बाँके र बर्दियाका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो


नेपालगन्ज । निर्धारित समयमा निर्माण तथा मर्मत कार्य सम्पन्न हुन नसकेपछि बाँके र बर्दियामा सञ्चालित तीन वटा अलपत्र आयोजनाको ठेक्का तोडिएको छ।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नेपालगन्ज डिभिजनमार्फत सञ्चालित तीन वटा आयोजनाको ठेक्का तोडिएको जानकारी दिएका हुन्। पटक–पटक म्याद थप गर्दा समेत काम अघि बढ्न नसकेपछि ठेक्का तोड्ने निर्णय गरिएको उनले बताएका छन्।

ठेक्का तोडिएका आयोजनामा रत्न राजमार्गअन्तर्गत जमुनाहादेखि पन्ध्रेखोलासम्मको सडक खण्डको मर्मत कार्य, बर्दियाको औरही नदी पुलको पहुँचमार्ग सुधार आयोजना र ठाकुरबाबास्थित ओम आदर्श विद्यालयदेखि भद्दी जोड्ने सडक सुधार आयोजना रहेका छन्।

रत्न राजमार्गको उक्त खण्डको मर्मत कार्य गत वर्ष नै सम्पन्न गर्नुपर्ने थियो। त्यसैगरी, औरही नदी पुलको पहुँचमार्ग सुधार र ओम आदर्श विद्यालयदेखि भद्दी जोड्ने सडक सुधार आयोजना आर्थिक वर्ष २०८१/८२ भित्र सम्पन्न गर्नुपर्ने भए पनि निर्धारित समयभित्र काम पूरा हुन सकेन।

मन्त्री लम्सालका अनुसार, पटक–पटक म्याद थप गर्दा समेत निर्माण कार्यले गति लिन नसकेपछि ती आयोजनाको ठेक्का तोडिएको हो।

उनले प्रगतिको सम्भावना नरहेका देशभरका रुग्ण आयोजनाको ठेक्का तोडेर नयाँ प्रक्रियामार्फत निर्माण कार्य अघि बढाउन मन्त्रालयअन्तर्गतका निकायहरूलाई आवश्यक निर्देशन दिइसकेको समेत जानकारी दिएका छन्।

विकास निर्माणका आयोजना लामो समयसम्म अलपत्र रहँदा सर्वसाधारणले सास्ती बेहोर्नुका साथै राज्यको लगानीसमेत प्रभावकारी रूपमा उपयोग हुन नसक्ने भएकाले रुग्ण आयोजनालाई निरन्तरता दिनुको सट्टा नयाँ प्रक्रियाबाट काम अघि बढाउने मन्त्रालयको तयारी देखिएको छ।

प्रकाशित मितिः     १९ कार्तिक २०८३, बुधबार १७:३१  |