लुम्बिनीमा मासु र अण्डा उत्पादन घट्यो, पशुपालन क्षेत्र दबाबमा


नेपालगन्ज । लुम्बिनी प्रदेशमा दूध उत्पादन बढिरहेको भए पनि मासु र अण्डा उत्पादनमा भने ठूलो गिरावट आएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अध्ययन प्रतिवेदन २०८२/८३ अनुसार समीक्षा वर्षमा प्रदेशको मासु उत्पादन १२.४० प्रतिशत र अण्डा उत्पादन ५.६७ प्रतिशतले घटेको छ। यसले प्रदेशको मासुजन्य पशुपालन क्षेत्र कमजोर बन्दै गएको संकेत गरेको छ।

प्रतिवेदनअनुसार समीक्षा वर्षमा लुम्बिनी प्रदेशमा ५ लाख ५१ हजार ८५८.५० हजार लिटर दूध, ६६ हजार ३९८.०७ मेट्रिक टन मासु र २ लाख ३१ हजार ७७७.०५ हजार अण्डा उत्पादन भएको छ।

दूध उत्पादन भने समीक्षा वर्षमा ३.८६ प्रतिशतले बढेको छ। तर मासु उत्पादन अघिल्लो वर्ष ५.४८ प्रतिशतले बढेकोमा समीक्षा वर्षमा १२.४० प्रतिशतले घटेको हो। त्यस्तै, अण्डा उत्पादन पनि अघिल्लो वर्ष ४.६६ प्रतिशतले बढेकोमा यस वर्ष ५.६७ प्रतिशतले घटेको छ।

कुखुरापालनमा बर्ड फ्लु रोगका कारण अण्डा उत्पादन घटेको प्रतिवेदनमा उल्लेख छ। तर मासु उत्पादनमा आएको गिरावटले बाख्रा, राँगा–भैंसीलगायत मासुका लागि पालिने पशुपालनमा समेत चुनौती बढ्दै गएको देखिन्छ।

बाँके–बर्दियामा बाख्रापालक किसान समस्यामा

लुम्बिनी प्रदेशको मासु उत्पादनमा आएको गिरावटको असर बाँके र बर्दियाका बाख्रापालक किसानमा पनि देखिन थालेको छ। केही वर्षअघिसम्म व्यावसायिक बाख्रापालनतर्फ आकर्षित भएका किसान अहिले उत्पादन लागत बढेको, चरनको समस्या बढेको र बजारमा उचित मूल्य नपाएको गुनासो गर्न थालेका छन्।

बाँके र बर्दियाका ग्रामीण क्षेत्रमा ठूलो संख्यामा बाख्रा पाल्दै आएका कतिपय किसानले बाख्राको संख्या घटाएका छन् भने कतिपयले व्यवसाय नै छाड्ने अवस्था आएको छ। विशेषगरी दाना, घाँस, औषधि तथा श्रमिकको लागत बढ्दै जाँदा बाख्रापालनबाट हुने आम्दानीले खर्च धान्न कठिन भइरहेको किसानहरूको भनाइ छ।

बाँकेमा बाख्रापालन गर्दै आएका किसानका लागि चरन क्षेत्रको अभावसमेत थप समस्या बनेको छ। वन तथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा चरनमा लगाइएको प्रतिबन्ध र जंगली जनावरको जोखिमका कारण किसानले बाख्रालाई खुला रूपमा चराउन नसक्ने अवस्था छ। त्यसपछि घाँस तथा दाना किनेर खुवाउनुपर्ने हुँदा उत्पादन लागत बढेको किसानहरू बताउँछन्।

बर्दियामा पनि व्यावसायिक बाख्रापालनमा लगानी गरेका किसान बजारको अनिश्चितता र बढ्दो लागतका कारण समस्यामा छन्। केही किसानले विगतमा सयौँको संख्यामा बाख्रा पाले पनि अहिले संख्या घटाएर व्यवसायलाई निरन्तरता दिन बाध्य भएका छन्।

उत्पादन घट्नुमा लागत र बजार दुवै चुनौती

बाख्रापालनमा किसानले उत्पादन गरेको बाख्राले उचित मूल्य नपाउने तर उपभोक्ताले भने बजारमा महँगो मूल्य तिर्नुपर्ने अवस्था रहेको किसानहरूको गुनासो छ। किसान र उपभोक्ताबीचको मूल्य अन्तरमा बिचौलियाको भूमिका पनि ठूलो रहेको उनीहरूको भनाइ छ।

एकातिर उत्पादन लागत बढ्दै जाने र अर्कोतिर बिक्री मूल्यमा अपेक्षित वृद्धि नहुँदा किसानको नाफा खुम्चिँदै गएको छ। यही कारण नयाँ किसान बाख्रापालनमा आउन हिच्किचाउने र पुराना किसानले समेत व्यवसायको आकार घटाउने अवस्था देखिएको छ।

रुपन्देही दूध र मासुमा अगाडि, दाङ अण्डामा

नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार समीक्षा वर्षमा दूध उत्पादनमा रुपन्देहीको हिस्सा सबैभन्दा बढी २०.६८ प्रतिशत रहेको छ। रुकुम (पूर्व) को हिस्सा भने सबैभन्दा कम ०.७३ प्रतिशत छ।

मासु उत्पादनमा पनि रुपन्देहीको हिस्सा सबैभन्दा बढी १९.५२ प्रतिशत रहेको छ भने रुकुम (पूर्व) को हिस्सा २.३९ प्रतिशत मात्रै छ।

अण्डा उत्पादनमा दाङ अगाडि छ। प्रदेशको कुल अण्डा उत्पादनमा दाङको हिस्सा ३८.९१ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ।

प्रदेशमा दूध उत्पादन बढ्नु सकारात्मक भए पनि मासु र अण्डा उत्पादनमा आएको गिरावटले पशुपालन क्षेत्रको समग्र अवस्था चुनौतीपूर्ण बन्दै गएको देखाएको छ। बाँके–बर्दियामा बाख्रापालनमा देखिएको संकटले पनि किसानलाई उत्पादन, बजार, चरन, रोग नियन्त्रण र मूल्य व्यवस्थापनमा प्रभावकारी सरकारी सहयोग आवश्यक रहेको देखाएको छ।

प्रकाशित मितिः     १ मंसिर २०८३, सोमबार ०७:२३  |