सार्वजनिक सेवा विस्तारमा नरैनापुरको ‘तरक्की’, एकपछि अर्को थपिँदै सेवा


 

बाँकेको नरैनापुर गाउँपालिकामा पछिल्लो समय नागरिकलाई सहज र स्थानीयस्तरमै सार्वजनिक सेवा उपलब्ध गराउने क्रम तीव्र बनेको छ। एकपछि अर्को नयाँ सेवा सञ्चालनमा आउन थालेपछि सार्वजनिक सेवा प्रवाहमा नरैनापुरको ‘तरक्की’ देखिन थालेको हो।

पालिकामै मालपोत तथा नापीसम्बन्धी सेवा सुरु भएपछि जग्गा प्रशासनका कामका लागि नागरिकले नेपालगन्ज धाउनुपर्ने बाध्यता हटेको छ। यसअघि नै करदाता सेवा केन्द्र सञ्चालनमा ल्याइएको थियो, जहाँ व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (प्यान), कर चुक्ता प्रमाणपत्रलगायतका सेवा उपलब्ध हुन थालेका छन्।

नरैनापुरमा सार्वजनिक सेवा विस्तारका यी काममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीको सक्रिय पहल, समन्वय र व्यवस्थापनको भूमिका महत्वपूर्ण देखिएको छ। आवश्यक जनशक्ति, प्राविधिक पूर्वाधार र कार्यालय व्यवस्थापन मिलाउनेदेखि नयाँ सेवा सञ्चालनका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने काममा ओली सक्रिय रहँदै आएका छन्।

भूमि प्रशासन सेवाका लागि आवश्यक जनशक्ति र प्राविधिक पूर्वाधार व्यवस्थापनसँगै डिजिटल प्रणालीमार्फत सेवा प्रवाहलाई प्राथमिकता दिइएको छ। नेपाल ल्यान्ड इन्फर्मेसन सिस्टम, ल्यान्ड रेकर्ड म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम तथा पब्लिक एक्सेस सिस्टम प्रयोगमा ल्याइँदैछ।

त्यस्तै, पालिकाको प्रशासन, सूचना प्रविधि र शिक्षा क्षेत्रलाई क्रमशः डिजिटल प्रणालीमा लैजाने काम अघि बढेको छ। विद्यालयमा अनलाइन हाजिरी, विद्युतीय शैक्षिक अभिलेख तथा सीसीटीभी निगरानीजस्ता अभ्यास पनि सुरु भएका छन्।

नागरिकलाई सेवा लिन टाढा जानुपर्ने अवस्था अन्त्य गर्दै समय, खर्च र झन्झट घटाउने उद्देश्यले स्थानीय तहबाटै सेवा उपलब्ध गराउने प्रयास भइरहेको गाउँपालिकाले जनाएको छ।

नयाँ कार्यालय र सेवा सुरु गर्नु मात्रै पर्याप्त नभई त्यसको निरन्तरता, दक्ष जनशक्ति, प्रविधिको नियमित सञ्चालन, अभिलेखको सुरक्षा र छिटो–छरितो सेवा प्रवाह सुनिश्चित गर्नुपर्ने चुनौती पनि उत्तिकै छ। त्यसतर्फ समेत ध्यान दिन सके नरैनापुरमा भइरहेको सार्वजनिक सेवा विस्तारले नागरिकको दैनिक जीवनमा थप सहजता ल्याउने देखिन्छ।

नागरिकको घरदैलोमै राज्यको सेवा पुर्‍याउने अभ्यासमा नरैनापुरको ‘तरक्की’ एकपछि अर्को थपिँदै गएको छ।

प्रकाशित मितिः     २१ कार्तिक २०८३, शुक्रबार ०७:१८  |