नेपालगन्ज । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपालगन्ज–दिल्ली सिधा हवाई उडान, सुख्खा बन्दरगाह, रेलमार्गको पहुँचलगायत नेपालगन्जसँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई एजेण्डा बनाउन दबाब दिने उद्देश्यले नेपालगन्ज उद्योग वाणिज्य संघले सर्वदलीय–सर्वपक्षीय छलफल गरेको छ।
सोमबार नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा भएको छलफलमा बाँकेका राजनीतिक दल, उद्योगी–व्यवसायी, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकायलगायत विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता थियो। छलफलबाट प्राप्त सुझावका आधारमा प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगन्जका प्राथमिकताका मुद्दा उठाउन ध्यानाकर्षण गराउने निष्कर्ष निकालिएको संघले जनाएको छ।
संघका अध्यक्ष चिरञ्जीवी ओलीको अध्यक्षतामा भएको छलफलमा नेपालगन्जको आर्थिक तथा व्यावसायिक विकाससँग प्रत्यक्ष जोडिएका विषयलाई संघीय सरकारको प्राथमिकतामा राख्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
विशेषगरी नेपालगन्ज–दिल्ली सिधा हवाई उडान, नेपालगन्जसम्म रेलमार्गको पहुँच र नेपालगन्जस्थित एकीकृत भन्सार जाँचचौकी (आईसीपी) लाई सुख्खा बन्दरगाहका रूपमा विकास गर्ने विषय प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा उठाउनुपर्ने प्रमुख मुद्दाका रूपमा छलफलमा आएका छन्।
संघका अध्यक्ष ओलीले नेपालगन्जका यी विषय भारतसँगको सहकार्य र द्विपक्षीय समझदारीसँग प्रत्यक्ष जोडिएकाले प्रधानमन्त्रीको भारत भ्रमणलाई महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए।
“नेपालगन्ज–दिल्ली उडान, रेलमार्गको पहुँच र एकीकृत भन्सार जाँचचौकीलाई सुख्खा बन्दरगाह बनाउने विषय हामीले लामो समयदेखि उठाउँदै आएका छौँ। भारतसँग प्रत्यक्ष जोडिएका यी मुद्दा प्रधानमन्त्रीको भारत भ्रमणमा उठून् भन्ने हाम्रो चाहना हो,” ओलीले भने।
नेपालगन्ज–दिल्ली सिधा हवाई उडानलाई संघले नेपालगन्जको व्यापार, पर्यटन तथा सेवा क्षेत्र विस्तारका लागि महत्वपूर्ण पूर्वाधारका रूपमा लिएको छ। दिल्लीसँग सिधा हवाई सम्पर्क स्थापित हुन सके नेपालगन्जसँगै बाँके, बर्दिया, कर्णाली र सुदूरपश्चिमका नागरिक तथा व्यवसायीलाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ।
त्यस्तै, नेपालगन्जसम्म रेलमार्गको पहुँच विस्तारलाई सीमापार व्यापार र मालवस्तु ढुवानी सहज बनाउने दीर्घकालीन पूर्वाधारका रूपमा अघि बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। रेलमार्गको पहुँच विस्तार भए आयात–निर्यात लागत घट्नुका साथै नेपालगन्ज नाकाको व्यापारिक सम्भावना थप विस्तार हुने व्यवसायीहरूको भनाइ छ।
छलफलमा नेपालगन्जस्थित एकीकृत भन्सार जाँचचौकीलाई सुख्खा बन्दरगाहका रूपमा विकास गर्ने विषयलाई पनि प्राथमिकताका साथ उठाइएको थियो। नेपालगन्ज नाकाबाट हुँदै आएको व्यापारलाई थप व्यवस्थित, प्रतिस्पर्धी र प्रभावकारी बनाउन आवश्यक पूर्वाधार विस्तार तथा भन्सारसम्बन्धी सेवा सुविधाको स्तरोन्नति गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
सर्वदलीय–सर्वपक्षीय छलफलमा सहभागी राजनीतिक दल तथा विभिन्न क्षेत्रका प्रतिनिधिले नेपालगन्जका मुद्दा स्थानीयस्तरमा मात्र सीमित नराखी संघीय सरकारको प्राथमिकतामा लैजानुपर्ने धारणा राखेका थिए। उनीहरूले प्रधानमन्त्रीको भारत भ्रमणलाई नेपालगन्जका दीर्घकालीन आर्थिक तथा पूर्वाधार विकासका मुद्दा उठाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका थिए।
छलफलबाट प्राप्त सुझावका आधारमा नेपालगन्जका प्राथमिकताका विषय समेटेर जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने तयारी संघले गरेको छ।
नेपालगन्ज भारतसँगको सीमावर्ती प्रमुख व्यापारिक केन्द्र भए पनि अन्तर्राष्ट्रिय हवाई सम्पर्क, रेलमार्ग तथा व्यापारिक पूर्वाधारका हिसाबले अझै अपेक्षित रूपमा अघि बढ्न नसकेको व्यवसायीहरूको गुनासो छ। त्यसैले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालगन्जका मुद्दा द्विपक्षीय छलफलको एजेण्डामा समेटिए सीमावर्ती क्षेत्रको व्यापार, पर्यटन, यातायात र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।



