लुम्बिनीमा विश्वविद्यालयका क्याम्पसमा विद्यार्थी ६३ प्रतिशत घटे, सामुदायिक विद्यालयमा पनि गिरावट


 

नेपालगन्ज । लुम्बिनी प्रदेशमा विश्वविद्यालयमा आबद्ध क्याम्पसमा अध्ययनरत विद्यार्थीको संख्या एक वर्षमै ६३.४४ प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन २०८२/८३ वार्षिक प्रतिवेदन (लुम्बिनी प्रदेश) अनुसार २०८२ असार मसान्तमा ९३ हजार ४६४ विद्यार्थी रहेकोमा २०८३ असार मसान्तमा यो संख्या घटेर ३४ हजार २०५ मा झरेको हो।

प्रतिवेदनअनुसार विश्वविद्यालयमा आबद्ध क्याम्पसको संख्या पनि २०८२ असार मसान्तको १८० बाट २०८३ असार मसान्तमा १६२ पुगेको छ। क्याम्पस संख्या १६.४२ प्रतिशतले बढे पनि विद्यार्थी संख्या ६३.४४ प्रतिशतले घटेको देखिएको छ।

हेर्नुस् तथ्यांक

त्यस्तै, विश्वविद्यालयमा आबद्ध क्याम्पसमा शिक्षक संख्या पनि २०८२ असार मसान्तको ३ हजार ५१८ बाट घटेर २०८३ असार मसान्तमा १ हजार ५५५ मा झरेको छ। शिक्षक संख्या ५५.८ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ।

प्रदेशमा सामुदायिक विद्यालयतर्फ पनि विद्यार्थी संख्या घटेको छ। समीक्षा अवधिमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको संख्या ७.७ प्रतिशतले घटेको छ भने संस्थागत/निजी विद्यालयमा अध्ययनरत विद्यार्थीको संख्या १०.४० प्रतिशतले बढेको छ।

सामुदायिक विद्यालयमा २०८१ असार मसान्तमा १० लाख ३० हजार ८८८ विद्यार्थी रहेकामा २०८२ असार मसान्तमा ९ लाख ४ हजार ८७० र २०८३ असार मसान्तमा ८ लाख ३२ हजार १५६ विद्यार्थी रहेका छन्।

त्यस्तै, संस्थागत/निजी विद्यालयमा २०८१ असार मसान्तमा ४ लाख ३६ हजार ३२८ विद्यार्थी रहेकामा २०८२ असार मसान्तमा ५ लाख ४ हजार ३४ र २०८३ असार मसान्तमा ५ लाख ५२ हजार ५१८ पुगेका छन्।

प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीको संख्या पनि समीक्षा अवधिमा १५.४७ प्रतिशतले घटेको छ। २०८२ असार मसान्तमा १५ हजार ८५० रहेको विद्यार्थी संख्या २०८३ असार मसान्तमा १३ हजार ४२३ मा झरेको छ।

प्रतिवेदनले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्नुका कारणमा अंग्रेजी शिक्षाप्रतिको अभिभावकको मोह, सरकारी विद्यालयमा आधुनिक, प्रविधिमैत्री तथा व्यावहारिक शिक्षाको कमी, न्यून विद्यार्थी संख्याका कारण हुने विद्यालय समायोजन, न्यून जनसंख्या वृद्धि तथा उच्च शिक्षा हासिल गर्न विदेशी विद्यालयप्रतिको मोहलाई उल्लेख गरेको छ।

प्रकाशित मितिः     २२ कार्तिक २०८३, शनिबार १६:२९  |