
सुर्खेत । कर्णाली प्रदेशका उद्योगहरू आफ्नो कुल उत्पादन क्षमताको एक तिहाइभन्दा कम क्षमतामा सञ्चालन भइरहेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०८२/८३ अनुसार समीक्षा वर्षमा नमुना छनोटमा समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग ३०.९८ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो क्षमता उपयोग ३९.१२ प्रतिशत थियो।
प्रतिवेदनअनुसार कर्णालीका उद्योगहरूको औसत क्षमता उपयोग अघिल्लो वर्षको तुलनामा ८.१४ प्रतिशत बिन्दुले घटेको छ। यसले प्रदेशका उद्योगहरूले आफ्नो जडित उत्पादन क्षमताको ठूलो हिस्सा उपयोग गर्न नसकेको देखाउँछ।
नमुना छनोटमा परेका उद्योगहरूमध्ये राडीपाखी उत्पादन गर्ने उद्योगले सबैभन्दा बढी ६६.६७ प्रतिशत क्षमता उपयोग गरेका छन्। त्यस्तै, कागज उत्पादन गर्ने उद्योगको क्षमता उपयोग करिब ५८ प्रतिशत र अन्य घरेलु कपडा उत्पादन गर्ने उद्योगको करिब ५० प्रतिशत रहेको प्रतिवेदनको चार्टले देखाएको छ।
गलैँचा उत्पादन गर्ने उद्योगको क्षमता उपयोग करिब ४९ प्रतिशत, चाउमिन उत्पादन गर्ने उद्योगको करिब ४१ प्रतिशत र चिरेको काठ उत्पादन गर्ने उद्योगको करिब ३४ प्रतिशत रहेको छ। बिजुलीका बल्ब उत्पादन गर्ने उद्योगको क्षमता उपयोग करिब २० प्रतिशत, छालाका जुत्ता उत्पादन गर्ने उद्योगको करिब १४ प्रतिशत र प्रशोधित दूध उत्पादन गर्ने उद्योगको सबैभन्दा कम १०.१९ प्रतिशत रहेको छ।
उत्पादनमा केही उद्योगको वृद्धि, केहीमा गिरावट

राष्ट्र बैंकको अध्ययनअनुसार समीक्षा वर्षमा चाउमिन, अन्य घरेलु कपडा, गलैँचा, राडीपाखी, चिरेको काठ र बिजुलीका बल्ब उत्पादन गर्ने उद्योगहरूको उत्पादन बढेको छ।
त्यसैगरी प्रशोधित दूध, अन्न तथा पशुदाना, कागज र छालाका जुत्ता उत्पादन गर्ने उद्योगहरूको उत्पादन भने घटेको छ।
उत्पादन क्षमताको उपयोगमा आएको गिरावट र विभिन्न उद्योगको उत्पादनमा देखिएको फरक प्रवृत्तिले कर्णालीको औद्योगिक क्षेत्र अझै पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको देखाउँछ।
प्रदेशमा उद्योगको क्षमता उपयोग बढाउन उत्पादनको बजार विस्तार, कच्चा पदार्थको सहज उपलब्धता, लगानीमैत्री वातावरण र उद्योग सञ्चालनका अवरोध समाधानमा ध्यान दिनुपर्ने देखिन्छ।

