नेपालगञ्ज उद्योग वाणिज्य संघको टोलीद्वारा ललितपुर उद्योग वाणिज्य संघ र महासंघसँग छलफल


 

नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले संस्थागत विकास, अनुभव आदानप्रदान र निजी क्षेत्रबीचको सहकार्य विस्तार गर्ने उद्देश्यले ललितपुर उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघसँग भेटघाट तथा छलफल गरेको छ।

च्याम्बर भिजिट कार्यक्रमअन्तर्गत ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष, पदाधिकारी तथा कार्यसमिति सदस्यहरूसँग भएको भेटघाटमा दुवै संस्थाका असल अभ्यास, कार्यानुभव र संस्थागत विकासका विषयमा छलफल भएको नेपालगञ्ज उद्योग वाणिज्य संघले जनाएको छ। भेटघाटका क्रममा उद्योगी–व्यवसायीबीच व्यावसायिक सहकार्य र सहयोगका अवसर विस्तार गर्दै आपसी सम्बन्ध थप सुदृढ बनाउने विषयमा समेत अनुभव आदानप्रदान गरिएको थियो।

त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघमा आयोजित तीन घण्टे संस्थागत स्वमूल्याङ्कन कार्यक्रममा सहभागी हुँदै नेपालगञ्ज उद्योग वाणिज्य संघको वर्तमान अवस्था, संस्थागत क्षमता र भावी कार्ययोजनाबारे समीक्षा गरिएको अध्यक्ष चिरञ्जीवी ओलीले जानकारी दिनुभयो । स्वमूल्याङ्कनले संघलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रमका क्रममा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालगञ्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई स्वागत गरेका थिए। सो अवसरमा अध्यक्ष श्रेष्ठले संघका प्रतिनिधिलाई महासंघको लोगोअङ्कित पिन लगाएर सम्मानसमेत गरेका थिए। कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, जिल्ला–नगर उपाध्यक्ष दिलसुन्दर श्रेष्ठलगायत केन्द्रीय कार्यकारिणी सदस्यहरूको उपस्थिति थियो।

भेटघाटका क्रममा महासंघका अध्यक्ष तथा वरिष्ठ उपाध्यक्षले नेपालगञ्ज उद्योग वाणिज्य संघको संस्थागत विकासमा यथासम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै, उद्योगी–व्यवसायीका साझा मुद्दामा जिल्ला–नगर उद्योग वाणिज्य संघहरूसँग सहकार्य गर्दै आवश्यक पहल र पैरवीलाई निरन्तरता दिने विषयमा समेत जोड दिइएको थियो।

नेपालगञ्ज उद्योग वाणिज्य संघले भ्रमणबाट प्राप्त अनुभव, सुझाव र सहकार्यको प्रतिबद्धतालाई व्यवहारमा उतार्दै संघलाई थप सक्षम, उत्तरदायी र व्यवसायीमैत्री संस्था बनाउने जनाएको छ।

संघका अनुसार संस्थागत सहकार्यलाई सुदृढ बनाउँदै निजी क्षेत्रको विकास, उद्योगी–व्यवसायीका साझा समस्या समाधान र नेपालगञ्जको आर्थिक समृद्धिमा योगदान पुर्‍याउने उद्देश्यले यस्ता गतिविधिलाई निरन्तरता दिइनेछ।

प्रकाशित मितिः     १४ कार्तिक २०८३, शुक्रबार ०७:४७  |