अम्बे स्टिलमा आगलागी हुँदा ८ जना घाइते, दुई जनालाई लखनउ रिफर


 

 

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा आठ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था मध्यम रहेको छ भने अन्य छ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

आइतबार बिहान करिब ५ः४० बजे कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट सर्किट भई अचानक आगलागी भएको हो। प्रत्येक भट्टीको क्षमता २५ टन रहेको छ।

आगलागीमा परी बाँकेका पाँच जना र भारतको बहराइच जिल्लाका तीन जना घाइते भएका हुन्। घाइतेहरूलाई उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको थियो। घाइतेमध्ये जानकी गाउँपालिका–५ का २८ वर्षीय शिवप्रसाद चमार र २२ वर्षीय रामदिन हरिजनलाई थप उपचारका लागि बिहान ८ः४५ बजे भारतको लखनउ रिफर गरिएको छ।

आगलागीमा घाइते हुने अन्यमा सोही ठाउँका २४ वर्षीय प्रेम धोबी, २९ वर्षीय दिलीपकुमार यादव र ३५ वर्षीय लक्ष्मीराम यादव रहेका छन्। यस्तै, भारतको बहराइच जिल्लास्थित कठौतियाका २९ वर्षीय राजकुमार निषाद, २४ वर्षीय नशिव कुमार निषाद र २५ वर्षीय विनोद कुमार निषाद पनि घाइते भएका छन्।

आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको कमान्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

नेपालगञ्ज उपमहानगरपालिकाका दुईवटा र कोहलपुर नगरपालिकाको एउटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा बिहान ८ः१५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीबाट भएको अन्य भौतिक तथा आर्थिक क्षतिको विवरण भने खुल्न बाँकी रहेको छ।

प्रकाशित मितिः     १६ कार्तिक २०८३, आईतवार १०:१२  |