बाँकेको नरैनापुरमा २७ जना नयाँ कोरोना संक्रमित थपिए, बढैयातालमा एक जनामा देखियो


बाँके १० जेठ : बाँकेको नरैनापुरमा फेरि २७ जना कोरोना संक्रमित थपिएका छन् । वडा नम्बर ४ स्थित मदरसा क्वारेन्टाइनका ६ जना, वडा नम्बर १ को नेपाल राष्ट्रिय प्रावि महतनिया क्वारेन्टाइनका ६ जना र वडा नम्बर ३ राष्ट्रिय प्रावि गेगलीका १५ जना गरी आज मात्रै २७ जनामा कोरोना देखिएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ घोराहीमा गरिएको परिक्षणमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नरैनापुरमा मात्रै संक्रमितको संख्या १ सय १४ पुगेको छ ।

बाँकेमा कुल संक्रमित १ सय ४२ पुगेका छन् । हालसम्म नरैनापुर, नेपालगञ्ज, खजुरा र राप्तीसोनारीमा संक्रमित देखिएका छन् । यी मध्ये नरैनापुर ५ का एकजनाको मृत्यु भएको छ भने नेपालगञ्जका २१ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

त्यस्तै आजै बर्दिया बढैयाताल ७ का १ जना, सुर्खेतमा ३ जना, बैतडीका ४ जना र झापाका १ जनामा कोरोना देखिएको छ ।

देशभर संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । तीन जनाको मृत्यु हुँदा ७० जना निको भएर घर फर्केका छन् ।

नरैनापुरमा अवरोधपछि स्वास्थ्यकर्मी भन्छन् -रोग नियन्त्रण गर्न खोज्दै छौ कि फैलाउन ?

प्रकाशित मितिः     १० जेष्ठ २०७७, शनिबार १६:३४  |