्द्रका रूपमा विकसित हुँदै गएको थियो।
पछि महाराज वीरशमशेरको पालामा जिल्ला विभाजन हुँदा बाँके–बर्दिया एउटा गोश्वारा तथा कैलाली–कञ्चनपुर अर्को गोश्वारा कायम गरियो। त्यसअनुसार बडाहाकिमहरू नियुक्त हुन थाले।
सिद्धिमानसिंहपछि फत्तेबहादुर राणा, केशरसिंह थापा, लोकबहादुर थापा, ढुण्डीराज शाही, कर्णेल कुमारजङ्ग राणा, कर्णेल ताक्र्षेविक्रम राणा, ज्वालासिंह हमाल, कर्णेल उपेन्द्रविक्रम राणा, लेफ्टिनेन्ट कर्णेल लभशमशेर जबरा र लेफ्टिनेन्ट कर्णेल दमनशमशेर जबरालगायतले बडाहाकिमको जिम्मेवारी सम्हाले।
सन् १९३२ तिर बाँके–बर्दिया गोश्वाराको बडाहाकिम लेफ्टिनेन्ट कर्णेल राजशमशेर जबरा थिए। उनीपछि कर्णेल मेघराजशमशेर, कर्णेल ध्रुवशमशेर हुँदै कर्णेल प्रकाशशमशेरसम्म बडाहाकिम भए।
एउटै बाबुका दुई छोरा
राजशमशेर र मेघराजशमशेर दुवै राणा प्रधानमन्त्री वीरशमशेरका नाति तथा नेपालको पहिलो फिल्ड मार्सल रुद्रशमशेरका छोरा थिए। राजशमशेर रुद्रशमशेरका साइँला छोरा र मेघराजशमशेर काइँला छोरा थिए। उनीहरूका पिता एउटै भए पनि माता फरक थिए।
राजशमशेरको जन्म सन् १८९८ मा काठमाडौंको चारबुर्जा दरबारमा भएको थियो। मेघराजशमशेरको जन्म पनि सन् १९०० ताका त्यहीँ भएको बताइन्छ।
राजशमशेर अध्ययनमा तेज मानिन्थे। उनले सन् १९१५ मा दरबार स्कुलका विद्यार्थीका रूपमा कलकत्ता पुगेर म्याट्रिक परीक्षा दिएका थिए र द्वितीय श्रेणीमा उत्तीर्ण भएका थिए। कोलकाता विश्वविद्यालयको अभिलेखअनुसार उनले सन् १९१७ मा प्रेसिडेन्सी कलेजबाट द्वितीय श्रेणीमा आइए उत्तीर्ण गरेका थिए। म्याट्रिक उत्तीर्ण गरेपछि महाराज चन्द्रशमशेरबाट उनले दोसल्लाबापत एक हजार रुपैयाँसमेत प्राप्त गरेका थिए।
सन् १९१७ मै उनी लेफ्टिनेन्ट कर्णेल बने।
मेघराजशमशेरले म्याट्रिक उत्तीर्ण गरेको अभिलेख भने फेला नपरेको उल्लेख छ।
काठमाडौं निष्कासन र नेपालगञ्जमा घर
विसं १९९० को महाभूकम्पपछि जुद्धशमशेरको पालामा ‘सी क्लास’ भनेर वर्गीकरण गरिएका केही राणा परिवारलाई काठमाडौं उपत्यकाबाट निष्कासन गरिएको थियो। तत्कालीन कमान्डर इन चिफ रुद्रशमशेरसमेत निष्कासनमा परे। उनलाई पश्चिमतर्फको कमान्डर इन चिफको पदवी र सोहीअनुसारको खान्की, तलब तथा भत्तासहित पाल्पामा तैनाथ गरिएको थियो।
रुद्रशमशेरका छोरा तथा नातिहरूलाई समेत काठमाडौं छाड्न लगाइएको थियो।
त्यतिबेला राजशमशेर नेपालगञ्जमा बडाहाकिम र मेघराजशमशेर कैलाली–कञ्चनपुरतिर कार्यरत थिए। त्यसैले उनीहरूलाई कार्यरत क्षेत्रमै बस्न भनियो।
काठमाडौंबाट निष्कासनमा परेपछि राणा परिवारका विभिन्न सदस्यले आफू कार्यरत स्थानमै घरबार जोड्न थाले। राजशमशेर र मेघराजशमशेरले नेपालगञ्जको फुलटेक्रामा घर बनाए। रुद्रशमशेरका अन्य छोराहरू ईश्वरशमशेर, श्यामशमशेर, धैर्यशमशेर र गोपालशमशेरले पाल्पामा घर बनाए। पाल्पामा घर बनाउन राज्यकोषबाट जग्गा र खर्च उपलब्ध गराइएको उल्लेख छ।
२० बिघा जग्गा र दुई हजार ८८ रुपैयाँ
नेपालगञ्जमा रहेका राजशमशेर र मेघराजशमशेरले विसं १९९१ मा घर बनाउन फुलटेक्रा नजिक रामनगर गाउँदेखि पूर्वतर्फको २० बिघा जग्गा जनही १० बिघाका दरले बिर्ता पाउन तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरसमक्ष बिन्तीपत्र दिएका थिए।
प्रधानमन्त्रीले जग्गाबारे बाँके–बर्दिया गोश्वारा र बाँके माललाई जानकारी लिन लगाए। नापी गर्दा उनीहरूले छुट्याएको ठाउँमध्ये फुलटेक्रामा करिब १३ बिघा र रामनगर मौजामा करिब नौ बिघा जग्गा भेटिएको थियो। त्यस क्षेत्रमा केही बीजु आँपको बगैँचासमेत रहेको थियो।
बाँके मालले विसं १९९१ असोज १७ गते जग्गाको मूल्य निर्धारण गरी पठाएको थियो। आँपको बगैँचा भएको जग्गाको मूल्य प्रतिबिघा कम्पनी रुपैयाँ १२० तथा आँपको रूख नभएको जग्गाको मूल्य प्रतिबिघा ९६ रुपैयाँ तोकिएको थियो। बाँके–बर्दिया गोश्वाराले पनि त्यसैलाई सदर गरेको थियो।
२० बिघा जग्गाका लागि प्रतिबिघा ९६ रुपैयाँका दरले एक हजार ९२० रुपैयाँ तथा आँपको बगैँचा भएको जग्गाका लागि थप रकमसहित जम्मा दुई हजार ८८ रुपैयाँ बाँके मालबाट निकासा गरिएको थियो।

सरकारी कोषबाट जग्गाधनीलाई रकम दिई राजशमशेर र मेघराजशमशेरको नाममा रजिस्ट्रेसन पास गर्न निर्देशन दिइएको थियो। रजिस्ट्रेसन खर्चसमेत सोही रकमबाट व्यहोर्ने व्यवस्था गरिएको थियो।
त्यस जग्गा दुवै कर्णेलका सन्तान दरसन्तानले भोगचलन गर्न पाउने गरी लालमोहर गरिदिन प्रधानमन्त्री जुद्धशमशेरले कमान्डर इन चिफ पद्मशमशेरलाई निर्देशन दिएका थिए। लालमोहरको थप दस्तुर नलिनसमेत निर्देशन दिइएको थियो।
विसं १९९१ मङ्सिर ७ गते प्रधानमन्त्री जुद्धशमशेरले कमान्डर इन चिफ पद्मशमशेरलाई पठाएको पुर्जीमा बाली काटिसकेपछि जग्गा भोगचलनका लागि आवश्यक पूर्जी जारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको थियो। राष्ट्रिय अभिलेखालय, रामशाहपथमा रहेको ‘बिन्तीपत्र मिसिल १९९१’ मा उक्त विवरण रहेको उल्लेख छ।
राजभवनको निर्माण
राजशमशेरले निर्माण गरेको भवनमा सन् १९३४ साल उल्लेख गरिएको छ। उनले जग्गाको स्वामित्व विसं १९९१ मङ्सिरमा मात्र प्राप्त गरेकाले १९३४ साल निर्माण सम्पन्न भएको नभई निर्माण सुरु भएको साल हुन सक्ने अनुमान गरिएको छ।
राजभवन चार बुर्जा, १२ कोठा र दुई तले रहेको छ। गर्मीबाट शीतलता प्रदान गर्न भूमिगत तलाउसमेत बनाइएको बताइन्छ। वास्तुकलाका दृष्टिले पनि भवन आकर्षक छ। राजभवनलाई ‘बीच कोठी’ नामले समेत चिनिन्छ।
भवन कति समय लगाएर निर्माण सम्पन्न भयो, डिजाइनर को थिए र निर्माण कसले गर्यो भन्ने स्पष्ट अभिलेख भेटिएको छैन। तर मेघालयसमेत भारतीय निर्माण कम्पनीबाट निर्माण भएको आधारमा राजभवन पनि भारतीय कम्पनी तथा कालीगढबाट निर्माण भएको हुनसक्ने अनुमान गरिएको छ।
राजशमशेरको विसं १९९२ भदौ १६ गते उपचारका क्रममा लखनउमा टाइफाइडका कारण निधन भयो। उनको ओहदाअनुसार नेपालमा शोक सलामी दिइएको थियो। राजशमशेरले जग्गा पाएको करिब नौ महिनामै निधन भएकाले उनले राजभवनमा बस्न पाए वा पाएनन् भन्ने यकिन छैन। अहिले पनि उनका सन्ततिले राजभवनमा बसोबास गरिरहेका छन्।
नेपालगञ्जको बजार व्यवस्थापनमा राजशमशेर
बडाहाकिमका रूपमा राजशमशेरले नेपालगञ्ज बजारमा घर तथा पसल निर्माण गर्दा प्रशासनबाट अनुमति लिनुपर्ने व्यवस्था लागू गराएका थिए।
उनको सुझावपछि प्रधानमन्त्री जुद्धशमशेरले त्यसलाई अनुमोदन गर्दै कार्यान्वयन गर्न निर्देशन दिएका थिए।
विसं १९९२ जेठदेखि व्यापारी, महाजन तथा दोकानदारले घर वा पसल बनाउनुअघि नक्सासहित बजार अड्डामा निवेदन दिनुपर्ने व्यवस्था गरिएको थियो। बजार अड्डाले जाँच गरेपछि गोश्वारामा रिपोर्ट पठाउने र त्यसपछि बडाहाकिमले स्थलगत निरीक्षण गरी अनुमति दिने व्यवस्था थियो।
यसबाट तत्कालीन नेपालगञ्जमा बजार विस्तार र भवन निर्माणलाई प्रशासनिक प्रक्रियाबाट नियमन गर्ने अभ्याससमेत सुरु भएको देखिन्छ।
मेघराजशमशेरको ‘मेघालय’
राजशमशेरको निधनपछि मेघराजशमशेर नेपालगञ्जका बडाहाकिम बने। उनले निर्माण गरेको भवनलाई ‘मेघालय’ भनिन्छ।
मेघालयमा निर्माण भएको साल उल्लेख छैन। तर भवनको बाहिरी गेटमा “श्री मेघराज शम्शेर जङ्ग बा.रा. ‘मेघालय’ नेपालगञ्ज नेपाल र लाल एन्ड सन्स एलाहवाद” लेखिएको छ।
यस आधारमा मेघालय इलाहवादको ‘लाल एन्ड सन्स’ निर्माण कम्पनीले निर्माण गरेको हुनसक्ने अनुमान गरिएको छ।
मेघराजशमशेरको निधन विसं २०२३ जेठमा भारतमा भएको थियो। उनको निधनमा नेपालमा जेठ १२ गते १३ तोपको सलामी दिइएको गोरखापत्रको तत्कालीन समाचारमा उल्लेख छ।
मेघराजशमशेरका छोरा शान्तिशमशेर राणा नेपालगञ्जबाट प्रतिनिधिसभा सदस्य तथा मन्त्रीसमेत भएका थिए।
संरक्षणको पर्खाइमा ऐतिहासिक सम्पदा
नेपालगञ्ज उपमहानगरपालिका–७ फुलटेक्रामा रहेका राजभवन र मेघालय अहिले पनि ठूलो कम्पाउन्डभित्र इतिहास बोकेर उभिएका छन्। यी भवनले करिब नौ दशक पार गरिसकेका छन्।
पुराना संरचना जीर्ण बन्दै गए पनि मानिस बस्न मिल्ने भागमा राणा परिवारका सन्ततिले बसोबास गर्दै आएका छन्। भवन हेर्न तथा पुरानो वास्तुकला अवलोकन गर्न मानिसहरू पुग्ने गरेका छन्।
राणाकालीन यी दुवै संरचना नेपालगञ्जको इतिहाससँग मात्र सम्बन्धित नभई पुरातात्त्विक तथा वास्तुकलाका दृष्टिले समेत महत्वपूर्ण सम्पदा हुन्।
त्यसैले राज्यको अग्रसरता र सम्बन्धित परिवारसँगको समन्वयमा यी भवनको मौलिक संरचना जोगाउँदै जीर्णोद्धार गर्नुपर्ने आवश्यकता देखिएको छ।
(युवा मंच र गाेरखापत्र अनलाइनमा प्रकाशित लेख नेपालगन्जसंग सम्बन्धित भएको हुँदा यहाँ साभार गरिएको हाे)

