मौलाकोटको उकालो ओरालो


— खगेन्द्र गिरि ‘कोपिला’

भन्न त धेरैले भनेका थिए हामी पनि जाने हौं भनेर । जाने बेलामा भने तीन जना मात्रै भैयो । म पुष्पलाल चोक पुग्दा ठिङ्ग उभिएका थिए प्रकाश सङ्गम र सागर बिष्ट । तीनै जना लागेका हांै झिसमिसेमैं घोराहीतर्फ । आँखा झिमिक्क नगर्दै बसले पु¥याएको थियो कोहलपुर चोकमा । यो हायस भन्ने सानो बस बडो छिटो दुगुर्दो रहेछ । कोहलपुर भर्खर आँखा मिचेर ब्यँुझिने तरखर गर्दै थियो । केही बेर रोकिनु प¥यो चोकैमा । पर्खिदापर्खिदै घाम झुल्कियो । चारपाँच जना यात्रु कोहलपुरमा थपिएपछि सानो बस छिट्टै भरियो । अनि कुद्न शुरु ग¥यो उही मस्तमौला तालले ।
रोहिणी खोला काटेपछि बाँके राष्ट्रिय निकुञ्जको हरियाली शुरु भयो । प्रकाशको नयाँ ओप्पो मोबाइलले फोटो खिचिकखिचिक गर्न थाले सागर । बसमा गीत बज्न थाल्यो — माया हिड्यो पोखरा म त हिंडे दाङको बसैमा ।
‘अहिले फोटो खिचेर चार्ज नसक न बाबु, पछि मौलाकोटमा केले खिच्छौ?’ मोबाइलको चार्ज सकिएला भन्ने पिरले यसो नभनी रहन सकेको थिएनँ म । सागरले फोटो खिच्न त छोडे तर कानमा एअरफोन पसाएर गीत पो सुन्न थाले । आखिर जसरी पनि चार्ज सकिने नै भयो । मलाई यता पिरलो परिरह्यो । हुन त सागरको यो पहिलो यात्रा हो । उसैमा उनको बीस वर्षे तन्नेरी उमेर । रमाएका छन् उनी । भैगो सकिए सकियोस् । केही भन्दिन गीत सुनैरै रमाउन् उनी ।
छिट्टै पु¥यायो लमही हायस गाडीले । नत्र ठूला बसमा आएको भए दिक्कै लागि सक्थ्यो ढिलो गरेर । लमही बसपार्कमा भेटिनु भो छविलाल कोपिला र नीम बहादुर थापा । हाम्रै बसमा चढ्न आइपुग्नु भो उहाँहरु पनि ।
‘दाङको बस भनेको यही हो भाइ?’ नीमबहादुर दाजुले मलाई जिस्क्याई हाल्नु भो । मैंले बिहान कोहलपुर पुगेपछि फेसबुकमा स्टाटस हालेको थिएँ —प्रकाश हिड्यो पोखरा म त हिडें दाङको बसैमा । त्यही पढ्नु भएको रहेछ ।
‘दाजु बस त यही हो तर प्रकाश पोखरा नगएर यतै आए’
‘दश बारह जनाको टोली छ भन्नु भएको हैन? खोई त देउखु¥यान बगाल?’ मैले पनि जिस्क्याएँ उहाँलाई ।
‘आज सिंगो देउखुरीको प्रतिनिधित्व हामी दुई जनाबाटै हुने भो’ छविलाल मिटवाले सफाई दिनु भो ।
‘बलु (बलबहादुर जिएम) आउँछ होला’ नीमबहादुर दाजुले गर्नु भो अझैं मान्छे थपिने आश ।
‘अब पर्खेको पर्खेई हो’ मिटवाको बोलीबाट पोखियो कसैलाई पर्खिदाको खिन्नता ।
अर्जुन खोलाको मोड काटेर उत्तर लागेपछि भोकाएका प्रकाश र सागर उङ्न थाले । नीमबहादुर दाजुको गफ मच्चिन थाल्यो । म अघिल्लो आसनमा, उहाँ पछिल्लो आसनमा परेकोले मलाई टाउको पछाडि फर्काएर हैरान । कानले सुनेर मात्रै नहुने उहाँलाई । मैले उहाँका कुरामा ध्यान दिएको छु भनेर प्रमाणित गर्न बेलाबेला पछाडि मुन्टो फर्काएर आँखा जुधाउनै पर्ने ।
‘दाजु अहिले गफ नसक्नु होला पछि उकालोमा हिड्दा सुन्नु पर्छ’ मैले टाउको पछाडि नफर्काएरै भनें ।
‘सकिन्न उहाँको कुबेरको भण्डार यति छिट्टै सकिने बाला छैन’ मिटवा बोल्नु भो । गाडीभित्र फैलिएको गलल्ल हाँसोले मुसोटको घुमाउरो मोड काटेको थाहै पाइएन । तल अर्जुन खोला सुसाइरहेको छ आफ्नै लयमा । बसमा गीत बजिरहेको छ— कलकल खोला साइँलीजी झरझर झरना’ ।
चौपट्टाको मोड र कुइरेपानीको ओरालो काटेपछि दाङको हरियो फाँट आँखानिरै आएर नाँच्न थाल्यो । नीमबहादुर दाजुका गफ रोकिए । हामी आँखा सोझ्याउन थाल्यौ दाङ उपत्यकाका हरितिमा दृश्यपट्टि ।
‘ओहो ! कति ठूलो कारखाना?’ सागरको कुतुहलता पोखियो ।
‘सिमेन्ट कारखाना हो’ नीमबहादुर दाजु बोल्नु भो ।
यो कारखाना स्थापना भएपछि गोग्ली भन्ने सानो गाउँ ठूलै बजार बनिसकेको छ । गोग्लीको माथिमाथि आकाशमा कारखानाले फालेको धुँवा र धुलोको तुवाँलो घुम्म देखियो । पछिपछि यस कारखानाले यहाँको पर्यावरणलाई बिगार्न झन् कस्तो भूमिका खेल्ला? यस्तैयस्तै कुरा मनभित्र खेल्न थाले ।
प्राकृतिक सौन्दर्य र विकासको प्रतिष्पर्धा हेर्दै घोराही पुग्यौं । बसबाट झरेर खाना खान थाल्यौँ हामी । एकछिन हराउनु भो नीमबहादुर दाजु— मौलाकोट जाने साथीहरु खेड्छु भन्दै ।
आखिर यहाँ पनि कोही थपिएनन् । आ ठिकै छ मान्छे धेरै भएर पदयात्राको रमाइलो थपिने हो र? मौलाकोटका पाखाहरु त कोही गए पनि, नगए पनि आफ्नै परिवेशमा मुग्ध भैरहेकै हुन्छन् । हामीले पनि आआफ्नै आँखाले टिप्ने हो त्यसको सौन्दर्यलाई । आआफै गर्ने हो यात्रानुभूतिको रसास्वादन ।
पाँच जना हामी लाग्यौं बारहकुने तालतर्फ टेम्पो चढेर । त्यहाँ थपिइन् ऋतु गिरि । एक्लो महिला, पुरुषहरुको हुलमा मिसिन, उनले असजिलो मानिन् । निमवहादुर दाजुले तिमी हाम्रो छोरी नातिनी जस्तै हौ, किन असजिलो मानेको? भनेपछि हाँस्दै अघिअघि लागिन् उनी । नाताको अपनत्व छचल्कियो उनका आँखाभरि ।
बारकुने तालबाट दायाँतर्फ अकबरेफाँट हुँदै तन्कियो रोल्पा जाने पक्की सडक । त्यो सडक छोडेर हामी देब्रेपट्टिको उकालो चढ्न लाग्यौं ।
२०७६ साल भाद्र नौ गतेको पारिलो दिन । तिथि परेको छ आज अजा एकादशी । संघारैमा आइपुगेको छ तीज । यो मौसमलाई संगीत र उमङ्गले सर्लक्कै छोपेको हुन्छ गाउँघरतिर । एकदमै शान्त र सुनसान छ मौलाकोटको उकालो भने । डोजरले खनेको चाक्लो बाटो, वरपर मिलेर उभिएका बोट बुट्टयानहरु, खुल्ला आकाश र हरियो शारदीय परिवेश ।
शुरुमा त म पनि खुबै हौसिएको हुँ । लमकलमक उकालोमा पाइला बढाएकै हुँ तर आधा घण्टाजति हिंडे पछि त फतक्क गल्न थाले मेरा पिंडौंला । बिहानबिहान हिंड्ने गरेको फुर्तिले पनि हार मान्न लाग्यो । सास बढ्न थाल्यो । छिटोछिटो चल्न थाल्यो मुटुको चाल । खलखली पसिना आएर भिज्न लागे कपडा पनि । अरुको जस्तो गतिवान् बन्न सकेन मेरो हिंडाईको गति । नीमबहादुर दाजुले रुखको एउटा हाँगो भाँचेर मेरो निम्ती लट्ठी बनाइदिनु भो । त्यसैको सहारामा उकालो उक्लिन थालें म । अरु लुरुलुरु हिंडेर माथि पुगि सक्छन् । खुईँखुई गर्दै तलै हुन्छौं म र ऋतु । माथितिर आँखा लगाएर हे¥यो भने साना थुम्का पनि हिमालजस्तै अग्ला लाग्छन् । कसरी पुगिएला मौलाकोटको टुप्पोमा खै?
‘ए ऋतु नानु ! मलाई छोडेर तिमी चैं अगाडि नजानु ल’
‘हुन्छ अंकल बिस्तारै हिड्नु, पछिपछि छु नि म’ उनको ढाडसले मलाई केही भर हुन्छ ।
मेरो झोला बोकी दिईन् उनले । आफ्नो छाता पनि मलाई ओढ्न दिइन् । एउटा हातमा छाता र अर्को हातमा लट्ठि छ मेरो । उनी पहिला यो बाटो हिंडीसकेकी हुनाले आज हाम्री गाइडजस्तै बनेकी छन् । यो यस्तो हो, त्यो उस्तो हो भनेर हामीलाई सकुन्जेल यहाँका ठाउँ, बोट, बिरुवा, रुख, पातपतिङ्गरका बारेमा जानकारी दिइरहेकी छन् ।
‘ऊ त्यही हो अंकल ज्यामिरे दह’ । देब्रेतिर तल गहिरोमा नीलो पानीको दह देखियो । ऋतु लागिन् ज्यामिरेको वर्णन गर्न । चन्द्रमाको एउटा टुक्रा आकाशबाट खसेर पहाडको बीचमा झरेजस्तो । आहा कति राम्रो हो कचौरा आकारको दह ।
हामी आँखामा सजाउन थाल्यौं ज्यामिरेको सौन्दर्य । वरिपरि हरिया थुम्काहरुले घेरिएको दह निकै सुन्दर लाग्यो । दह वरपरको दृष्य हेरेर आँखा झिमझिम गर्न पनि बिर्सेझैं भयौं हामी । त्यहींनिर रोकिएजस्ता भए हाम्रा पाइला एकछिन त । बारह कुने दहभन्दा यो दह निकै ठूलो रहेछ । ढकमक्क जङ्गलको बीचमा दहको दृश्य सारै मनमोहक लाग्यो । त्यस दहलाई पृष्ठभूमिमा पारेर फोटो खिच्यौं मन लागुञ्जेल ।
‘जाउँ अब ! धेरै उकालो चढ्नु छ अझैं’ ऋतुको आवाजले झसङ्ग बनायो ।
अल्छी लागेझैं गरी पाइला बढे । आजको सिंगो दिन यहींनिर बसेर ज्यामिरेलाई हेरिरहन पाए कस्तो हुँदो हो? आँखा चिम्म नगरेर ।
बढाइरहेका छौं पाइला हामी ठाडो उकालोतर्फ । आँखा भने ज्यामिरे दहतर्फ नै सोझिएकै छन् । शुरु भयो अग्ला रुखहरुले ढपक्क ढाकिएको जङ्गल । नीमबहादुर दाजु जङ्गलका बोट बिरुवाका नाम भन्न थाल्नु भो— बकाइनु, उन्युँ, अँयर, उत्तिस, कटुस, भीमल, चुत्रो, च्युरी, चिलाउने, अम्रिसो, पुरेनी आदिआदि । मिटवा छविलाल कोपिला ती नामहरुलाई थारु भाषामा अनुवाद गर्न लाग्नु भो । भाषाको ज्ञान बढ्यो हाम्रो पनि । प्रकृतिको विविधताजस्तै अपार छ हाम्रो भाषिक विविधता पनि ।
म खोजिरहेको थिएँ मधुमेहको औषधी हुने असारेको विरुवा । बल्ल देखियो ।
‘हम्रे इहे बिनबिनभिरिया कहटी जे’ मिटवाले यसको थारु भाषाको नाम भन्नु भो । ‘यतातिर बख्रेउटी भन्छन् यसलाई’ ऋतुले स्थानिय नाम भनिन् । ‘भारतमा यसलाई कडीपत्ति र अङ्रेजीमा करि लिफ भन्छन्, मधुमेहको अचुक औषधि हो यो’ फररर बोल्न थालें म । मानौं म ठूलै आयुर्वेदाचार्य हुँ ।
बिस्तारै दह पनि ओझेल प¥यो । स्याँस्याँ फ्याँफ्याँ गर्दै एउटा हरियो चौरनिर आइपुग्यौं । उकालो बाटोमा भेटिएको यो फराकिलो चौरमा एकछिन नसुस्ताएर अगाडि बढ्न मान्दै मानेन मनले । हरियो दुबो पलाएको चौरमाथि ढल्काएँ थाकेको जिउ । आँखा खोल्नै मन लागेन निकै बेर । यति राम्रो चौरमा पल्टिन पाएपछि त निन्द्रा लाग्ला जस्तो पो हुन लाग्यो ।
चौर वरपर बेलका सानाठूला रुखहरु उभिएका छन् । एकै ठाउँमा यति धेरै बेलका रुख मैले आजसम्म देखेको थिएनँ । ‘यो त बेलचौर नै रहेछ’ नीमबहादुर दाजुले नामकरण गरिहाल्नु भो यो ठाउँको । हामीले ताली पिट्यौं ।
दक्षिणतर्फ हरियो उज्यालो दाङ् उपत्यका मुसुक्क मुस्कुराइरहेको छ । मानौं हामीलाई नै हेरेर ऊ पनि चहकिएको छ । फराकिलो उपत्यकाको विहंगम दृश्यले आँखाहरुलाई अचम्मैसंग लोभ्यायो । ओहो कस्तो मनै लोलाउने परिवेश । बादल फाटेर उघ्रिएको खुला आकाश । लमतन्न सुतेको हरियो फाँट । परपर ससाना थुम्का । प्रकृतिको अदभूत कला । हेरिरह्यौं नअघाउन्जेलसम्म । निकैबेर सुस्तायौं त्यहाँ ।
यहाँनिर एउटा रिजोर्ट खोल्ने हो भने कति चल्दो हो? प्रकाशले मीठो परिकल्पना गरे ।
‘चल्छ न त चल्छ बाबु ! तर यहाँ भन्दा राम्रा ठाउँ माथितिर पनि भेटिने हुन् कि?बरु हिंडिहालौं’ नीमबहादुर दाजुले उठ्दै भन्नु भो । गलल्ल हाँस्दै उठ्यौं सबैजना र लाग्यौं फेरि उकालो । प्रकाशको परिकल्पना पनि गफको विषय बनेर हामीसंगै हिडिरह्यो । गफको अर्को विषयको उठान नहुँदासम्म ।
बारह कुने दहबाट हतारहतार उकालो लाग्दा पानी बोक्न भने बिर्सिएका हौं हामीले । प्यास लागेर प्याकप्याक हुन थाल्यो मुख । गाउँ आउने अझैं छाँट छैन । सागर र प्रकाशको फोटोग्राफी जारी छ । उनीहरु त बाटो अलि घुमाउरो हुन लाग्यो भने ठाडै उकालो चढ्छन् । बाटो चाहिन्न उनीहरुलाई । मलाई भने बाटो घुमाउरो आयो भने अलि सहज लाग्छ । ठाडै उकालो आयो भने सास बढ्न थाल्छ । तैपनि छलफल र खलबलमा सहभागि हुँदै पछिपछि हिंडिरहेकै छु लुरुलुरु ।
हामी छ जनाको गफ र हल्लाको आवाजले यहाँको वन्य परिवेशको एकाग्रतालाई भंग गरेजस्तो लाग्छ । फुर्रफुर्र गरेर एउटा हाँगाबाट अर्को हाँगामा उड्दै रमाइरहेका चराचुरुङ्गीहरु हाम्रो आवाजले तर्सेजस्तो गर्दै च्याच्ँयाँ चुँचुँ गर्न लाग्छन् । वातावरण सङ्गीतमय बन्छ । प्रकाश र सागर उफ्रिदै कहिले वल्लो ढिस्को त कहिले पल्लो ढिस्कोमाथि चढेर तिनै चराचुरुङ्गीलाई समात्न खोज्छन् । उनीहरुका बाँदरे चटक देखेर एकोहोरो हाँसिरहेकी छन् ऋतु । बाल उमेरको प्रफुल्लताले हामी तीन जना अधबैंसेहरु पनि औधी रमाएका छौं । गुरिल्लाको भन्दा पनि फुर्तिलो लाग्छ मलाई उनीहरुको यो चर्तिकला । बाँदरकै सन्तान त हौं रे हामी मानव पनि । बाँदरले गर्ने कार्य बिस्तारै गर्न छाँडेर यो युगमा अल्छी र सुविधाभोगी बन्न पुगेका न हौं रे । यसै भन्छन् प्राणीशास्त्रीहरु ।
‘उ गाउँ देखियो’ ऋतुले औंला सोझ्याइन् माथितिर ।
हरियो पाखामा सेता घरका आकृति देखिए माथिपट्टि । पानी पिउन नपाएर प्याकप्याक परेको ओंठमा केही आश पलायो । ‘अब थोरै छ’ बाटोभरि भनेको भनेई छन् ऋतु । दङ्गाली लबजमा ‘ऊ हित्तिनँ हो’ भन्दै दुई घण्टा हिंडाई सकिन् ऋतुले हामीलाई । अब भने गन्तव्यमा बल्ल पुगियो भन्ने आश पलायो ।
गन्तव्यबिहिन भएर हिड्नु भन्दा गन्तव्य देखेपछि हिड्नु झन् गाहारो हुँदोरहेछ । यति लामो उकालो चढेर पनि आँखैनिर देखिने गाउँमा पुग्न झन् सकस प¥यो । घाम पनि कति चर्को हो आज । हिड्न पनि मस्तले हिंडियो । तलतिरको भन्दा गाउँ पुग्ने बेलाको बाटो अलि ठाडै रहेछ । पातला रुख र ढुङ्गे चट्टान छन् गाउँमुन्तिरको भिरालोमा । अरु ठाडै उकालो चढे । मैले भने घुमाउरो बाटो छोडिनँ ।
मुस्किलले पुगियो गाउँ । पहाडी ढलानमा टार परेको जस्तो समतल ठाउँमा दशबारह ओटा घर वरपर छरिएका छन् । गाउँको बिचैमा सुतेको छ फराकिलो बाटो । सेता र सफा घर । मकै काटेर रित्ता भएका बारी पनि देखिए । छेउछेउमा भटमासका लहरा हावामा फर्पmराइरहेका छन् । बारीभरि टमाटरका बोट पनि लटरम्मै फलेर उभिएका देखिए । रसिलो र उर्वर रहेछ यो गाउँ ।
यहाँबाट उँभोतिर हेर्दा देखिए दुई ओटा थुम्का । तल्लो थुम्काको डिलैमा रुखहरुको बीचमा सेतो रङ्गको मन्दिर देखियो । ‘ऊ त्यही भो मौलाकोटको मन्दिर’ ऋतुको वचन पोखियो । हाम्रा आँखा सोझिए त्यतैतिर । अझै रहेछ निकै नै चढ्न बाँकी उकालो ।
गाउँ पुगेर टन्न पानी पिउँला भन्ने हाम्रो रहर भने पुरा हुन पाएन । गाउँमा कतै देखिएन धारा । एउटा पसल देखियो । त्यतै लाग्यौं हामी । केही मान्छे भेला भएका थिए आँगनमा । मोटरसाइकिल पनि देखियो एउटा ।
‘पानी पिउन पाइएला बहिनी?’ सदा झैं निमबहादुर दाजु नै बोल्नु भो शुरुमा ।
मिनरल वाटरको बोतल थमाइदिइन् पसलकी साहुनीले । उतैको पानी पिउँला भन्ने रहर पुरा नभए पनि बोलतमा बन्द भएको पानीले मेटाइयो प्यास ।
‘मोलाकोट आएर पनि घोराहीकै पानी? यहींको धाराको पानी छैन बहिनी?’ नीमबहादुर दाजुको तीर्खा अझैं मेटिएको छैन ।
‘ऊऊऊ तअअअअल छ धारो त’ बोकेर ल्याएको पानी दिन मन गरिनन् उनले । हामीले पनि कर गरेनौं ।
‘कहाँबाट आउनु भो सरहरु?’ हेलमेट लगाउँदै एक जना हँसिला युवकले परिचय मागे । परिचय दिनु भो नीमबहादुर दाजुले नै । हाम्रो टोली देखेपछि ती युवक र अर्की एउटी युवतीले त्यहाँ भैरहेको छलफल टुङ्ग्याएर हिड्न हतारिए जस्तो गरे ।
‘भाइहरु कृश्चियनको प्रचारमा हो कि क्या हो?’ मैले आशंका पोखि हालें ।
‘हैन हैन सर हामीहरु स्वास्थ्यकर्मी हौं’ आत्तिएँ झैं गरि उत्तर फर्काए ती युवकले ।
‘अचेल कृश्चियनको प्रचारप्रसार गाउँघरतिर धेरै देखिन्छ, हामीलाई देखेर तपाइँहरु तर्किनु भएजस्तो लागेर सोधेको हुँ भाइ, डोन्ट माइन्ड है’
‘नाइँ नाइँ ठीकै छ सर’ यति भनेर उनले मोटरसाइकिल स्टार्ट गरि हाले ।
गाउँको सिरानमा पुग्यो हाम्रो टोली । एउटा घरको आँगननिर ठूलो समीको रुख देख्यौं । त्यसैको छहारीमा सुस्तायौं एकछिन । पहाडी उकालोमा त हिंडाई भन्दा ज्यादा थकाई मेटाउने काम हुँदो रहेछ । फुरनदाना बोकेका थियौं झोलामा । मज्जाले नास्ता मानेर खायौं त्यसैलाई । अनि टन्न पियौं पानी । लाग्यौं फेरि उकालो ।
उकालो चढ्दैचढ्दै एउटा सानो मन्दिरनिर पुग्यौं हामी । ठाडै भिरालोको सिरानमा टुक्रुक्क बसेको छ एक्लो मन्दिर । मगर समुदायका कुल देवता वराहको मन्दिर रहेछ यो । भगवान विष्णुका दश अवतार मध्ये तेस्रा अवतार मानिन्छन् वराह । भगवान विष्णु वराहको नाममा सुँगुरको रुप लिएर यस धर्तीमा आउनु भएको विश्वास गरिन्छ ।
मन्दिरको वरिवरि फलामको बार लगाइएको छ तर मन्दिरको ढोका भने ह्वाँङ्गै । आँगनको माथिपट्टि प्रतिक्षालय रहेछ । मन्दिरमा दर्शन गरेर थचक्क बस्यौं त्यहीनिर । मन्दिरको शीलापत्रमा मन्दिर व्यवस्थापन समितीको नामाबली पढें । ब्राह्मणहरुको नाम एउटै रहेनछ । समितीमा मगर, क्षत्री र विश्वकर्मा समुदायका मानिसमात्रै रहेछन् । तथाकथित ब्राह्मणबादले मुक्त रहेछ यो मन्दिर ।
मन्दिर रहेको ठाउँभन्दा पल्लोपट्टिको भिरालो पाखोमा ठूलो गाउँ देखियो । ‘खास मौलाकोट भनेको यही गाउँ हो अंकल’ ऋतुले गाइडको भूमिका निभाइन् फेरि । पूर्वपट्टि फर्किएको भिरालो अलि ओसिलो लाग्यो । कतै चहलपहल छैन मानिसहरुको । सुनसान र शान्त छ गाउँ । पाखाभरि लहलह छन् मकै, कोदो, तील र भटमासका बोटहरु । काक्रा, कुभिण्डो र फर्सीका लहराले जेलिएका छन् हरेक घरका छत, बारी र कान्लाहरु ।
‘काक्रा किनेर खान पाए पनि हुन्थ्यो नि’ मेरो मनको लोभ वाक्य बनेर प्रस्फुटन भइहाल्यो । गाउँमा कतै देखिएनन् मान्छेहरु । हरेक घरमा ढोका ढप्काइएको छ । कहाँ गए होलान् सबै गाउँलेहरु ? कसलाई मागेर खाने होला काक्रा !
मन्दिर माथिपट्टिको पाखोमा थरीथरीका जङ्गली फूलहरु फुलिरहेका छन् । कोही राता, कोही पहेंला, कोही सेता । के होलान् यी फूलहरुका नाम । बाटोको वरिपरि सिस्नो र ऐसुलुका झ्याङ उभिएका छन् प्राकृतिक बार बनेर । बाटो पल्तिरका बारीहरुलाई पहरा दिइरहेझैं गरी । निकै उँचाईमा पुगेकोले होला बतासको स्पर्श चिसोचिसो लाग्न थाल्यो । चर्को घामले गालामा डामीरहे पनि अघिको जस्तो हपक्क छैन यतातिरको गर्मी । तीन घण्टाको उकालोमैं यति फरक छ मौसम । प्रकृतिको लीला अपरम्पार भनेको यही होला कदाचित ।
‘माथिल्लो थुम्काबाट वरपरका सबै पहाड देखिन्छन्’ ऋतुले हाम्रो गन्तव्य अझैं नसकिएको जनाउ दिइन् ।
‘अँ हँ म त सक्दिन अब माथि उक्लिनँ । यत्रो उकालो चढेर यो मन्दिरसम्म आइपुगियो, अब पुग्यो मलाई’ यहाँबाट माथि चढ्न मानेन मेरो मनले । स्वामी विवेकानन्दको भनाई सम्झिएँ— ‘एउटा पहाड उक्लिए पछि थाह हुन्छ अझैं उक्लिन बाँकी पहाड कति छन् कति भनेर’ । पहाड चढ्दा हरेक उकाला, हरेक पाखा, हरेक थुम्का र हरेक चुचुराहरुले यस्तैयस्तै हाँक दिइरहेका हुन्छन् सधैं मान्छेलाई । उकालो चढ्दैचढ्दै शिखरमा पुगेको जस्तो भान हुन्छ तर झन् माथि अर्को चुचुरोले हाँक दिइरहेको हुन्छ । पहाडका सबै चुचुराहरुमा त कहाँ सकिन्छ र पाइला टेक्न । बास्तबमा यस्तै नभेटिने चाहनाका गन्तव्यहरुको लीला त हो जिन्दगी भन्नु पनि ।
साथिहरुले मन्दिरभन्दा माथिल्लो थुम्कोमा पुगेरै फर्किने अठोट गरेका छन् । मलाई भने मौलाकोट मन्दिर वरिपरिको हरियो परिवेशले अठ्याएको छ । ऋतुले पनि अल्छि मानिन् ।
‘लौ गिरिहरुलाई मन्दिरको धुनीले मोहनी लाएजस्तो छ, बस्दै गर्नु, अलख जगाउँदै गर्नु, हामी माथि पुगेर आउँछौ’ भन्दै उठ्नु भो मिटवा छविलाल कोपिला पनि । हुन पनि हो, मन्दिरको आँगनमा पुगि सकेपछि अरु कुनै ठाउँमा पुग्ने चाहना बाँकी रहँदो रहेनछ । अर्कै आनन्द र सन्तुष्टी दियो यहाँको शीतल हावाले । निकै बेर हेरि रहेँ परपरका विविध प्राकृतिक छटाहरुलाई, वन वनस्पति र भूगोलका अनेकौं आकृतिहरुलाई । मन एकोहोरो बगिरह्यो अनुभूतिका अजस्र छालसंग । यहाँका पहाड, पखेरा, पाखा, डाँडा, काँडा, खोल्सा, खहरे, रुख, बोट, विरुवासंग आत्मालाप गरिरह्यो मनले ।
मन्दिरभन्दा माथिल्लो पाखोमा आफ्नै खाले अमूर्त कला पस्किरहेका सेतासेता भीमकाय ढुङ्गाहरु देखिए । यिनै ढुङ्गाहरुलाई अँगालो हालेर मायाको अजम्मरी गीत गाइरहुँ जस्तो लाग्यो । पोखें मनको अलिकति कुतुहलता ती ढुङ्गामाथि । कविवर गोविन्द राज विनोदीका कवितांश पङ्क्ति सम्झिएँः
व्योम चुम्ने उँचा ह्यूँचुली छन् यहीँ
शान्तिदायी हरा शैल हाँस्छन् यहीँ
निर्झरीले सदा नृत्य गर्छिन् यहीँ
रम्य नेपालझैं छैन धर्ती कहीँ

त्यही ढुङ्गेलो पाखोको क¥याङम¥याङ बाटोहुँदै माथिल्लो थुम्कोसम्म पुगेका साथीहरु फेरि त्यही बाटो हुँदै तल झरिरहेका छन् ।
‘भाइइइइइइ !’ परबाट रुमाल हल्लाउँदै चिच्याउनु भो नीमबहादुर दाजु ।
‘दाजुउउउउ’ यताबाट फर्कियो मेरो आवाज त्यसैगरि ।
दुईटा आवाज आपसमा ठोक्किएर बन्यो अनौंठो ध्वनि र ठोक्कियो परपरका पहाडी थुम्काहरुमा ।
घडीको सुई दुई बजाउन खोज्दै थियो । घाम पश्चिमपट्टि ढल्कि सकेका थिए । मन एकतमासले रमाइरहेको थियो ।
‘अब त हिड्नु पर्छ, नेपालगंज फर्किन ढिलो हुन्छ’ एक्कासी अतालियो मेरो मन ।
‘आज यतै बसे हुन्न अंकल? हाम्रो पनि त घर छ नजिकै’ ऋतुको आत्मियता मौलाकोटको पाखाभरि छरिएको उज्यालो घाम जस्तै चहकियो । अघि देखाएकी थिइन् बारहकुने दहबाट पूर्वतिर उनको गाउँ गिठेपानी जाने बाटो ।
‘हुन त किन नहुनु नानु? तर यत्रो टोली छ, पाहुना बस्न सुहाउनन्न नि’ मैले बहाना गरेँ । उनले निकै बेर अनुरोध गरिरहिन् ।
‘कोपिला भाइ बसेपछि हामी पनि बस्छौं’ नीमबहादुर दाजुले ममाथि थोपरिदिनु भो निर्णय गर्ने जिम्मा ।
‘घुम्दै गरौं ढिलो भए त तिम्रो घरमा पाहुना बसी हाल्छौं नि नानु !’ मैले आश्वस्त पारेँ उनलाई ।
झ¥यौं फेरि उही मूल बाटो । ओर्लियौं उही ओरालो, उही भिरालो । दुगु¥यौं उही करालो, उही ढुङ्गेलो । हिड्यौं उही तेर्सो, उही नागबेली गोरेटो । भेटिए उनै मोड, उनै बोट, उनै बिरुवा । अघि उकालो चढ्दाको भन्दा अहिले ओरालो झर्दाको हिंडाईमा आएको छ केही तिब्रता । अघि भेटिएको गाउँ काटेपछि छाड्यौं बिहान उक्लिएको फराकिलो सडक । लाग्यौं दाहिने पारेर ओरालो । जङ्गलको बीचैबीच देखिए बाङगाटिङ्गा रेखाहरु । कुन बाटो हो? कुन होइन? ठम्याउन असजिलो हुन लाग्यो । पहिला हिडिसकेकी ऋतु पनि अलमलिन थालिन् । गाइड नै अलमलिए पछि हामी पनि प¥यौं बिलखबन्दमा । तेरपायाँतेरपायाँ गएका किरिङमिरिङ रेखाहरुलाई छोडेर सिधै ओरालो झरेका रेखाहरुलाई पछ्याउँदै गएमा ज्यामिरे पुगिएला भन्ने निर्णय गरे निमबहादुर दाजुका अनुभवी आँखाले । भिरालो पहाडबाट झरिरहेको पहिरोजस्तो खल्र्याम्खुलुम गर्दै तलैतल झर्न थाल्यौं । कतै टेकियो ढुङगामाथि । कतै समातियो हाँगा । कतै झुण्डिनु प¥यो लहरामा । कतै चिप्लियौं, कतै उछिट्टियौं । कतै ढुन्मुनिदै तल पुग्यौं ।
आँखा अगाडि झल्याकझुलुक देखिन थाले नीलो पानीका रुपौला दृश्यहरु ।
पुगियो जसोतसो ज्यामिरे दहको पल्लो ढिस्कोनिर । जङ्गलको अँध्यारो हराएर चारैतिर फैलियो उज्यालो । छ्याङ्ग खुलेजस्तो भयो आकाश । विजयको स्वर्णिम रङ् फैलियो हाम्रा आँखाभरि । सन्तुष्टीको तरङ्ग सल्बलायो मुटुभित्र ।
पश्चिमपट्टिको छेउछेउ भएर दहको पारिपट्टि पुग्यौं । मान्छेको भीड छ त्यहाँ निर, डुङ्गाहरु पनि छन् दहमा तैरिरहेका । प्रकाश र सागरले डुङ्गामाथि चढेर थरिथरि पोजमा फोटो खिचे । मलाई भने दहको भिरालो डिल नाँघेर डुङ्गासम्म पुग्ने जाँगर आएन । रमाइरहेँ छेवैनिर बसेर ज्यामिरे दहका तरङ्गहरु हेर्दै । यहाँको शीतल पवनले ओरालो झर्दा आएको पसिना सुकाएँ । भिजेका कपडा पनि सुके जिउमैं । ओरालो झर्दा दुखेका तिघ्राले पनि आराम गरे एकछिन ।
प्रकाश, सागर र ऋतु आफ्नै उन्मुक्त लयमा रमाइरहेका छन् । ज्यामिरे दहको सेपिलो परिवेश आगन्तुकहरुलाई उन्मुक्त बनाउन आतुर छ । मिटवा पनि चिरबिरे चरीझैं फुर्रफर्र नाचिरहनु भएको छ दहका छालहरुसंगै । मानौं धेरै दिनपछि मिलेको छ उहाँलाई कविताको नयाँ स्रोत ।
‘अब जाउँ’ निकै बेर रमाएपछि निमबहादुर दाजुले आदेश दिनु भो । हामी पनि जुर्मुरायौं गस्तीमा हिडेका सैनिकजस्तै । उक्लियौं फेरि ज्यामिरे दहको दक्षिणपट्टिको ढिस्को । सिढींदार उकालो चढेर पुग्यौं सानो मन्दिरको ढोकैमा । दिनभरी त्यत्रो उकालो—ओरालो गरेका हाम्रा खुट्टालाई चानचुन सय ओटा खुट्किला चढ्न पनि निकै सकस प¥यो । ढोग्यौं मन्दिरको ढोकामा । हिंडियो एकछिन सानो जङ्गल । बिहान बारहकुने दहसम्म टेम्पोमा आएका थियौं । अहिले पनि त्यहाँसम्म हिंडेर पुग्नु छ । एकान्तस्थलको खोजीमा रुमल्लिएका युवायुवतीका थुप्रै जोडिहरु भेटिए बाटो आसपासमा । कोही रुखको फेदमा, कोही ढिस्कोमाथि, कोही ढलेका मुढामाथि बसेर प्रेमालाप गरिरहेका छन् । कोही झ्याङ, बुट्टयानले छलिएर गर्दै छन् गफ । ‘लोभ लाग्यो प्रकाश?’ नीमबहादुर दाजुले जिस्क्याइहाल्नु भो । फिस्स हाँसे मात्रै उनी । लाजका रेखाहरु फैलिए अनुहारभरी । प्रेम कानन भन्न मन लाग्यो यो वनलाई । प्रेमले किन खोज्दो हो एकान्त? माया गरेको मान्छेको समीप हुन किन लगाउँदो हो मायाले? उठे अनेकौं प्रश्नहरु मनमा । बारहकुने दह पुगुन्जेल पनि यस प्रश्नले लखेटिइरह्यो मलाई । अँ हँ पाइएन उत्तर यसको । सम्झिन पुगें रोल्पाली कवि विष्णु विन्यासको ‘प्रेम’ शिर्षकको कविताका यी पङ्क्तिहरुः
आफ्नै आँखाबाट
खस्दै गरेको आँसुको उदास छाया छ
यो गुलाफको अनुहारमा ।
तिमीले छोडेर गएको
यो स्मृतिको देश
जहाँ केवल घाउहरुको सगरमाथा मात्र छ
सपनाहरु कहिल्यै उक्लिन नसकेको ।
बिथोलेर सम्झनाको गीत
जब थिच्छन् औंलाहरुले दुःखको पियानो
मन भ्वाइलिनका तारहरुमा रित्तिन्छ
र बग्छ छातीको मौनता चिरेर
यादको एक बिरानो खोल्सो ।।

प्रकाशित मितिः     ९ मंसिर २०७६, सोमबार ११:४४  |