सफा नेपालगञ्ज, सभ्य नगरको पहिचान


 

कुनै पनि सहरको सभ्यता त्यहाँका अग्ला भवन, फराकिला सडक र आधुनिक संरचनाले मात्र मापन हुँदैन सहरको वास्तविक पहिचान त्यहाँको स्वच्छ वातावरण, व्यवस्थित सार्वजनिक स्थल, नागरिक चेतना र सरसफाइप्रतिको जिम्मेवारीबोधमा झल्किन्छ। त्यसैले सफा नेपालगञ्ज केवल सरसफाइको अभियान होइन, सभ्य, स्वस्थ र सुन्दर सहर निर्माण गर्ने साझा संकल्प हो।

ऐतिहासिक, सांस्कृतिक तथा व्यापारिक महत्त्व बोकेको नेपालगञ्जले आफ्नो विशिष्ट पहिचान बनाएको छ तर सहरको विस्तारसँगै सरसफाइ र फोहोर व्यवस्थापनको चुनौती पनि बढ्दै गएको छ। विकासका पूर्वाधार निर्माण गर्नु जति आवश्यक छ, तिनलाई स्वच्छ, व्यवस्थित र नागरिकमैत्री बनाइराख्नु पनि उत्तिकै महत्त्वपूर्ण छ।

साविकको नेपालगञ्ज नगरपालिका १७ वडामा सीमित थियो। पछि उपमहानगरपालिकाका रूपमा विस्तार हुँदा परसपुर, जयसपुर, पिप्रहवा, भवानीयापुर, उदयपुर, पुरैनी, बसुदेवपुर र कारकाँदोलगायतका साविकका गाविसहरू पनि समेटिए भौगोलिक क्षेत्रफल र जनसङ्ख्या बढेसँगै नगरको सेवा प्रवाह, फोहोर व्यवस्थापन र सरसफाइको जिम्मेवारीसमेत विस्तार भयो। तर पुरानो नगर क्षेत्रमै सरसफाइलाई व्यवस्थित र दिगो बनाउन नसकिएको अवस्थामा विस्तारित क्षेत्रको व्यवस्थापन झन् चुनौतीपूर्ण बन्न पुग्यो।

फोहोर व्यवस्थापनका लागि विभिन्न समयमा प्रयास नभएका होइनन्। एसियाली विकास बैंक एडीबी० को लगानीमा ल्यान्डफिल साइट निर्माण गरियो। फोहोर सङ्कलन तथा व्यवस्थापनका लागि डस्टबिनलगायतका सामग्रीसमेत वितरण गरिए तर यस्ता पूर्वाधार र सामग्रीको प्रभावकारी उपयोग, नियमित अनुगमन तथा दिगो व्यवस्थापन सुनिश्चित हुन नसक्दा अपेक्षित परिणाम हासिल हुन सकेन। सामग्री वितरण र औपचारिक अभियान सञ्चालन गर्नु मात्र सरसफाइको समाधान होइनस त्यसको उचित प्रयोग, नियमित फोहोर सङ्कलन र जिम्मेवार व्यवस्थापनको सुनिश्चितता पनि उत्तिकै आवश्यक हुन्छ।

नेपालगञ्जको सरसफाइलाई दिगो बनाउन नसक्नुको मूल चुनौती फोहोर उठाउने व्यवस्थामा मात्र सीमित छैन । यसमा संस्थागत समन्वयको कमी, नागरिकको व्यवहार, नियमित अनुगमन र स्थानीय सरकारको कार्यान्वयन क्षमताजस्ता पक्ष पनि जोडिएका छन्। प्रयासहरूलाई निरन्तरता दिँदै परिणाममुखी बनाउन नसक्दा समस्या पटकपटक दोहोरिने गरेको छ। अब विगतका कमजोरीबाट पाठ सिकेर सरसफाइलाई स्थानीय सरकारको नियमित प्राथमिकतामा राख्न आवश्यक छ।

बढ्दो सहरीकरणसँगै फोहोर व्यवस्थापन, नालीको सफाइ, सडक तथा सार्वजनिक स्थलको संरक्षण र वातावरणीय प्रदूषण नियन्त्रण नेपालगञ्जका प्रमुख चुनौती बनेका छन् । यी समस्याको समाधान स्थानीय सरकारको एकल प्रयासबाट मात्र सम्भव हुँदैन। विश्वका स्वच्छ र व्यवस्थित सहरहरूको अनुभवले पनि सरसफाइ साझा जिम्मेवारी, स्पष्ट नीति, प्रभावकारी कार्यान्वयन र नागरिक सहभागिताको परिणाम हो भन्ने देखाउँछ।

यसका लागि नेपालगञ्ज उपमहानगरपालिकाले प्रत्येक वडा र टोलमा नियमित अन्तरक्रिया, जनचेतनामूलक कार्यक्रम तथा सामूहिक सरसफाइ अभियान सञ्चालन गर्नुपर्छ । यस्ता कार्यक्रम औपचारिकतामा सीमित नभई स्थानीय समस्या पहिचान गर्ने, समाधानका उपाय तय गर्ने र कार्यान्वयनको अनुगमन गर्ने माध्यम बन्नुपर्छ। जनप्रतिनिधि, कर्मचारी, व्यवसायी, नागरिक समाज, युवा पुस्ता, सामाजिक सङ्घसंस्था र सर्वसाधारणलाई एउटै अभियानमा जोड्न सकिएमा सरसफाइप्रति सामूहिक स्वामित्वको भावना विकास गर्न सकिन्छ।

सरसफाइको प्रत्यक्ष सम्बन्ध जनस्वास्थ्यसँग छ । अव्यवस्थित फोहोर, जाम भएका नाली र प्रदूषित वातावरणले विभिन्न रोगको जोखिम बढाउनुका साथै नागरिकको जीवनस्तरमा समेत नकारात्मक असर पार्छन्। त्यसैले उपमहानगरपालिकाको सरसफाइसम्बन्धी शाखासँगै स्वास्थ्य शाखाले पनि समन्वयात्मक र सक्रिय भूमिका निर्वाह गर्नुपर्छ। सरसफाइलाई केवल फोहोर उठाउने कामका रूपमा नभई रोगको रोकथाम, वातावरण संरक्षण र स्वस्थ जीवनशैली प्रवर्द्धनसँग जोडेर हेर्नुपर्छ।

सफा सडक, व्यवस्थित नाली, स्वच्छ बजार र हरियालीयुक्त सार्वजनिक स्थलले सहरको सौन्दर्य मात्र बढाउँदैनन्, नागरिकको जीवनस्तर र सहरको प्रतिष्ठासमेत उकास्छन् स्वच्छ र व्यवस्थित सहरले व्यापार, पर्यटन, लगानी र आर्थिक गतिविधिका लागि अनुकूल वातावरण सिर्जना गर्छ। नेपालगञ्जजस्तो सीमावर्ती व्यापारिक सहरका लागि त सरसफाइ यसको सार्वजनिक छवि, आर्थिक सम्भावना र सहरी पहिचानसँग समेत जोडिएको विषय हो।

नेपालगञ्जलाई सफा बनाउने जिम्मेवारी प्रत्येक नागरिकबाट सुरु हुन्छ। घर, पसल र कार्यालयको फोहोर जथाभावी नफाल्ने, कुहिने र नकुहिने फोहोर छुट्याउने, निर्धारित स्थानमा मात्र फोहोर राख्ने तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने बानी विकास गर्नुपर्छ । अर्कोतर्फ, स्थानीय सरकारले नियमित फोहोर सङ्कलन, उचित विसर्जन, नालीको सफाइ र सार्वजनिक स्थलको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्छ। सरसफाइसम्बन्धी नियम उल्लङ्घन गर्नेलाई कानुनी दायरामा ल्याउने र अनुकरणीय काम गर्ने व्यक्ति तथा संस्थालाई प्रोत्साहित गर्ने व्यवस्था पनि प्रभावकारी बनाउनुपर्छ।

विशेषगरी नेपालगञ्जका ऐतिहासिक तालतलैया, धार्मिक तथा सांस्कृतिक स्थल, खुला क्षेत्र र सार्वजनिक सम्पत्तिको संरक्षणमा विशेष ध्यान दिनुपर्छ। यस्ता स्थानमा फोहोर फाल्ने प्रवृत्ति नियन्त्रण गर्न स्पष्ट नियम, सूचनामूलक बोर्ड, नियमित अनुगमन र आवश्यक दण्डको व्यवस्था गरिनुपर्छ । प्राकृतिक तथा सांस्कृतिक सम्पदा जोगाउनु भनेको सहरको वर्तमान मात्र होइन, भावी पुस्ताको अधिकार र पहिचान सुरक्षित गर्नु पनि हो।

सरसफाइ एक दिनको अभियान, कुनै विशेष दिवसको कार्यक्रम वा प्रचारप्रसारको विषय मात्र होइन । यो दैनिक व्यवहार, सामाजिक संस्कार र नागरिक जिम्मेवारीको हिस्सा बन्नुपर्छ। केही समयका लागि सडक सफा गरेर तस्बिर खिच्नु वा अभियानको प्रचार गर्नु सकारात्मक सन्देश दिन सक्छ, तर त्यसले दीर्घकालीन परिणाम सुनिश्चित गर्दैन। वास्तविक सफलता त अभियान सकिएपछि पनि सडक, नाली, बजार र सार्वजनिक स्थल सफा रहनुमा छ। त्यसका लागि नियमित कार्ययोजना, पर्याप्त जनशक्ति, स्रोतसाधन, अनुगमन र स्पष्ट जवाफदेहिताको व्यवस्था आवश्यक हुन्छ।

अन्ततः, सफा नेपालगञ्जको सपना स्थानीय सरकारको मात्र होइन, सम्पूर्ण नगरवासीको साझा दायित्व हो। नागरिकले आफ्नो घर सफा राखेर मात्र पुग्दैनस घरअगाडिको सडक, सार्वजनिक स्थल र समग्र सहरलाई पनि आफ्नै सम्पत्ति ठान्नुपर्छ त्यस्तै, स्थानीय सरकारले पनि सरसफाइको जिम्मेवारी नागरिकमाथि मात्र थोपरेर उम्कन मिल्दैन। नागरिकको सहभागिता सुनिश्चित गर्दै आवश्यक सेवा, पूर्वाधार र प्रभावकारी व्यवस्थापन उपलब्ध गराउनु उसको दायित्व हो।

नागरिकमा जिम्मेवारीबोध, स्थानीय सरकारमा दृढ इच्छाशक्ति र व्यवस्थापनमा निरन्तरता हुने हो भने नेपालगञ्जलाई स्वच्छ, स्वस्थ र व्यवस्थित सहर बनाउन असम्भव छैन । यसका लागि नाराभन्दा व्यवहार, औपचारिकताभन्दा परिणाम र क्षणिक अभियानभन्दा दिगो व्यवस्थापनलाई प्राथमिकता दिनुपर्छ।

सहरको सभ्यता सडकमा देखिन्छ, नागरिकको संस्कार सरसफाइमा झल्किन्छ आउनुहोस्, सफा नेपालगञ्जलाई नारामा सीमित नराखौँ—यसलाई हाम्रो व्यवहार, संस्कार र पहिचान बनाऔँ।

लेखक स् वातावरण मैत्री स्थानीय शासनमा काम गरेका अनुभवी व्यक्ति हुन् ।

प्रकाशित मितिः     २७ आश्विन २०८३, मंगलवार १९:४७  |