आत्मनिर्भर बाटाेमा खजुराका महिला


नेपालगन्ज -एक वर्ष अघिसम्म खजुरा ६ की बालकुमार विक आफ्नो घरायसी काम गर्थिन । गाउँमा हुने कार्यक्रममा जाँदा एउटा गृहणी महिलाको प्रतिनिधित्व गरेर जाने गर्थिन तर, अहिले भने उनको पहिचान फरक बनेको छ ।

गत वर्ष खजुरा गाउँपालिकाले महिलालाई उद्यमी बनाएर आयआर्जनमा जोड्दै आत्मनिर्भर बनाउन समूहमा आवद्ध गदाराउँदा उनको पहिचान मात्र बदलिएन आँट अठोस र भरोसा पनि बढेको छ । पहिला कसैसंग बोल्न पनि लाज मान्ने उनी अहिले निर्धक्क आफ्ना र समुदायका महिलाका कुरा राख्न त सक्छिन नै विभिन्न कार्यक्रममा मञ्चमा गएर भाषण पनि मज्जाले गर्छिन ।

शुक्रबार खजुरा ६ मा आयोजित कृषि तथा पशु उद्यमशीलता विकास परियोजना सहकारी सदस्यता अभिवृद्धि अभियानमा उनले समूहको तर्फबाट आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै भनिन् समूहमा बसेपछि बचत गर्ने बानी, अरुलाई सहयोग गर्ने नयाँ तथा सकारात्मक सोच र जाँगर बढेर आएको छ । खजुरा गाउँपालिकाद्वारा संचालित हेफरको प्राविधिक सहयोग र साझेदार इन्रुडेक रहेको आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम खजुराको ८ वडामा संचालनमा छन् । खजुरा ६ कै मुस्कान महिला समूहकी रेश्मा अन्सारी आफुहरु समूहमा लाग्दा बचतका लागि नियमित बैठक बस्ने, बाख्रा पालनलगायतका तालिममा प्राप्त गरेको, एक अर्कालाई सहयोग गर्ने बानीको विकास भएको र आत्मबलमा विकास भएको बताउँछिन् । खजुरा गाउँपालिकाका ८ वडामा यस्ता समूह निर्माण गरिएको छ । २ वटा मूल समूह, बहिनी समूह निर्माण गरी विभिन्न गतिविधि संचालनमा छ ।

यी समूहमा रहेका करीब ३ हजार महिलालाई सहकारीमा आवद्ध गर्ने उद्देश्यले अभियान थालिएको छ । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति तीन हजार महिलालाई उद्यमी बनाउने उद्देश्यले सहकारीमा जोड्न अभियानका रुपमा लागेको बताउँछन् । भोकालाई एक छाक भोजन होइन, जिउने जुक्ती सिकाऔँ भन्ने मूल नाराका साथ खजुरा कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अन्तरगत गत वर्ष ४० जना युवालाई आत्मनिर्भरका लागि ४० हजार टोकन मनि दिएर व्यवसाय संचालन गरिएकोमा यो संख्या बढाएर १२० पु¥याइने बताइएको छ ।

खजुरा गाउँपालिका वडा नं. ५ बसन्तुरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकले कृषि तथा पशु पालनका लागि दिइने ज्ञान सीप नै जिउन सिक्ने जुक्ति भएको भन्दै व्यवहारमा उतार्नु पर्ने बताइन । हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत महेश आचार्य व्यबहारमा प्रयोग नै सफलताको सत्रु भएको उल्लेख गर्दै स्थानीय सरकारले साना किसानलाई समूह हुँदै सहकारीमा संगठित गरि आत्मनिर्भर बनाउन पूँजी अभावलाई परिपूर्ति गर्न सहकारीको अवधारणामा गएको बताउँछन् ।

साझेदार संस्था इन्रुडेकका अध्यक्ष धर्मलाल रोकायले आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक परिवर्तनका लागि ज्ञान सीप दिएर जिउन सिकाउने उद्देश्य यो कार्यक्रम रहेको उल्लेख गरे । सृजनशील महिला बचत समूहका माया खड्का, गुलाव महिला बचत उपहार समूहका कमला यादवले समूहमा आवद्ध हुँदा आफुहरुमा आत्मबल बढेर उद्यमशीलतामा अग्रसर बनाएको बताए ।

प्रकाशित मितिः     ११ चैत्र २०७८, शुक्रबार १६:४२  |