लुम्बिनीमा सामुदायिक विद्यालयका विद्यार्थी घटे, निजीमा बढे


ai picture

 

नेपालगन्ज । नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन २०८२/८३ वार्षिक प्रतिवेदन (लुम्बिनी प्रदेश) अनुसार, लुम्बिनी प्रदेशमा सामुदायिक विद्यालयतर्फ अध्ययनरत विद्यार्थीको संख्या घट्दै गएको छ भने निजी विद्यालयमा विद्यार्थी संख्या बढेको छ।

प्रतिवेदनअनुसार समीक्षा अवधिमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको संख्या ७.७ प्रतिशतले घटेको छ। त्यसको विपरीत निजी विद्यालयतर्फ अध्ययनरत विद्यार्थीको संख्या १०.४० प्रतिशतले बढेको छ।

सामुदायिक विद्यालयमा २०८१ असार मसान्तमा १० लाख ३० हजार ८८८ विद्यार्थी रहेकामा २०८२ असार मसान्तमा ९ लाख ४ हजार ८७० र २०८३ असार मसान्तमा ८ लाख ३२ हजार १५६ विद्यार्थी रहेका छन्।

त्यस्तै, संस्थागत/निजी विद्यालयमा २०८१ असार मसान्तमा ४ लाख ३६ हजार ३२८ विद्यार्थी रहेकामा २०८२ असार मसान्तमा ५ लाख ४ हजार ३४ र २०८३ असार मसान्तमा ५ लाख ५२ हजार ५१८ पुगेका छन्।

प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीको संख्या समीक्षा अवधिमा १५.४७ प्रतिशतले घटेको छ। विश्वविद्यालयमा आबद्ध क्याम्पसमा अध्ययनरत विद्यार्थीको संख्या भने ६३.४४ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ।

विद्यालयको संख्यामा पनि सामुदायिक विद्यालयतर्फ ६.०९ प्रतिशत, निजी विद्यालयतर्फ ४.११ प्रतिशत, प्राविधिक शिक्षालयतर्फ ५.४५ प्रतिशत र विश्वविद्यालयमा आबद्ध क्याम्पसतर्फ १० प्रतिशतले कमी आएको छ।

शिक्षक संख्यामा भने सामुदायिक विद्यालयमा समीक्षा वर्षमा ०.७५ प्रतिशतले वृद्धि भएको छ। निजी विद्यालयमा शिक्षक संख्या ०.५३ प्रतिशत, प्राविधिक शिक्षालयमा ३.९१ प्रतिशत र विश्वविद्यालयमा आबद्ध क्याम्पसमा ५५.८ प्रतिशतले कमी आएको तथ्यांकमा उल्लेख छ।

प्रतिवेदनले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्नुका कारणमा अंग्रेजी शिक्षाप्रतिको अभिभावकको मोह, सरकारी विद्यालयमा आधुनिक, प्रविधिमैत्री तथा व्यावहारिक शिक्षाको कमी, न्यून विद्यार्थी संख्याका कारण हुने विद्यालय समायोजन, न्यून जनसंख्या वृद्धि तथा उच्च शिक्षा हासिल गर्न विदेशी विद्यालयप्रतिको मोहलाई उल्लेख गरेको छ।

स्रोत : नेपाल राष्ट्र बैंक, आर्थिक गतिविधि अध्ययन २०८२/८३ वार्षिक प्रतिवेदन (लुम्बिनी प्रदेश)।

प्रकाशित मितिः     २२ कार्तिक २०८३, शनिबार १६:१७  |