बाँके,बर्दियामा फैलिदै छन् ठूलो लगानीका नयाँ उद्योग


नेपालगन्ज । बाँकेको खजुरामा निर्माणाधीन अन्ट्राटिक बिस्कुट प्रालि (पार्ले–जी) उद्योगको पूर्वाधार निर्माणले गति लिएको छ। पश्चिम नेपालमा ठूलो औद्योगिक लगानीका रूपमा हेरिएको यो उद्योग उत्पादनको तयारीमा जुटिरहेको छ। उद्योग सञ्चालनमा आएपछि पश्चिम क्षेत्रमै बिस्कुट उत्पादन र बजार विस्तारको नयाँ सम्भावना खुल्ने अपेक्षा गरिएको छ।

छिमेकी बर्दियाको गुलरिया नगरपालिका–८ मा चार अर्ब रुपैयाँ लगानीमा लमिनार भिट्रीफिड टायल उद्योग सञ्चालनमा आएको छ। सुबरत धिताल, अभिनव चुरिवाल र श्याम खेतानको लगानीमा स्थापना भएको उद्योगले देशभर आफ्नो उत्पादन पुर्‍याउने लक्ष्य राखेको छ।

यी दुई उद्योग पश्चिम नेपालमा औद्योगिक लगानी विस्तार हुँदै गएको पछिल्ला उदाहरण हुन्। बाँकेमा ठूला उद्योग स्थापना हुने क्रम बढेसँगै यसको प्रभाव छिमेकी बर्दियामा पनि देखिन थालेको छ। बर्दियामा अर्बौं रुपैयाँ लगानीका दुई चिनी उद्योग अघि बढेका छन्। तीमध्ये एउटा सञ्चालनमा आइसकेको छ भने अर्को सञ्चालनको तयारीमा रहेको छ।

पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र बाँकेमा ठूला औद्योगिक समूहको आकर्षण बढ्दै जाँदा यस क्षेत्रको आर्थिक गतिविधिले नयाँ दिशा लिने सम्भावना देखिएको छ। संघीय संरचनापछि प्रशासनिक केन्द्रका रूपमा नेपालगन्जको भूमिका केही खुम्चिए पनि औद्योगिक तथा व्यावसायिक केन्द्रका रूपमा विकास हुने सम्भावना भने कायम छ।

पूर्वी नेपालमा केन्द्रित उद्योगहरू पश्चिमतर्फ विस्तार हुन थालेसँगै बाँके र बर्दियामा औद्योगिक लगानीको वातावरण बन्दै गएको हो। कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारका रूपमा रहेको बाँकेले यी प्रदेशका बढ्दो बजार आवश्यकतालाई सम्बोधन गर्ने अवसर पाएको छ।

लगानीको केन्द्र बन्दै बाँके

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओलीका अनुसार बाँकेमा ठूला उद्योग स्थापना हुन थालेपछि यो क्षेत्र लगानीका लागि उपयुक्त रहेको सन्देश देशभर पुगेको छ। द्वन्द्वकालमा प्रभावित भएका पुराना उद्योग पुनः सञ्चालनमा आउनु र नयाँ उद्योग स्थापना हुने क्रम बढ्नु सकारात्मक संकेत भएको उनको भनाइ छ।

‘राजनीतिक स्थिरता र ऊर्जा लगायतका समस्या समाधान भएपछि लगानीको उत्साह थपिएको छ। बाँके औद्योगिक हबका रूपमा विकास भइरहेको छ,’ ओली भन्छन्।

पछिल्लो समय देखिएको आर्थिक मन्दी, बजारको अनिश्चितता र उत्पादन लागतको चुनौतीबाट भने उद्योगहरू पनि अछुतो छैनन्। यस्तो अवस्थामा लगानीमैत्री वातावरण कायम राख्नु, उद्योग सञ्चालनका समस्या समाधान गर्नु र निजी क्षेत्रको विश्वास बढाउनु आवश्यक देखिन्छ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी बाँकेलाई लगानीकर्ताका लागि सम्भावनायुक्त क्षेत्र मान्छन्। राजनीतिक अस्थिरता र ऊर्जा समस्याका कारण विगतमा लगानीकर्ता हिचकिचाउने गरेको भए पनि पछिल्लो समय ठूला उद्योग स्थापना हुने क्रम बढेको उनी बताउँछन्।

‘कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य प्रवेशद्वार भएकाले बाँकेमा औद्योगिक लगानीको ठूलो सम्भावना छ। अहिले एकपछि अर्को ठूलो उद्योग खुल्ने क्रम जारी छ,’ मन्सुरी भन्छन्, ‘यो वातावरणलाई सधैँ कायम राख्न जरुरी छ।’

बजारको सम्भावनाले तानिँदै उद्योगी

बाँकेमा जय अम्बे स्टिल, सगरमाथा स्टिल इन्डस्ट्रिज, नेपाल वेलहोप एग्रीटेक, वर्षा रिसाइक्लिङ इन्डस्ट्रिज र विकास फ्लोर मिललगायतका उद्योग सञ्चालनमा छन्। यसबाहेक विभिन्न उद्योगले अनुमति प्राप्त गरी पूर्वाधार निर्माण अघि बढाएका छन्।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढ्दो सहरीकरण, विकास निर्माण र उपभोग्य वस्तुको मागले बाँकेमा उद्योग स्थापना गर्ने सम्भावना बढाएको छ। पहाडी तथा हिमाली क्षेत्रमा सडक, भवन र अन्य पूर्वाधार निर्माण भइरहँदा निर्माण सामग्रीको माग विस्तार भइरहेको छ। जनसंख्या र बजारको विस्तारसँगै दैनिक उपभोगका वस्तुको खपत पनि बढ्दै गएको छ।

पूर्वी नेपालमा उत्पादन भएका सामग्री पश्चिमका बजारमा पुर्‍याउँदा ढुवानी खर्च बढ्ने भएकाले पश्चिममै उद्योग स्थापना गर्नु दीर्घकालीन रूपमा लाभदायक हुन सक्ने उद्योगीहरूको बुझाइ छ।

शिखर प्लाइउड प्रालिका सञ्चालक चम्पालाल बोथराका अनुसार पश्चिम नेपालमा ठूलो बजार सम्भावना देखिएकाले उद्योगीहरू बाँकेमा लगानी गर्न आकर्षित भएका हुन्।

‘ठूलो परिमाणमा उत्पादन बिक्री गर्न सकिने र पश्चिममा बजारको राम्रो सम्भावना देखिएकाले उद्योगीहरूले बाँकेलाई रोजेका छन्,’ बोथरा भन्छन्।

उनका अनुसार अन्य कतिपय स्थानको तुलनामा उद्योग सञ्चालनका लागि जग्गा प्राप्त गर्न सहज हुनु पनि बाँकेप्रतिको आकर्षणको एउटा कारण हो।

बर्दियामा पनि बढ्दै औद्योगिक गतिविधि

बाँकेमा औद्योगिक लगानी बढ्दै जाँदा यसको प्रभाव बर्दियामा समेत देखिन थालेको छ। गुलरियामा चार अर्ब रुपैयाँको लगानीमा टायल उद्योग सञ्चालनमा आउनु यस क्षेत्रको औद्योगिक विस्तारको महत्त्वपूर्ण उदाहरण हो।

त्यसैगरी, बर्दियामा चिनी उद्योगमा भएको लगानीले कृषि उत्पादन र उद्योगबीचको सम्बन्धलाई बलियो बनाउन सक्ने सम्भावना छ। चिनी उद्योग विस्तारले उखु खेती, किसानको बजार पहुँच, स्थानीय रोजगारी र कृषि आधारित उद्योगको विकासमा योगदान दिन सक्छ। तर यसको वास्तविक प्रभाव उद्योगको उत्पादन क्षमता, नियमित सञ्चालन, उखुको उपलब्धता र किसानले पाउने मूल्यमा निर्भर रहनेछ।

बाँके र बर्दियामा उद्योग विस्तार हुँदै जानुले पश्चिम नेपालमा उत्पादनमूलक अर्थतन्त्रको आधार फराकिलो बनाउने सम्भावना देखाएको छ। यसले स्थानीय बजारमा वस्तुको उपलब्धता बढाउनुका साथै अन्य प्रदेशबाट हुने आपूर्तिमाथिको निर्भरता घटाउन पनि सहयोग पुर्‍याउन सक्छ।

सीमा नाका र पूर्वाधारले थप अवसर

भारतसँग सीमा जोडिएको बाँकेमा औद्योगिक लगानी बढ्नुको अर्को कारण व्यापारिक पहुँच हो। नेपालगन्ज–रुपैडिहा नाकाबाट हुने आयात–निर्यात, एकीकृत जाँच चौकीको विकास तथा रेलमार्ग विस्तारको सम्भावनाले उद्योगीहरूलाई आकर्षित गरेको छ।

नेपाल–भारत रेल सम्पर्क र पूर्व–पश्चिम रेलमार्गको विकासले भविष्यमा मालसामान ढुवानी तथा आयात–निर्यातलाई सहज बनाउन सक्ने अपेक्षा गरिएको छ। यस्ता पूर्वाधार प्रभावकारी रूपमा सञ्चालनमा आएमा पश्चिम नेपालका उद्योगले उत्पादनको लागत घटाउन र बजार विस्तार गर्न थप अवसर पाउन सक्छन्।

यसैबीच, कर्णाली र सुदूरपश्चिम प्रदेशको औद्योगिक आवश्यकता सम्बोधन गर्ने उद्देश्यले बाँकेको नौबस्तामा औद्योगिक क्षेत्र निर्माणको प्रक्रिया अघि बढाइएको छ। उक्त क्षेत्र पूर्ण रूपमा विकास भएर सञ्चालनमा आएमा उद्योग स्थापनाका लागि आवश्यक पूर्वाधार, रोजगारी सिर्जना र उत्पादन विस्तारमा थप आधार तयार हुन सक्छ।

लगानी बढ्दैमा औद्योगिक विकास सुनिश्चित हुँदैन

बाँके र बर्दियामा ठूला उद्योगको आकर्षण बढ्नु सकारात्मक संकेत भए पनि यसलाई दिगो औद्योगिक विकासमा रूपान्तरण गर्नु मुख्य चुनौती हो। उद्योग स्थापनाका लागि आवश्यक पूर्वाधार, भरपर्दो विद्युत् आपूर्ति, जग्गाको व्यवस्थापन, सहज वित्तीय पहुँच, दक्ष जनशक्ति र नीतिगत स्थिरता सुनिश्चित गर्नुपर्ने आवश्यकता छ।

त्यस्तै, उद्योग स्थापना गर्ने घोषणा वा अनुमति प्राप्त गर्नुलाई मात्र औद्योगिक विकासको उपलब्धि मान्न सकिँदैन। उद्योग वास्तवमै सञ्चालनमा आए–नआएको, घोषित लगानीमध्ये कति रकम खर्च भएको छ, कति रोजगारी सिर्जना भएको छ र स्थानीय उत्पादनले पश्चिम नेपालको बजारमा कति हिस्सा ओगटेको छ भन्ने आधारमा यसको प्रभाव मूल्याङ्कन गर्न आवश्यक छ।

पश्चिम नेपालको व्यापारिक केन्द्रका रूपमा स्थापित बाँकेले अब उत्पादनमूलक उद्योगको केन्द्र बन्ने अवसर पाएको छ। छिमेकी बर्दियामा पनि ठूला उद्योग विस्तार हुन थालेपछि यस क्षेत्रलाई औद्योगिक करिडोरका रूपमा विकास गर्ने सम्भावना थपिएको छ।

बजारको सम्भावना, भारतसँगको व्यापारिक पहुँच र कर्णाली तथा सुदूरपश्चिमसँगको भौगोलिक सम्बन्धलाई उपयोग गर्न सके बाँके–बर्दिया क्षेत्रले पश्चिम नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। त्यसका लागि लगानीको उत्साहलाई वास्तविक उत्पादन, रोजगारी, कृषि तथा औद्योगिक सम्बन्ध र स्थानीय आर्थिक समृद्धिमा बदल्नु आवश्यक छ।

प्रकाशित मितिः     २७ आश्विन २०८३, मंगलवार ०६:५५  |