नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज–दिल्ली सिधा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्न तथा नेपालगन्जस्थित एकीकृत जाँच चौकीलाई स्तरोन्नति गरी सुख्खा बन्दरगाह निर्माण गर्न सरकारसँग माग गरेको छ।
संघले बाँकेका राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा विभिन्न क्षेत्रका अगुवाहरूको सर्वपक्षीय बैठकबाट प्राप्त सुझाव, निर्णय र निष्कर्षका आधारमा प्रधानमन्त्रीसमक्ष उक्त प्रस्ताव पेश गर्न जिल्ला प्रशासन कार्यालय, बाँकेमार्फत पत्राचार गरेको हो।
संघका अध्यक्ष चिरञ्जीवी ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गर्दै पठाएको पत्रमा नेपालगन्जलाई पश्चिम नेपालको अन्तर्राष्ट्रिय हवाई तथा व्यापारिक केन्द्रका रूपमा विकास गर्न तत्काल आवश्यक पहल गर्न आग्रह गरिएको छ।
संघले नेपालगन्ज विमानस्थलबाट भारतको राजधानी नयाँदिल्लीसम्म सिधा अन्तर्राष्ट्रिय उडान सञ्चालन भए बाँके, बर्दिया, दाङ तथा कर्णाली र लुम्बिनी प्रदेशका नागरिकलाई अन्तर्राष्ट्रिय आवागमनमा सहज हुने जनाएको छ। सिधा उडानले पर्यटन, धार्मिक यात्रा, स्वास्थ्य, शिक्षा, व्यापार तथा लगानी प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने संघको दाबी छ।
विशेषगरी कैलाश मानसरोवरलगायत धार्मिक तथा पर्यटकीय गन्तव्यमा आउने विदेशी पर्यटकका लागि नेपालगन्जलाई महत्वपूर्ण प्रवेशद्वारका रूपमा विकास गर्न सकिने संघले जनाएको छ। त्यसका लागि नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पूर्वाधार तथा सेवा सुविधासहित स्तरोन्नति गरी नेपाल र भारतबीच हवाई मार्ग, उडान अनुमति तथा आवश्यक कूटनीतिक समन्वयको प्रक्रिया अघि बढाउन माग गरिएको छ।

त्यस्तै, नेपाल–भारत सीमाको जमुनाह नाकामा रहेको विद्यमान एकीकृत जाँच चौकीलाई स्तरोन्नति गरी आधुनिक सुविधासम्पन्न सुख्खा बन्दरगाह निर्माण गर्नुपर्ने माग संघले अघि सारेको छ।
सुख्खा बन्दरगाह निर्माण भए आधुनिक कन्टेनर यार्ड, गोदाम, कोल्ड स्टोरेज, बण्डेड वेयरहाउस, कार्गो व्यवस्थापन तथा भन्सार जाँचपासलगायतका पूर्वाधार विकास गर्न सकिने संघको भनाइ छ। यसबाट पश्चिम नेपालको आयात–निर्यात व्यापारलाई व्यवस्थित, सहज र लागत प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
संघले भारतको रुपैडिहास्थित ल्यान्ड पोर्टसँग समन्वय गरी नेपालगन्जलाई तेस्रो मुलुकसँगको व्यापार तथा पारवहनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना समेत औँल्याएको छ।
यी दुवै आयोजना कार्यान्वयन भए नेपालगन्जलाई पश्चिम नेपालको प्रमुख अन्तर्राष्ट्रिय हवाई, पर्यटन, व्यापार तथा पारवहन केन्द्रका रूपमा स्थापित गर्न सकिने संघको निष्कर्ष छ।
मिति २०८३ कार्तिक ३० गते नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाइमा भएको सर्वपक्षीय बैठकको निष्कर्षका आधारमा प्रधानमन्त्रीसमक्ष प्रस्ताव पेश गरिएको संघले जनाएको छ। संघले दुवै विषयलाई राष्ट्रिय प्राथमिकतामा राखी आवश्यक नीतिगत, प्राविधिक, वित्तीय तथा कूटनीतिक प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।


