
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन।
प्राप्त प्रारम्भिक विवरणअनुसार बिहीबार राति करिब १ः३० बजे उद्योगभित्र रहेको फर्नेस आयल ट्यांकीमा विद्युत् लाइन सर्ट सर्किट भएर आगलागी भएको हो। आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्द, बाँकेबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

आगलागी भएको ट्यांकीको क्षमता दुई लाख लिटर रहेको बताइएको छ। आगलागीबाट करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
नेपाल प्रहरी, स्थानीयवासी तथा दमकलको सहयोगमा आगो निभाउने प्रयास गरिएको थियो। करिब एक घण्टाको प्रयासपछि राति २ः३० बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनामा मानवीय क्षति नभए पनि उद्योगको ट्यांकीमा भएको आगलागीबाट ठूलो आर्थिक क्षति भएको छ। आगलागीको कारण र क्षतिको वास्तविक विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

