नेपालमा उखु उत्पादन बढाउन भारतद्वारा चार नयाँ जातको बीउ उपलब्ध


 

 

नेपालगन्ज । नेपालमा उखु खेतीसम्बन्धी अनुसन्धान तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले भारतले उखुका चार जातको जर्मप्लाज्म नेपाललाई उपलब्ध गराएको छ।

भारतीय दूतावासकी प्रथम सचिव (विकास साझेदारी) निशाले आज नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) परिसरमा परिषद्का अधिकारीहरूलाई उखुका चार जातको जर्मप्लाज्म हस्तान्तरण गरेकी हुन्।

भारतको लखनउस्थित भारतीय उखु अनुसन्धान संस्थानले उपलब्ध गराएका CoLk 16202, CoLk 16470, CoS 17321 र CoS 18321 जातका जर्मप्लाज्म नेपालमा उखु खेतीसम्बन्धी अनुसन्धानका लागि उपयोग गरिने जनाइएको छ।

यस पहलले नेपालमा उखु उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न अनुसन्धानलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, कृषि अनुसन्धान र विकासका क्षेत्रमा नेपाल–भारतबीचको द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।

नेपालमा उखु खेतीको उत्पादकत्व बढाउन उन्नत जातको पहिचान, अनुसन्धान र प्रविधिको प्रयोग महत्त्वपूर्ण मानिन्छ। भारतबाट उपलब्ध गराइएको जर्मप्लाज्मले नेपाली कृषि अनुसन्धानकर्तालाई उखुका विभिन्न जातको अध्ययन तथा मूल्याङ्कन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मितिः     २६ आश्विन २०८३, सोमबार २१:३६  |