बाँके ३१ साउन : प्रदेश नंं. ५ को प्रदेशस्तरीय नौवस्ता औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणका लागि भदौ महिनामा टेण्डर आह्वान गरिदैछ । घोषणा भएको पाँच वर्ष हुँदा समेत बाँकेको बैजनाथ गाउँपालिकामा रहेको उक्त औद्योगिक क्षेत्रको काम शुरु हुन सकेको थिएन ।
चालू आवमा रु ६० करोड लागतमा पूर्वाधार निर्माणको काम हुने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए । संघीय सरकारसंगै प्रदेश नं. ५ सरकारले समेत नौवस्ता औद्योगिक क्षेत्रलाई उच्च प्राथमिकता दिई बजेट विनियोजन गरेको छ ।
हिन्दूहरुको आस्थाको केन्द्र मानसरोवरको प्रतिक सहित बाँकेको बैजनाथ गाउँपालिका ६ मा बोटानिकल गार्डेनको सोमवार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले शिलान्यास गरिसकेका छन् ।
न्यू हरियाली सामुदायिक वन उपभोक्ता समुहको जङ्गल हाताभित्र निर्माण गरिने मानसरोवर पार्क प्रदेश सरकारको प्राथमिकताको योजना भएको मुख्यमन्त्री पोख्रेलले बताइसकेका छन् ।
मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले निर्माण गर्ने संरचनाको संरक्षणका लागि स्थानिय सरकार प्रतिवद्ध हुनुपर्ने बताए । स्थानियहरूको प्रत्यक्ष सहभागिता भएमात्र बोटानिकल गार्डेनको योजनाले पुर्णता पाउने मुख्यमन्त्रीको भनाई थियो ।
बैजनाथको गाभर भ्याली प्रमुख पर्यटकीय गन्तव्य बनेको छ । घुम्न लायक देशकै प्रमुख सय गन्तव्यको सूचीमा रहेको गाभरमा आन्तरिक र
बाह्य पर्यटक आउने गरेका छन् । जिल्लाको पर्यटन विकासमा गाभरको महत्वपूर्ण भूमिका रहेको छ । बाँके निकुन्ज परेका कारण पर्यटनको विकास महत्पूर्ण मानिएको छ ।
पश्चिम क्षेत्रकै एकमात्र एमबिबिएस पढाई हुने नेपालगन्ज मेडिकल कलेज चिसापानीमै रहेको छ । जहाँ एमबिबिएस अध्ययन हुँदै आएको छ ।
चिसापानीमै पश्चिमान्चल पोल्ट्री उद्योग लामो समयदेखि सन्चालनमा छ । यो अण्डा र चल्ला उत्पादनमा यो प्रमुख उद्योगका रुपमा रहेको छ । बानियाभारमा बिएससी एजीको पढाई हुने कलेज स्थापना भएको छ ।
बाँकेको बैजनाथ गाउँपालिमा सन्चालन भइसकेका र सन्चालन हुने यि योजनाहरुले त्यहाँका स्थानीयलाई खुसीको संचार गराएको छ । आर्थिक, शैक्षिक र पर्यटनका क्षेत्रमा गाभर उदाँउदो छ । गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल भन्छन्–‘बाँकेमा बैजानाथ उदाँउदो स्थानीय तहका रुपमा रहेको छ । सानोदेखि ठूलो योजना चालू अवस्थामा रहेका छन् ।’ नेपालगन्जदेखि नजिक र कर्णाली प्रदेशको छेउमै रहेका कारण बैजनाथको सम्भावना अझ बढेर गएको छ ।
बैजनाथ गाउँपालिका ( गाउँपालिकाको वेयभसाईडबाट सम्पादन सहित साभार)
बैजनाथ गाउँपालिका प्रदेश नंं. ५ को बाँके जिल्लामा अवस्थित रहेको छ। पूर्वमा कोहलपूर नगरपालिका, दक्षिणमा खजुरा गाउँपालिका र पश्चिममा मानखोला तथा उत्तरमा बर्दिया जिल्लाको बाँसगढी नगरपालिका अवस्थित रहेको छ | गाउँपालिकाको केन्द्र साविक बनकटवा गाविसको कार्यालय रहेको स्थानमा रहेको छ। साविकका चिसापानी, नौवस्ता, वनकटवा र टिटिहिरिया गाविस मिलेर गठन भएको हालको बैजनाथ गाउँपालिकाको नामाकरण ऐतिहासिक तथा राजनितिक पृष्ठभुमि सँग जोडिएको छ। साविकको वनकटवा वडा नं ३ र हालको वडा नं ७ पेडारीमा जन्मेका बैजनाथ थारुको नामबाट यस गाउँपालिकाको नामाकरण भएको हो।
पश्चिमी तराइ क्षेत्रमा पर्ने यस गाउँपालिकाको सम्पूर्ण भुभाग समथर रहेको छ। बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने केही भुभागमा चुरे क्षेत्रका विषेशता रहे पनि अधिकांश क्षेत्रहरु समथर रहेको छ। यस गाउँपालिकाको कुल जमिन मध्ये सबैभन्दा बढि क्षेत्रमा खेती गरिएको छ भने मध्यवर्ती क्षेत्र लगायतको बन जंगलले पनि उल्लेख्य क्षेत्र ओगटेको छ।
गाउँपालिकासंग सम्बन्धित तथ्यांकहरु:
क्षेत्रफल: १४१.६७ वर्ग कि.मि.
जम्मा वडा :८ वटा
जनसंख्या: महिला(२९०४६) , पुरुष(२५३७२)
परिवार संख्या: ११०६६
औषत परिवार संख्या: ४.९२
साक्षरता: पुरुष(७९.६६%) महिला (६३.७४%), जम्मा साक्षरता: ७१.२०%
वडा नं. | हाल कायम भएको वडा (ठेगाना ) | साविकका गा.बि.स/ न.पा |
१ | चिसापानी | चिसापानी (वडा नं. १-९) |
२ | डिगिया | नौबस्ता (वडा नं. १-३) |
३ | नौबस्ता | नौबस्ता (वडा नं. ४-७) |
४ | बानियाभार | नौबस्ता (वडा नं. ८,९) |
५ | बनकटवा | बनकटवा (वडा नं. ४,६,७,८) |
६ | सम्झना | बनकटवा (वडा नं. ५,९) |
७ | पेडारी | बनकटवा (वडा नं. १-३) |
८ | टिटिहिरिया | टिटिहिरिया (वडा नं. १-९) |
नौवस्ता औद्योगिक क्षेत्र सफल बनाउन जनप्रतिनिधिदेखि निजीक्षेत्र एकमत, बस्ती व्यवस्थापनमा जोड
पाँच वर्षपछि नौवस्ता औद्योगिक क्षेत्रको पूर्वाधारको काम शुरु हुँदै, भदौमा टेण्डर हुने निश्चित