सार्वजनिक यातायातमा यात्रुमाथि दुर्व्यवहार, कानुन हुँदाहुँदै व्यवहारमा सुधार कहिले?


नेपालगन्ज । सार्वजनिक यातायातमा यात्रुमाथि चालक तथा सहचालकबाट हुने दुर्व्यवहारका घटना बारम्बार दोहोरिन थालेका छन्। यात्रुलाई गालीगलौज गर्ने, झर्किने, जबर्जस्ती सवारीमा चढाउने, तोकिएकोभन्दा बढी भाडा माग्ने तथा विवाद हुँदा यात्रुलाई बीच बाटोमै झार्नेसम्मका घटना सार्वजनिक यातायातमा देखिने गरेका छन्।

यात्रुमाथि दुर्व्यवहार गरेको आरोपमा नेपाल प्रहरीले विभिन्न स्थानबाट चालक तथा सहचालकलाई पक्राउ गरी कारबाहीसमेत गर्दै आएको छ। पछिल्लो समय कञ्चनपुरमा सार्वजनिक बसमा महिला यात्रुमाथि हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका थिए।

यात्रुसँग गर्ने व्यवहारका विषयमा नेपालमा कानुनी व्यवस्था नै छ। सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ ले सार्वजनिक सवारीका परिचालकको कर्तव्यमा यात्रुसँग शिष्ट व्यवहार गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ।

त्यस्तै, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०१ ले सार्वजनिक यातायात सेवाका धनी वा व्यवस्थापकले यात्रुलाई यात्राको सुरुदेखि गन्तव्यसम्म निर्धारित समयभित्र सुरक्षित रूपमा पुर्‍याउनुपर्ने व्यवस्था गरेको छ। सवारी बिग्रिएर वा अन्य कारणले अघि बढ्न नसक्ने अवस्थामा पनि यात्रुको सुविधालाई ध्यान दिनु चालक, परिचालक तथा सम्बन्धित कर्मचारीको दायित्व हुने व्यवस्था छ।

ऐनको दफा १०९ ले यात्रु, चालक, परिचालक तथा सुरक्षाकर्मीमाथि अनुचित व्यवहार गर्न नहुने स्पष्ट व्यवस्था गरेको छ।

यात्रुलाई तोकिएकोभन्दा बढी भाडा लिनु वा सार्वजनिक सवारीले यात्रु लिन इन्कार गर्नु पनि कानुनी कारबाहीको विषय हो। सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ अन्तर्गत यस्ता कसुरमा यातायात निरीक्षक वा प्रहरीले तत्काल जरिवाना गर्न सक्ने व्यवस्था छ।

तर दुर्व्यवहारको प्रकृति गम्भीर भएमा विषय केवल यातायातसम्बन्धी कसुरमा सीमित रहँदैन। मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ ले सार्वजनिक स्थानमा कसैलाई अभद्र व्यवहार गर्न तथा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिमाथि हातपात वा हैरानी गर्न निषेध गरेको छ। यस्तो कसुरमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ।

अर्थात्, सार्वजनिक यातायातमा यात्रुसँग झर्किएर बोल्नु वा अपमानजनक व्यवहार गर्नु मात्रै होइन, हातपात, हैरानी, अश्लील शब्द वा अन्य गम्भीर दुर्व्यवहार भए त्यसअनुसार थप फौजदारी कानुनसमेत आकर्षित हुन सक्छ।

यात्रुमाथि हुने दुर्व्यवहारको समस्या नयाँ भने होइन। काठमाडौं उपत्यकामा मात्रै एक समय सार्वजनिक सवारीका चालक तथा सहचालकबाट यात्रुमाथि दुर्व्यवहार भएको भन्दै ठूलो संख्यामा गुनासा दर्ता भएको प्रहरीको तथ्यांक थियो। प्रहरीले चालक तथा सहचालकलाई यात्रुसँग सभ्य व्यवहार गर्न सचेत गराउँदै आएको छ।

कानुनले यात्रुको सुरक्षा, सुविधा र सम्मानजनक व्यवहारलाई प्राथमिकता दिए पनि व्यवहारमा भने यात्रुले अझै सहज र सम्मानजनक सार्वजनिक यातायातको अनुभूति गर्न सकेका छैनन्। त्यसैले चालक–सहचालकलाई कानुनी कारबाही मात्र होइन, यात्रुसँग गर्ने व्यवहार, सेवा संस्कार र जिम्मेवारीबारे नियमित तालिम तथा प्रभावकारी अनुगमन पनि आवश्यक देखिन्छ।

सार्वजनिक यातायात व्यवसाय हो, तर यात्रु त्यसका ग्राहक मात्र होइनन्—उनीहरूको सुरक्षा, सम्मान र सहज यात्रा सुनिश्चित गर्नु सेवा प्रदायकको कानुनी दायित्व पनि हो।

प्रकाशित मितिः     ३० कार्तिक २०८३, आईतवार ०९:२३  |